arrow

शोकमा डुब्यो पाल्पा : बस दुर्घटनामा १३ को मृत्यु, १० जना घाइते (अपडेट)

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
palpa-accident.jpg

पाल्पा । पाल्पाको तानसेनबाट रामपुर जादै गरेको लु २ ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका ४ हुमिनमा दुर्घटना भएको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका अध्ययन भ्रमण टोली लिएर रामपुर जादै गरेको बस शुक्रबार बिहान ९:१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रातभर आएको अविरल वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भीक अनुमान रहेको प्रहरीले जानएको छ । बस सडकबाट १ सय ५० मिटर तल खसेको हो ।

 दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने  १० जना घाइते भएका छन् । मृत्यु हुनेमा तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाला प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन ४ का कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल, तानसेन ३ का बसन्ती खाण, तानसेन ६ का गीता बुढाथोकी, तानसेन ३ कमला कार्की रहेका छन । एक जना महिलाको नाम खुल्न सकेको छैन । कमला कार्की लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्य मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते हुनेहरुमा तानपा–२ को प्रफुल्ल शर्मा, तानपा ६ का विमल रज्जन (सहचालक), तानपा ३ का उत्तमकुमार बज्राचार्य, तानपा २ का ओम मलेगो, मुना सारु, तानपा ६ की मिना खाम्चा, तानपा ६ कै अर्जुन थापा (चालक) र तानसेन कै पुनमाया महर्जन, शान्त बज्राचार्य, प्रविन बज्राचार्य रहेका छन् । प्रविन बज्राचार्य लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने अन्य ८ जनाको मिसन हस्पिटलमा उपचार भइरहेको छ । विद्युत अवरोधको कारण फोन सम्पर्क हुन नसक्दा घाइते र मृत्युको सम्पूर्ण विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोद घिमिरेले बताए । दुर्घटनाको विवरण आउन अझै बाँकी रहेको प्रहरीले जानकारी दिएको छ  । यतिखेर पाल्पा जिल्ला नै शोकमा डुबेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ