ढुंगेलको कैद मिनाहा, सर्वसत्तावाद लाद्ने नियत : मानव अधिकार तथा शान्ति समाज
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
865
Shares
काठमाडौं । हत्याको अभियोगमा अदालतबाट दोषि ठहर भई काराबास सजाय भोगिरहेका पूर्व सभासद तथा तत्कालिन माओवादीका नेता बालकृष्ण ढुंगेलको बाँकी कैद सजाय मिनाहा गर्ने सरकारी निकायको निर्णयप्रति मानव अधिकार तथा शान्ति समाजले ध्यानाकर्षण जनाएको छ ।
शुक्रवार समाजका सभापति डा. गंगाधर अधिकारीद्वारा जारि विज्ञप्तिमा 'निर्णय कानुनी प्रावधानको दुरुपयोग गर्दै दोषिलाई उन्मुक्ति दिने र दण्डहीनतालाई संस्थागत गर्ने कार्य हो । यस्तो स्वेच्छाचारी प्रवृत्ति विधिको शासन र न्यायिक सर्वोच्चतामाथि चुनौति हो । आवरणमा, आचरणका आधारमा कैद मिनाहाको तर्क सरकारी निकायले अघि सारेता पनि यो निर्णय गम्भीर अपराधको आरोपमा अदालतमा चलिरहेका अन्य मुद्धा फिर्ता लिने, द्वन्दकालिन अपराधका घटनामा संलग्नहरुलाई उन्मुक्ति दिने र सर्वसत्तावाद लाद्ने नियतले प्रेरित भएको हुँदा यो निर्णयको शान्ति समाज निन्दा गर्दछ' उल्लख गरिएको छ ।
साथै अन्य घटनामा पनि अपारदर्शी तवरले कैद मिनाहाको निर्णयहरु भइरहेको भन्दै समाजले कैद मिनाहाको निर्णय गर्ने वर्तमान परिपाटीमाथि पुनरावलोकन गर्नुपर्ने जनाएको छ ।