arrow

विश्व सूर्तीजन्य पदार्थ विरुद्धको दिवस : सूर्तीजन्य पदार्थको सेवनले प्रत्येक १ सेकेन्डमा १० जनाको मृत्यु

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
smoking.JPG

काठमाडौं। सूर्तीजन्य पदार्थले मुटुलाई क्षति पुरयाउछ, स्वास्थ्य रोजौं ’ भन्ने नाराका साथ नेपालमा पनि  सूर्तीजन्य पदार्थ विरुद्धको दिवस आज मनाइदैछ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको यसपाली सुर्तिजन्य पर्दाथले मुटुजन्य रोग बढिरहेकाले यसबाट बच्नका लागि र स्वास्थ्यका लागि पनि सुर्तिजन्य पर्दाथ त्यागौ भन्ने नारा तय गरिएको हो ।सूर्तीजन्य पदार्थमा कार्बन मोनोअक्साइड, निकोटिन, टार, बेञ्जोपाइरिन, एमोनिया जस्ता ४ हजारभन्दा बढी रासायनिक तत्व हुन्छन्।

सूर्तीजन्य पदार्थमा मिसाइने निकोटिन नामक तत्व एकपटक सेवन गरेपछि फेरी तलतल लाग्ने भएर लत नै बसाउँछ ।
४० जति क्यान्सर बेञ्जोपाइरिन लगायतका रसायनले गर्दा उत्पन्न गर्दछ ।  सूर्तीजन्य पदार्थको सेवनबाट विभिन्न स्वास्थ्य समस्या देखिने तथ्य सन् १९५० मा  पत्ता लागेको हो।  १९८८ मा  गरिएको अनुसन्धानको प्रतिवेदनले अमेरिका जस्ता विकसित मुलुकमा सूर्तीजन्य पदार्थको सेवनबाट जटिल स्वस्थ्य समस्या उत्पन्न गरेको प्रमाणित गरेको थियो । बिकसित मुलुकका करिब तीन चौथाइ नागरिकले कुनै न कुनै रुपमा यस्ता पदार्थ सेवन गर्ने, एक चौथाइ जतिमा लत नै बस्ने र एक चौथाइ  दुव्र्यसनमै पर्ने गरेको पाइएको छ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वभरका १० करोड भन्दा बढी व्यक्तिले सूर्तीजन्य पदार्थको सेवन गर्छन् भने सन् २०३० सम्ममा १ करोडभन्दा बढी सूर्ती सेवनकर्ताको सूर्ती सेवनकै कारण मृत्यु हुने अनुमान गरिएको छ ।
संगठनका अनुसार बिश्वमै  सुर्तिजन्य पर्दाथको सेवनले प्रत्येक १ सेकेन्डमा १० जनाको मृत्यु हुने गरेको जनाएको छ ।
त्यसमध्ये सूर्तीजन्य पदार्थको सेवन गर्ने मानिसको नजिक रहेकै कारणले मृत्यु हुनेको संख्या ६ लाख रहेको छ । पछिल्लो अध्ययन अनुसार नजिक बस्नेहरुमा पनि मुटु ,फोक्सो क्यान्सर तथा श्वासप्रश्वासजन्य रोगको जोखिममा अत्यधिक रहेको देखाएको छ ।

यसरी सेवन गर्नेमध्ये ८५ प्रतिशत मानिस अल्पविकसित मुलुकका छन्। सूर्तीजन्य पदार्थ सेवनकै कारण अमेरिकाली मुलुकमा बर्से्नि ५० हजार व्यक्तिको मृत्यु हुने गरेको छ । नेपालका २५ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ। नेपालका १५ वर्ष उमेर र त्यसमाथिका ३७ प्रतिशत युवाले सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइएको छ ।नेपालमा आधाभन्दा बढी पुरुष सूर्तीजन्य पदार्थको अम्मलमा रहेको तथ्याङ्क छ । नेपालमा ५२ प्रतिशत पुरुष र १३ प्रतिशत महिला सूर्तीजन्य पदार्थको अम्मल रहेको पाइन्छ । र विश्वभरिमा नेपालका महिलाले बढी सूर्तीजन्य पदार्थको सेवन गरेको पाइएको छ ।

सूर्तीजन्य पदार्थको खुला बिक्री–वितरण रोक्न सरकारले २०६८ सालमै बलियो कानुन बनाए पनि कानुन मिचेरै त्यस्तो कार्य भइरहेको छ। शिक्षित र चेतनशील व्यक्तिहरु समेत सूर्तीजन्य पदार्थ सेवन गरिरहेका छन्।  स्वास्थ्य सेवा विभागको आर्थिक वर्षको २०७२ र ०७३ को प्रतिवेदनमा नेपालमा सरुवा रोगभन्दा नसर्ने रोगहरु अत्यधिक रहेको र यी रोग निम्त्याउन सूर्तीजन्य पदार्थको प्रमुख भूमिका रहेको उल्लेख छ ।

नसर्ने रोगमा पनि सुर्तिजन्य पर्दाथको सेवनले  मुटु रोग , क्यान्सर र मस्तिष्कघात रोगीको सख्या बढाइरहेको छ । सूर्तीजन्य पदार्थले मुख, घाँटी, श्वास–प्रश्वास सम्बन्धी रोग निमोनिया, ब्रोङ्काइटिस, दम, मुटु, मिर्गौला, नसा सम्बन्धी रोग  निम्त्याउने गरेको छ । सूर्तीजन्य पदार्थमा हुने निकोटिनले महिलाको पाठेघरका साथै अरु अंगमा प्रत्यक्षरुपमा प्रतिकूल असर गर्छ भने गर्भमा रहेको भ्रुणको शारीरिक तथा मानसिक विकासमा अवरोध पैदा गर्ने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन । यसले कम तौलको शिशु जन्मने र जन्मेपछि पनि  वृद्धिविकासमा अवरोध आउछ ।

यस्तै, सूर्तीजन्य पदार्थ सेवन गर्ने परिवारको १० प्रतिशतभन्दा बढी खर्च सूर्ती सेवनका कारणले लाग्ने रोगको उपचारका लागि हुने गर्छ। यसले विश्वको आर्थिक अवस्थामा समेत नकारात्मक असर पारेको छ । सूर्तीजन्य पदार्थ सेवनका कारणले उत्पन्न हुने स्वास्थ्य समस्याबाट बचाउन विश्व स्वास्थ्य संगठनको २०३० सम्ममा सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने रणनीतिको नेपाल सदस्य राष्ट्र समेत हो ।  यसै रणनीतिको कार्यान्वयनस्वरुप सरकारले २०६८ बैसाखमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा नियमावली लागू गरेको हो।

सूर्तीजन्य पदार्थको बिक्री–वितरण नियन्त्रणका लागि बलियो कानुन निर्माण गरेकोमा  अन्तर्रा्ष्ट्रिय स्तरमा नेपाल पुरस्कृत भएको छ। कडा कानुन अन्तर्गत सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पेटी वा पार्सलमा ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देशयुक्त चित्र अंकित गर्नुपर्ने, १८ वर्षभन्दा कम उमेरका तथा गर्भवतीले खरिद गर्न नपाउने, २० खिल्लीभन्दा कमको प्याकेट बनाउन नपाउने र १ खिल्ली मात्र बिक्री गर्न नपाउने, जनचेतना अभिवृद्धि गर्न र नियमन गर्न सूर्तीजन्य पदार्थको सेवनका कारणले फोक्सो, मुख र मस्तिष्कको क्यान्सरबाट मृत्यु भएका व्यक्तिको तस्बिर ल्याई सूर्तीबाट निर्मित प्याकेट, बट्टा र कार्टुनमा छाप्नुपर्ने निर्देशन दिइएको छ ।

नेपालमा सार्वजनिक स्थानमा कुनै पनि प्रकारका सूर्तीजन्य पदार्थ बिक्री, सेवन गर्न र सूर्तीजन्य पदार्थ उपहार दिन नपाउने कानुन जारी गरिएको छ ।  यसपालीको बजेटले सुतिजन्य पर्दाथमा अन्तशूल्क बढाएको छ । चुरोटको उत्पादन तथा पैठारीमा प्रतिखिल्ली २५ पेसाका दरले स्वास्थ्य जोखिम कर उठाउने उल्लेख गरिएको छ । सूर्तीजन्य पदार्थ सेवनकर्तालाई छुटाउने उपायमध्ये करवृद्धि  एक हो । तर, दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकमध्ये नेपालमा सूर्तीजन्य पदार्थमा जम्मा २८ प्रतिशत मात्र कर लगाइएको छ । सूर्तीजन्य पदार्थमा कर २८ प्रतिशतबाट बढाएर कम्तीमा ७० प्रतिशत गराउनुपर्ने सरोकारवालाको दबाब भएपनि उल्लेख्य रुपमा  वृद्धि हुन सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ