कांग्रेसमाथि सत्ता पक्षको दबाब र विप्लवको प्रहार छ : सिटौला
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
931
Shares
काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस माथी सत्ता पक्षको दबाब र विप्लव पक्षको प्रहार रहेको बताएका छन । राजधानीमा शुक्रबार गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृती प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थिति र कांग्रेसको अबको गन्तव्य’ कार्यक्रममा बोल्दै सिटौलाले कांग्रेस माथी सत्ता पक्षको दबाब र विप्लव पक्षको प्रहार भैरहेको बताएका हुन ।
‘कांग्रेसमाथी सत्ता पक्षले दबाब दिने र विप्लव नामको माओवादीले प्रहार गर्ने काम गरिरहेका छन, सरकार चलाउनेले सत्ता बाहेक अरु देखेको छैन, विप्लवका कार्यकर्ताहरुको आक्रमण पनि कांग्रेसी कार्यकर्तामाथी भइरहेको छ,’ नेता सिटौलाले भने ।
उनले सत्ताको दबाब शिक्षा, कानुन, संचार, न्याय लगायतका क्षेत्रमा समेत बढेकाले देशको राजनीतिक अवस्था गलत बाटोमा जान सक्ने खतरा रहेको समेत बताए । सिटौलाले कांग्रेसलाई व्यवहार, आचरण, नीति र कार्यक्रम मार्फत पुरानै अवस्थामा पर्काउन सकिने अवस्था अझै कायम रहेको भन्दै निर्वाचनको पराजयबाट अत्तालिनु पर्ने कुनै कारण नभएको जनाए ।
विश्व समूदायले अझै पनि कांग्रेस माथी नै भरोसा गरिरहेको भन्दै उनले विश्व समूदायको चाहना नेपालमा कांग्रेस नै भएको दाबी गरे । देशलाई जोगाउने र संमृद्धिमा लाने ताकत कांग्रेसँग मात्रै रहेको भन्दै उनले जनताका लागि कांग्रेस भन्ने भावनाका साथ काम गर्न कांग्रेस प्रति आस्थावान सबै एकजुट भएर लाग्नु पर्नेमा समेत जोड दिए ।
कांग्रेस भित्रको गुटलाई समेत अन्त्य गर्न सकिने जनाउँदै सिटौलाले नेतृत्वको व्यवहार र संस्कारमा परिवर्तन भए कांग्रेसको गुट अन्त्य हुने दाबी समेत गरे । प्रतिष्ठानका अध्यक्ष रहेका नेता भीमसेनदास प्रधानले राजनीतिलाई ट्रयाकमा ल्याउन नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै फेरी पनि नागरिक समाज चनाखो हुनु पर्ने अवस्था आएको बताए ।
उनले प्रधानमन्त्री केपी ओलीलेले गणतन्त्रका लागि कहिल्यै संघर्ष नगरेको भन्दै नीति तथा कार्यक्रममा कही पनि संघीय गणतान्त्रिक नेपाल उल्लेख नहुनु गणतन्त्रमाथी प्रधानमन्त्रीकोे बेवास्ता भएको जनाए । कार्यक्रममा वरिष्ठ पत्रकार हरीहर विरहीले संक्रिण मानसिकताका कारण निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेको धारणा राखे ।
उनले कांग्रेस नेतृत्वले विगतमा सत्तालाई साधन मात्र मान्दा विकल्प नभएर कम्युनिष्टहरुलाई जनताले मत दिएको बताए ।
कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय, नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का, कानुन व्यवसायी अनुराधा कार्की, वरिष्ठ पत्रकार शुदर्शन आचार्य, दामेदर दवाडी सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुले कांग्रेस सुधारका पक्षमा राय दिएका छन ।