arrow

सिटौलाले ओलीलाई भने -‘कांग्रेस सहयोगी होइन छिमेकी हो’

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
krishna-sitoula.jpg.jpeg

काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस सहयोगी नभइ छिमेकी दल हो भन्ने बुझ्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन ।  राजधानीमा शनिबार विहान पत्रकारहरुसँगको अन्तक्रियामा कांग्रेस पूर्व महामन्त्री समेत रहेका सिटौलाले प्रधानमन्त्री ओलीलाई कांग्रेसलाई सहयोगी दल नभइ छिमेकी हो भन्ने बुझ्न आग्रह गरेका हुन ।

सत्ताको उन्मादमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी कांग्रेसलाई सहयोगी दल भन्नु हास्यास्पद रहेको भन्दै सिटौलाले सरकारको कामको आधारमा छिमेकीको व्यवहार देखिने प्रष्ट पारे ।  ‘पंचायत देखि राजा रजौटासँग लडेर आएको कांग्रेसलाई प्रधानमन्त्रीले सत्तामा पुगेपछि सहयोगी दल देख्नु भएछ, कांग्रेस सहयोगी होइन, छिमेकी हो भनेर बुझ्दा हुन्छ, राम्रो काम गरे सहयोग गर्छ होइन भने कडा छिमेकीको व्यवहार गर्छ,’ सिटौलाले थपे ।

सरकारमा पुगेकाहरुको अहंकार बढ्दै गएको भन्दै सिटौलाले अहंकारले सरकारलाई पतनको बाटो तर्फ लैजाने समेत बुझ्न चेतावनी दिए । ‘सरकार सत्ताको उन्मादमा अहंकार तर्फ अघि बढेको देखिंदैछ, उन्माद र अहंकारले पतनको बाटो तर्फ धकेल्छ, पतनको बाटो जाने कि सम्हालिने हो विचार गर्नुस,’ सिटौलाले भने ।

एउटा कम्युनिष्टहरु सरकारमा र अर्को कम्युनिष्ट शक्ति बिद्रोहमा जानु समेत मुलुकका लागि अशुभ रहने भन्दै सिटौलाले विप्लव समूहको कारण मुलुक फेरी द्धन्द्धमा जाने खतरा रहेको औंल्याए ।

उनले विप्लपको समेत सहमतीबाट तत्कालिन माओवादीहरुसँग शान्ति प्रक्रियामा सहमती भएको भन्दै मुलुकलाई द्धन्द्धमा नलैजान विप्लवसँग आग्रह समेत गरे । ‘एउटा कम्युनिष्ट शक्ति सरकारमा र अर्को कम्युनिष्ट शक्ति विद्रोहमा भएको अवस्था छ, मुलुकका लागि यो अशुभ संकेत हो, यसमा सरकारमा रहेकाहरुले तत्कालै ध्यान दिनु पर्छ, म विप्लव जीसँग पनि आग्रह गर्छु, मुलुकलाई द्धन्द्धमा लैजानु जायज हुँदैन ।’ सिटौलाले भनेका छन ।

सिटौलाले कांग्रेसकै नेतृत्वमा मुलुकमा संघिय संरचना सहितको संविधान जारी भएको भन्दै आफ्नो दल संघिय संरचना अनुसार संचालन हुन नसक्नु भने दुःखद् भएको औंल्याए । पार्टी संघीय संरचनामा जानु पर्छ भन्ने बैचारिक मुद्धा आफ्नो रहेको भन्दै नेतृत्वको निर्णय र विचार भने सामन्ती प्रवृतीको रहेको बताए । पार्टी भित्र तल्लो स्तर देखि माथील्लो स्तरसम्म चाकडी प्रथा रहेको भन्दै सिटौलाले चाकडी प्रथाले नेतृत्वमा सामन्ती प्रवृति उब्जाएको दाबी गरे ।

आगामी महासमिति बैठकले पार्टीको ठोस कार्ययोजना बनाउने भन्दै नेता सिटौलाले मुलुकका लागि दूरगामी प्रभाव पार्ने विषयमा भने कांग्रेसले आगामी महासमिति बैठकबाट पुर्नविचार गर्नु पर्नेमा जोड दिए । सुरक्षा, कर्मचारी प्रसासन, अन्तराष्ट्रिय, विकास निर्माण जस्ता विषयमा पार्टीको नीति तथा सिद्धान्तमा नयाँ संरचना अनुसार पुर्नचिार गरिनु पर्ने सिटौलाले बताएका हुन ।

प्रजातन्त्र र लोकतन्त्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रेसले सत्ता र प्रतिपक्षलाई सही ठाउँमा राख्नु पर्नेमा समेत सिटौलाले जोड दिएका छन ।
      

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ