arrow

पोखरामा ड्रमहरु माथि टिनको पाताहरु राखेर स्टेज बनाएका थियौं: देव राना

धरानमा पनि ‘द इम्याजिनेसन’ भन्ने ब्याण्ड निकै चर्चित

logo
बिशेष संगत,
प्रकाशित २०७५ जेठ १२ शनिबार
Dev_Rana.jpg

संगीतमा चासो राख्ने मानिसहरुका लागि गायक, संगीतकार कोही गायक, संगीतकारसँग भेट्नु र उनीहरुबाट केही कुरा सिक्नु ठुलो कुरा हो । संगीतमा विशेष चासो राख्ने भएकोले म पनि यसको अपवाद भने होइन । 

केही हप्ताअघि पनि खाजा खान जाँदा अगाडिबाट चर्चित ड्रमर देव राना आफू भएतिरै आएको देखेँ । यो मेरा लागि उनीसँग नजिकिने निकै राम्रो अवसर थियो । उनी मैले चिनेका भाइहरु बसेको कुर्सीमा आएर बसे । त्यसपछि उनीसँग बोल्ने आँट आयो । मिजासिला स्वभावका रानाले मलाई निकै आत्मीय रुपमा स्वागत गरे र हाम्रो कुराकानी सुरु भयो ।

केही समयपछि कार्यव्यस्तताको कारण म उनीसँग पछि भेट्ने वाचाका साथ त्यहाँबाट उनको सम्पर्क नम्बर लिएर निस्किएँ । त्यसको केही दिनपछि एक क्याफेमा उनीसँग भेटी उनको जीवनी र नेपाली संगीतको विषयमा कुराकानी सुरु भयो ।  

ब्रिटिस आर्मी परिवारमा सन् १९५२ जन्मिएका देव रानाको जन्म मलेसियामा भएको थियो । बुवाको सेवा र सरुवाको कारण उनलाई सानै उमेरमा केही देशहरु घुम्ने अवसर मिल्यो र उनको अधिकांश बाल्यकालका साथै किशोर अवस्थाका अघिल्ला दिनहरु पनि उतै बितेका थिए । जसमा प्राय समय मलेसिया, सिंगापुर र हङकङमा बिते ।

उनी बाहिर हुँदा नै संगीतमा आकर्षित थिए र उनलाई एल्भिस प्रेसली, बिटल्स, जिम्मी हेन्ड्रिक्स, रोलिङ् स्टोन्सलगायतका चर्चित गीतहरू सुन्ने बुझ्ने पनि राम्रै अवसरहरू मिलेको थियो । बुवा ब्रिटिस आर्मीमा भएकोले उनलाई ब्रिटिस स्कुल जाने अवसर मिलेको थियो । स्कुल सकिएसँगै उनी नेपाल आए र सिनियर क्याम्ब्रिज अध्ययनका लागि सेन्ट जेभियर्समा भर्ना भए । 

भविष्यमा एक कुशल र प्रतिष्ठित ड्रमर बन्न लेखेको देव रानाको जेभियर्सको यात्रा त्यति लामो भएन र पढाइ छोडेर उनले आफूले नदेखेको भविष्यको यात्रा सुरु गरे । उनको त्यो यात्रा काठमाडौंको झोँछेबाट सुरु भएको थियो । निकै उत्साहका साथ झोँछे सम्झँदै उनले भने, “७०को दशकको सुरुवाती समयतिर झोँछेमा निकै नै रमझम हुने गर्थ्यो । 

नेपाली मात्र नभई हिप्पीहरु पनि राम्रै संख्यामा देखिने गर्थे । खुलेयाम गाँजा बिकिरहँदा किन्ने पनि निकै हुन्थे र केही सर्को तानी आआफ्ना संसारमा रमाउने गर्थे ।” ७०को दशककै अघितिर राना पनि त्यो रमझम हुने भीडमा छिरे तर गाँजाको आकर्षण खासै नभएका कारण उनलाई भने ऐलाले लोभ्यायो ।

यसै क्रममा झोँछेमै रहँदा उनले आफ्ना पुराना साथीभाइहरू भेट्नुका साथै नयाँ साथी पनि बनाउँदै गए । मलेसिया र सिँगापुरमा बनाएका साथीहरूसँग पनि उनको भेट बाक्लिँदै गयो साथै उनले संगीत पनि सँगसँगै अघि बढाइरहेका थिए । “सथीभाइ भेट हुँदा हामी गितार बजाएर रमाइलो गथ्र्यौँ । गितार सजिलै उपलब्ध थियो र बजाउन सजिलो पनि । म पनि गितार बजाएर गाउने गर्थेँ । त्यतिखेरसम्म पनि मलाई ड्रमको खासै ज्ञान थिएन । मलेसियामा केही साना ड्रमसेटहरु देखेको थिएँ तर बजाएको थिइँन र पूरा ड्रमसेट कस्तो हुन्छ भन्ने त थाहै थिएन” राना सम्झन्छन् । 

त्यतिबेला उनका सबै साथीहरु गितार बजाउँथे तर ड्रम बजाउने कोही थिएन । ब्याण्डको रुपमा बजाउन सुरु गरेपछि ड्रमरको कमी महसुस हुँदै गयो । त्यही समयमै बिटल्स, जिम्मी हेन्ड्रिक्सका गीतहरु मजाले गितारमा बजाएर गाउने मानसिंह गुरुङ्गलाई राना आफ्नो प्रेरणा मान्छन् । ब्याण्डमा ड्रमरको कमी महसुस गरिरहँदा गुरुङ्गले नै रानालाई निकै प्रेरणा दिइरहे र राम्रो ड्रमर बन्न सक्छौ भनी घचघचाइरहे । उनी आफ्नो समूहमा कान्छो भएका कारण सबै साथीहरुले उनलाई ड्रम बजाउन कर गरे र उनको ज्ञानी आचरणका कारण त्यसपछि ड्रम सिकेर बजाउन थाले । देव रानाबाट ड्रमर देव रानाको यात्रा लगभग त्यहीँबाट सुरु भयो । 

ड्रम बजाउने भएपछि ड्रमको पनि खाँचो भयो । त्यसबेला राम्रै संगीत बजाउने र ६९ को वुडस्टकमा गएका हिप्पीहरु नेपाल घुम्न आउँथे । तीमध्ये केहीसङ्ग वाद्यवादनका सामाग्री हुन्थे र कोहीसङ्ग ड्रमका केही अंश नि हुन्थे । कोहीसँग स्नेयर, कोहीसँग सिमबल आदि । त्यही केही बटुली र “हार्मोनियम माइला”को पसलबाट ड्रम किनेर ब्याण्डलाई ड्रमको व्यवस्था भयो । आफै मिहिनेत गरेर ड्रम सिकेर देव रानाले ब्याण्डमा आफ्नो ठाऊँ बनाए र परिचय पनि । 

“दाइहरु पर्पल हेज जस्ता गीतहरु बजाउँथे र मलाई ड्रम बजाउन भन्थे। एक त ड्रम सिक्दै गरेको अनि त्यसमाथि त्यस्तो गीतहरुमा बजाउनुपर्ने, डरले मेरा हात कामेर स्टिक छुटेको अझै याद छ मलाई” राना भन्छन्, “त्यतिखेर हरेक पूर्णिमामा स्वयम्भूमा ‘फुल मुन पार्टी’ को आयोजना हुन्थ्यो । केही काठमाडौंका संगीत प्रशंसक र हिप्पीहरुसँग हामी पनि सामेल हुन्थ्यौँ । २०-२२ जनाका वाद्यवादनका सामाग्रीहरु जम्मा गरेर स्टेज बन्थ्यो, खुब मजा आउँथ्यो । अङ्ग्रेजी गीतहरु कभर गर्नु निकै ठूलो कुरा थियो त्यसबेला । स्वयम्भूबाट विरलै केही भौतिक संरचना देखिन्थे, त्यतिखेरको काठमाडौंमा ।”

“मसँग मेरो व्यक्तिगत ड्रमसेट थिएन । म जेभियर्समा पढ्दा केही मिल्ने साथीहरू बनेका थिए । तीमध्ये एक थिए उदय ठाकुर। उदयका बुवा त्यसबेला इटालीको रोममा राजदूत भएर बसेका थिए र त्यहाँबाट फर्कँदा उदयले एउटा ड्रम लिएर फर्किएको रहेछ । पर्ल कम्पनीको सेतो ड्रमसेट थियो त्यो। उसको बुवा जापानको राजदुतमा नियुक्त भएपछि ऊ पनि बुवासँगै जानेभयो र उसले मलाई उपहार स्वरुप त्यो ड्रम दियो, जुन मेरो पहिलो ड्रम थियो, सेतो पर्ल ड्रम”, रानाले सुनाए । 

उनको साङ्गितिक यात्रा अघि बढ्दै जाँदा आफ्ना दाइ साथीहरु पेम्बा लेप्चा, कृष्ण गुरुङ, नर्देन ग्याल्पो र माइकल स्टिमबर्ग सङ्ग मिलेर ‘स्पिनिङ्ग विल्स’ नमको ब्याण्ड सिर्जना भयो र सो ब्याण्डले रत्नपार्कको पार्क रेस्टुरेन्टमा बजाउन थाल्यो । हाल रत्नपार्क भएको ठाऊँमा अवस्थित त्यो रेस्टुरेन्टमा नेपाली, हिप्पी र अन्य पर्यटक पनि राम्रै संख्यामा आउने गर्थे । उनीहरुले बजाउनु अघि सो रेस्टुरेन्टमा पनि भारतीय ब्याण्डले बजाउँथे ।

जेभियर्सबाट निस्किएपछि देव रानाले झोँछेको माउण्ट मकालु होटलमा रिसेप्सनिस्ट र कान्तिपथको येल्लो प्यागोडा होटलमा वारटेण्डरका काम गरेर आफ्नो गुजारा चलाएका थिए । पचास रुपैयाँ कोठा भाडा तिर्नुपर्ने त्यो समयमा दुई सय पचास तलब पाउने उनलाई बाँकी पैसा ऐला खान र रमाइलो गर्न पर्याप्त हुन्थ्यो । पार्क रेस्टुरेन्टमा बजाउन थालेपछि भने मासिक पाँच सय रुपैयाँको कमाइ हुन थालेको थियो । 

उनको स्वभावकै कारण देव रानालाई धेरैले मन पराउने गर्दथे र समयसँगै उनको चर्चा पनि बढ्न थालेको थियो । त्यस ताका धरानमा पनि ‘द इम्याजिनेसन’ भन्ने ब्याण्ड निकै चर्चित थियो । सुवर्ण लिम्बु, डम्बर राईलगायत आबद्ध भएको सो ब्याण्ड निकै चर्चामा थियो । उनीहरुकै निम्तोमा देव राना धरान गएको सम्झन्छन्, “त्यसबेला विराटनगर पुग्नलाई प्लेनको भाडा एक सय पचहत्तर रुपैयाँ थियो । त्यो कार्यक्रममा मैले ६९को वुडस्टकमा स्यान्टानाको ‘सोल स्याक्रिफाइस’मा रहेको ड्रमको सोलो बजाएको याद गर्छु ।” 

त्यो यात्रा लगत्तै उनी र उनका सहबाधक साथीहरु महेन्द्रपुलका गुरुङ्ग साहुजीहरुको निम्तोमा पोखरा पनि पुगेका थिए । एक्कासी हाँस्दै देव रानाले भने, “हामी त्यहाँ बजाउन जाँदा स्टेज नै थिएन, ड्रमहरु माथि टिनको पाताहरु राखेर स्टेज बनाएका थियौँ । हाम्रो प्रस्तुती पछि केही मान्छेहरुले कस्तो विना काममा उफ्रेर कराएको होला पनि भनेका थिए ।” 
रानाको विवाह १९७५ तिर भएको थियो । विवाहपछि राना कुनै कामले पुर्खौली घर वुटवल तिर थिए, जहाँ उनको भेट भारतबाट आएका केही सङ्गीतकारहरुसँग भयो । उनको गितार बजाएर गाउने शैली देखेर सबेजना मख्ख परे र उनलाई आफूसँगै भारत जान आग्रह गरे । देव रानाले नाइ भनेनन् र राम्रै मौका देखेर उनी पनि भारतको लखनऊ तिर लागे । 

एउटा टिभी कार्यक्रमका लागि भारत गएका उनले त्यहाँ पनि चाँडै साथीहरु बनाए र ती साथीहरुसँगै दुई वर्ष लखनऊ र पटनामै भुले । “एउटा साथी थियो, किशोरकुमारको गीतहरु निकै राम्रो गाउने” रानाले सम्झिए । 

उनी फर्केर फेरि काठमाडौं आउँदा यताको सेरोफेरोमा अलिक परिवर्तन भएको थियो । रमाइलो रमाइलोमा सुरु भएको सङ्गीतले नयाँ कोसेढुङ्गा पाएको थियो र भारतीय ब्याण्डहरुले बजाउने नेपाली पाँच तारे होटेलहरुमा नेपाली ब्याण्डहरुले बजाउन थालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ