arrow

अझै छ महिलालाई अवसर दिंदा पुरुषको भाग जान्छ भन्ने मानसिकता 

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
women-journalists.jpg

काठमाडौं । गणतन्त्र दिवसको सन्दर्भमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले सण्डे क्लबको आयोजना गरी “पत्रकारिता एवं राजनीति क्षेत्रमा महिलाको सहभागिता” विषयक एक छलफल कार्यक्रम आयोजना गर्यो । 

संस्थाको सचिवालयमा आयोजना गरेको कार्यक्रममा सांसद डा विन्दा पाण्डेले नेपाली राजनीतिक इतिहासमा महिलाको उपस्थिति र देशका ठूला राजनीतिक परिवर्तनमा उनीहरूले पुर्याएको योगदानको चर्चा गरिन् । 

डा पाण्डेले कुनै पनि राजनीतिक दलको नेतृत्व तहमा को पुग्यो भन्ने ठूलो कुरा नभई यो मुलुकका नेताहरू आफैले बनाएका कानुनको पालना आफै गर्ने की नगर्ने भन्ने महत्वपूर्ण विषय भएको बताइन् । 

सांसद पाण्डेले राजनीतिक परिवर्तन भए पनि पितृसत्तात्मक मानसिकता परिवर्तन नभएको कारण महिलालाई अवसर दिंदा पुरुषको भाग जान्छ भन्ने मानसिकता अझै रहेको उल्लेख गरिन् । 

नेकपा एमाले र नेकपा माओवादी मर्ज भएर बनेको नेपाल कम्युनिष्ट पार्टीमा महिला सहभागितामा देखिएको न्यूनता तथा महाधिवेशनपछि ३३ प्रतिशत महिला सहभागिता गराउने भनेर दल दर्ता गराउँने सम्बन्धमा उनले भनिन्– ‘कानुन विपरित सहि गराउने अधिकार निर्वाचन आयोगलाई छ ?’

जतिसुकै पार्टी मर्ज भए पनि पार्टी त नयाँ बनेको उल्लेख गर्दै उनले स्पष्ट पारिन्– विधान चाहिं नयाँ लैजाने, पार्टी दर्ता गर्न चाहिं पुरानै पार्टी हो भन्ने ठीक छैन, कि एमाले अनुसार कि माओवादीको विधानअनुसार गर्छु भन्नुपर्यो ।

महिला कार्यक्रममा सञ्चार तथा सूचना प्रविधी मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पहिलेको तुलनामा सञ्चार क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको बताए । 

उनले राष्ट्रिय आम सञ्चार नीति आइसकेकाले यसैको आधारमा मन्त्रालयले सञ्चार सम्बन्धि केही ऐनहरू परिवर्तन गर्न लागेको र यसलाई समावेशी र सबैको हित हुने हिसाबको बनाउनमा पहल गर्ने जानकारी गराए । साथै उनले पत्रकार महिलाका समस्या सम्बोधन गर्न मन्त्रालयले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय समाचार समितिकी पूर्व महाप्रवन्धक निर्मला आचार्यले पत्रकारिता क्षेत्रमा वास्तविक रुपमा काम गर्दै आएका पत्रकार महिलाले विभिन्न तालिम, भ्रमणजस्ता दक्षता अभिवृद्धि गर्ने कार्यक्रममा अवसर नपाउँने समस्या रहेको उल्लेख गरिन् । 

पत्रकारिता क्षेत्रमा रहेको सिण्डिकेटले काम गर्दै आएका पत्रकार महिलाले अवसर नपाउने समस्या रहेको उल्लेख गर्दै उनले पत्रकार महिलाको इतिहास र विकासक्रमको जानकारी गराउँदै पहिलो पत्रकार महिला साधना प्रधानको नाममा एक पुरस्कार स्थापना गर्न सरकारलाई आग्रह गरिन् ।

कार्यक्रमको अध्यक्षता गर्दै संस्थाकी अध्यक्ष अमिका राजथलाले पत्रकार महिलाहरुको पलायन दरलाई रोक्न उनीहरुको क्षमता अभिवृद्धिका लागि, सरकारी तवरबाट विशेष पहल गरिनु पर्ने, निर्णायक तहमा पत्रकार महिललाई स्थान दिनु पर्ने, संवैधानिक रुपमा नै ३३ प्रतिशत महिला सहभागिता आवश्यक भए पनि ठाउँ खाली राख्ने तर महिला पत्रकारलाई अवसर नदिने प्रबृत्तिमा सुधार गर्नु पर्ने बताइन् ।

साथै, क्रियाशील पत्रकार महिलाका विभिन्न जिल्ला शाखामा सण्डे क्लब संचालन गरिंदै आएको जानकारी उनले गराइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ