पाल्पा । पाल्पाको तानसेनबाट रामपुर जादै गरेको लु २ ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका ४ हुमिनमा दुर्घटना भएको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका अध्ययन भ्रमण टोली लिएर रामपुर जादै गरेको बस शुक्रबार बिहान ९:१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रातभर आएको अविरल वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भीक अनुमान रहेको प्रहरीले जानएको छ ।
बस सडकबाट १ सय ५० मिटर तल खसेको हो । दुर्घटनामा घाइते हुनेहरुको संख्या १२ जना पुगेको छ । प्रहरी मृतकका शव बटुलिरहेकाे छ । घाइते हुनेहरुमा तानपा–२ को प्रफुल्ल शर्मा, तानपा ६ का विमल रज्जन (सहचालक), तानपा ३ का उत्तमकुमार बज्राचार्य, तानपा २ का ओम मलेगो, तानपा ६ की मिना खाम्चा, तानपा ६ सचिन बज्राचार्य तानपा ६ कै अर्जुन थापा (चालक) र तानपा ६ कै दुर्गा बहादुर सारु,तानसेन कै पुनमाया महर्जन, शान्त बज्राचार्य, प्रविन बज्राचार्य र कमला कार्की रहेका छन् ।
प्रविन बज्राचार्य र कमला कार्की लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने अन्य १० जनाको मिसन हस्पिटलमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुको संख्या भने एकिन हुन नसकेको सूचना अधिकृत विनोद घिमिरेले बताए । विद्युत अवरोधको कारण फोन सम्पर्क हुन नसक्दा घाइते र मृत्युको सम्पूर्ण विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत घिमिरेले बताए । घाइतेहरुलाई पाल्पा मिसन हस्पिटलमा उपचारका लागि ल्याइदै गरिएको प्रहरीले जानएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।