३३ केजी सुन प्रकरण : एसएसपी खत्रीले गरे आत्मसमर्पण
प्रकाशित २०७५ जेठ १७ बिहिबार
832
Shares
काठमाडौं । साढे ३३ केजी सुन तस्करी प्रकरणमा संलग्न नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्रीले आत्मसर्मपण गरेका छन् । खत्रीले बिहिवार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन् ।
फरार खत्रीलाई पक्राउ गर्न रेडकर्नर नोटिसमार्फत खोजी भइरहेको थियो । ३३ किलो सुनकाण्डका नाइके ‘गोरे’ अर्थात् चूडामणि उप्रेतीले प्रहरीलाई दिएको बयानमा एसएसपी खत्रीलाई नियन्त्रणमा लिएमा सुनको सबै कनेक्सन खुल्ने बताएका थिए । बयानसँगै प्रहरीले खत्रीको खोजी तिब्र बनाएको थियो ।
२०७४ फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले ल्याएको भनिएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै बाहिरिएको थियो । दुबईबाट त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको उक्त सुन लुटिएपछि गोरेको समूहको यातनाका कारण सुनका भरिया सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो ।
छानविन समितिद्वारा सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएको थियो । सो अभियोगमा पक्राउमा परेका ३० जनामध्येबाट २८ जनालाई जेठ ८ गते कारागार चलान गरिएको छ ।
एकजनालाई साधारण तारेखमा र एकजनासँग धरौटी माग गरिएको थियो । गोरे कारागार चलान भएपछि सो घटनाको अभियोगमा पुर्पक्षमा थुनामा बस्नेको सङ्ख्या अब २९ पुगेको छ ।
जिल्ला अदालत मोरङमा वैशाख १९ गते उनीहरुमाथि सन् २०१५ देखि हालसम्म रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्य बरावरको ३७ लाख ९९ हजार ५५९ ग्राम अर्थात करिब ३८ क्विन्टल सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरिएको छ ।