बालकृष्ण ढुंगेलको रिहाईबारे ओलीले मुख खोले, ‘सरकारले गरेको होइन, जेलरले’
प्रकाशित २०७५ जेठ १६ बुधबार
367
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र दिवसका दिन जेल मुक्त भएका बालकृष्ण ढुंगेलको रिहाईबारे बोलेका छन् । नवगठित नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा ओलीले बालकृष्ण ढुंगेलको रिहाईबारे मुख खोलेका हुन् ।
संसदीय दलमा प्रधानमन्त्री ओलीले द्वन्द्वकालीन घटनामा जेलजीवन बिताइरहेका बालकृष्ण ढुंगेललाई कानुनसम्मत् रिहा गरिएको बताए । ओलीले भनेका छन्, ‘बालकृष्ण ढुंगेललाई आजसम्म भेटेको छैन । तर, कानुनअनुसार नै रिहा गर्न सिफारिस गरेका हौं ।’
सिफारिस सरकारले गर्ने र गरेको विषय होइन । यसको आफ्नै कार्यविधि छ । आफ्नै प्रक्रिया छ, उनले भने, ‘कारागारबाट जेलरले गरेको सिफारिस अनुसार रिहाईको प्रक्रिया अगाडि बढाइएको हो ।’
कारागारले गरेको सिफारिस अनुमोदनका लागि भने मन्त्रिपरिषदले नै पठाएको थियो । मंगलबार गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्या भण्डारीले सरकारले सिफारिस गरेका ८ सय १६ जनाको कैद मिनाहा गरेकी थिइन् । त्यही लटमा माओवादी पूर्व सभासद् ढुंगेल पनि रिहा भए । रिहाईपछि सर्वोच्च अदालतले समेत ढुंगेलको रिहाई रोक्न भनि परेको रिटमा अन्तरिम आदेश दिनु नपर्ने भनि फैसला गरिदियो ।