arrow

कम्युनिष्ट सरकार तानाशाहीतर्फ अघी बढ्दै: पौडेल

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
ramchandra-daju-news-aa.jpeg

पोखरा  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस एक ढिक्का बन्नु आवश्यक भएको बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय कार्यसमितिद्वारा आज यहाँ आयोजित संघको ४ नं प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले लोकतन्त्र बलियो हुन कांग्रेस बलियो बन्नु आवश्यक भएको बताए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले वर्तमान सरकार तानाशाहतर्फ अगाडि बढ्ने संकेत देखिएको बताउँदै उनले बजेट स्थानीयता र संघीयतालाई अलमल पार्ने तवरबाट आएको विचार व्यक्त गरे।  कम्युनिष्टहरू पहिलेदेखि नै संसदीय प्रणालीको विरोधी भएको बताउँदै उनले सरकारमा दुई तिहाइ मत जुटाउनुले उनीहरू संविधान संशोधन गरी तानाशाहतर्फ अगाडि बढ्न सक्ने संकेत देखाएको धारणा राखे ।

पार्टीलाई एकलौटी रुपमा अगाडि बढाउँदा पार्टीभित्रका इमान्दार कार्यकर्ताले न्याय नपाएको बताउँदै उनले पार्टीमा न्याय, पारदर्शिता, निष्पक्षता र मूल्याङ्कन हुन जरुरी भएकामा जोड दिए ।

नेपाली कांग्रेसका महामन्त्री डा शंशाङ्क कोइरालाले नेपाली कांग्रेसमा देखिएको गुटबन्दीका कारण पार्टी नाजुक अवस्थामा पुगेको धारणा राखे । “लोकतन्त्रलाई यहाँसम्म ल्याउन कांग्रेसको योगदान अत्यन्तै ठूलो छ,” उनले भने, “संविधान कार्यान्वयन अहिलेको चुनौतीको विषय बनेको छ, संविधान कार्यान्वयन गर्न धेरै अप्ठेरा छन्, संविधान कार्यान्वयन गर्दै लोकतन्त्रको रक्षा गर्न कांग्रेस एक ढिक्का हुन जरुरी छ ।”

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय समितिका अध्यक्ष जगत तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका सेवा निवृत्त एक दर्जन प्राध्यापकलाई सम्मान गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ