arrow

रुस विश्वकपमा नदेखिने यी ठूला टोलीहरु 

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
russia-2018.png

काठमाडौं । रुस विश्वकपमा केही टोलीहरुले लामो समयको अन्तरालपछि फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता खेल्ने मौका पाएका छन् भने केही यसअघिको विश्वकपमा निकै राम्रो प्रर्दशन गर्दै आएका र धेरैपटक विश्वकप खेलेका केही मुलुकहरु भने छनोट भएका छैनन् । 

यसपटकको विश्वकपमा छनोट नहुने ठुला टोलीहरु यस्ता छन् – 
१ नेदरल्याण्डस्
यसपटकको विश्वकपमा सबैभन्दा चकित पार्ने गरी बाहिरिएको टोली नेदरल्याण्डस् हो । सन् २०१० को फाइनलमा पुगेको र सन् २०१४ मा भएको विश्वकपमा तेस्रो स्थान हासिल गरेको टोली यो पटक भने छनोटबाटै बाहिरिएको हो । छनोट चरणमा नेदरल्याण्डस्ले प्लेअफमा पनि स्थान बनाउन नसकेको हो । जसले यो पटकको विश्वकप नेदरल्याण्डस्का लागि खल्लो रहने देखिएको छ । १० पटक विश्वकप खेलिसकेको नेदरल्याण्डस् यसपटक भने विश्वकपभन्दा बाहिर रहेको हो । 

२ इटाली 
यो विश्वकपमा छुटेको अर्को बलियो टोली इटाली हो । अहिलेसम्म १८ विश्वकपमा सहभागिता जनाइसकेको इटाली यसपटक भने विश्वकपबाट बाहिरिएको हो । विश्वकपमा छनोटको लागि प्ले अफ खेल्नुपर्ने अवस्थामा रहेको टोलीले उक्त प्ले अफमा नकारात्मक नतिजाको सामना गरेसँगै विश्वकपको ढोका बन्द भएको हो । 

३ चिली 
दुई वर्षअघि मात्र कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनालाई हराएर उपाधि जितेको टोली चिली विश्वकपमा छानिन भने असफल बनेको छ । यसअघिका नौ पटकको विश्वकपमा सहभागिता जनाइसकेको टोलीले २१ औं विश्वकपको टिकट भने काट्न नसकेको हो । दक्षिण अमेरिकाको छनोटमा पाँचौं स्थानमा रहने टोलीले मात्र मौका पाउने यो प्रतियोगितामा चिली छैठौं स्थानमा रहेको हो । विश्वकप छनोटको अन्तिम दुई खेलमा एक अंक पाएमा छनोट हुने अवस्थामा पनि चिली दुवै खेलमा पराजित भएको हो । 

४ बोस्निया एण्ड हर्जगोभिना
यसपटक राम्रो फर्ममा रहेर पनि विश्वकप खेल्न नपाउने टोली बोस्निया एण्ड हर्जगोभिना हो । अघिल्लो विश्वकपमा राम्रो छाप छाड्न सफल रहेको यो टोली यसपटक भने रुस विश्वकपको टिकट काट्न असफल भएको हो । छनोटको निकै नजिक पुगेर पनि बोस्निया एण्ड हर्जगोभिना बाहिरिएको हो । 

५ घाना 
लगातार पछिल्लो तीन विश्वकपमा सहभागिता जनाएको टोली घाना यो पटकको विश्वकपमा पुग्न भने असफल रहेको छ । सन् २०१० मा क्वार्टरफाइनलसम्म पुगेको टोलीले यसपटक भने विश्वकपको छनोट चरण पनि पार गर्न नसकेको हो । टोलीले छनोटको छ खेलमा केवल सात अंक मात्र बटुल्न सकेको कारण यो पटकको विश्वकपको ढोका यो टोलीका लागि बन्द भएको हो । 

६ ग्रीस
तीन पटक विश्वकपमा सहभागिता जनाइसकेको र अघिल्लो विश्वकपमा दोस्रो चरणसम्म पुग्न सफल रहेको टोली ग्रिस यसपटक भने विश्वकपमा छनोट हुन असफल भएको छ । युरोपियन छनोटमा पछाडि रहँदै प्ले अफ खेल्नुपर्ने बाध्यतामा रहेको टोलीले आफ्नो प्ले अफको खेलमा पनि क्रोएसियासँग गुमाउन पुगेसँगै ग्रिसको चौथोपटक विश्वकपमा छानिने लक्ष्य अधुरो रहेको हो । 

७ आयरल्याण्ड 
छनोटको निकै नजिक पुगेर पनि बाहिरिने टोलीमध्ये आयरल्याण्ड पनि एक हो । यसअघि तीनपटक विश्वकप खेलेर एकपटक क्वार्टरफाइनलसम्म पुगिसकेको टोलीले पछिल्लो तीन विश्वकपमा भने स्थान बनाउन सकेको थिएन र यो चौथो विश्वकप पनि आयरल्याण्डको लागि खल्लो हुने भएको हो । 

८ अमेरिका 
१० पटक विश्वकपमा सहभागिता जनाइसकेको अमेरिकाको लागि रुस विश्वकपको ढोका भने बन्द भएको छ । विश्वकपको तेस्रो स्थानसम्म पुगेको टोलीले यसपटक भने छनोट चरण पनि पार गर्न नसकेको हो । 

९ वेल्स
रियाल मड्रिडका स्टार गेरेथ बेलको टोली वेल्स पनि यसपटकको विश्वकपमा छनोट हुन असफल भएको छ । टोलीमा राम्रा केही खेलाडीहरु भए पनि यो टिम अहिलेसम्म सन् १९५८ बाहेक विश्वकपमा पुग्न सकेको छैन । १९५८ को पहिलो विश्वकपमा भने यो टोली क्वार्टरफाइनलमा पुगेको थियो । 

१० क्यामरुन 
सात पटक विश्वकपमा सहभागिता जनाइसकेको अफ्रिकी मुलुक यसपटकको विश्वकपमा पुग्न भने असफल भएको छ । एकपटक विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको टोलीको लागि यो विश्वकपको ढोका भने बन्द भएको हो । 

११ आइभरी कोस्ट
पछिल्लो तीन विश्वकपमा सहभागिता जनाइसकेको आइभरी कोस्ट पनि यो विश्वकपमा छानिन असफल भयो । यो विश्वपमा यो मुलुकलाई भाग्यले पनि केही साथ दिएन र रुस विश्वकपको ढोका बन्द भयो । 

१२ चेक गणतन्त्र 
चेक गणतन्त्र अहिलेसम्म नौ पटक विश्वकपमा पुगिसकेको टोली हो भने दुई पटकको उपविजेता टोली पनि हो । यद्यपि पछिल्लो समय भने उसको प्रदर्शन केही खस्किएको छ । यो टोलीले सन् २००६ यता विश्वकपको छनोटचरण पार गर्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ