arrow

गगनले भने- 'नेपालका कम्युनिष्टहरुसँग भएको मध्ये उत्कृष्ट व्यक्ति अर्थमन्त्री हुनुहुन्छ'

भरतमोहनले भने अर्थमन्त्रीलाई गफाडी

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
gagans2.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले अर्थमन्त्री युवराज खतिवडा बजेटमा ‘जस्ट’ पास भएको बताएका छन् । संसदमा बजेटमाथिको छलफलको क्रममा थापाले भने ‘वाम गठबन्धनको घोषणा पत्र हावादारी थियो, कम्युनिष्ट सरकारले ल्याएको नीति बरालिएको थियो । त्यसैले यो बजेट पनि कतै उडन्ते कार्यक्रमको पोकाको रुपमा आउने त होइन भन्ने डर र आशंका पालिरहेकाहरुलाई यो बजेट घोषणा भन्दा विल्कुल फरक, नीति तथा कार्यक्रमभन्दा सम्हालिएको र सुधारको संकेत गरेको कुराले सन्तोष मानेको पाइएको छ’ ।

‘नेपाली कांग्रेसले थैली मात्र कस्छ भनेर हिजो आरोपित गरे पनि अहिले थैली हेरेर बजेट विनियोजन गरिएको छ। क्षेत्रगत बजेट विनियोजन गर्दै गर्दा दिगो विकासको लक्ष्य पृष्ठभूमिमा राखिएको छ त्यसकारण सन्तुलित छ। बजेटमा सावधानीपूर्वक कार्यक्रमहरू छ भनेर अर्थशास्त्रीले हेरेका रहेछन्’, थापाले भने।

बजेट जस्ट पास मात्र

थापाले ‘बोर्ड फर्स्ट’को अपेक्षा भैरहेका बेला ‘जस्ट पास’ले नैराश्यता बढाएको बताए। ‘बच्चा अनुतिर्ण हुन्छ भन्ने लागेकोलाई बच्चा पास भयो भने खुसी लाग्छ’, थापाले भने, ‘तर मेरो बच्चा ‘बोर्ड फर्स्ट’ हुन्छ भन्ने लागिरहेको बेला पास मात्र भयो भने खुसी लाग्दैन। हामीलाई यो बच्चाले ‘बोर्ड फर्स्ट’ नै ल्याउँछ भन्ने लागिरहेको अवस्थामा ‘जस्ट पास’ मात्र भएको अवस्थाले मेरो र थुप्रै साथीहरूमा नैराश्यताको मनोदशा छ।’

तर बजेटमा भने चार ‘स’ नदेखेको उनले बताए। पहिलो, बजेटमा स्पष्टताको अभाव रहेको थापाको भनाइ थियो। ‘संविधान कार्यान्वयन संघीयता कार्यान्वयनसँग जोडिएको छ’, थापाले भने, ‘संघीयता कार्यान्वयनसँग  बजेटसँग अपेक्षा थियो,  विस्तृत दृष्टिकोणको, मार्ग दर्शनको, रणनीतिको । यो सन्दर्भमा यो बजेट सम्पूर्ण रूपमा चुकेको छ। यो बजेटले संघीय वित्तीय व्यवस्थापनलाई सम्पूर्ण रूपमा आत्मसात नै गर्न सकेको छैन। संघको काम प्रदेश र स्थानीय सरकारलाई हिजोको गाविस र नगरजस्तो अनुदान बाँड्ने होइन। यसले वित्तीय स्वायत्ततालाई उत्प्रेरित गर्ने हो।यसलाई जोड दिनुपर्छ भन्नेमा संघको बजेट तयार गर्नेहरू पूर्ण रूपमा चुक्नु भएको छ’।

दोश्रो, समृद्धिको प्रयत्न विषयमा समेत स्पष्टता नरहेको उनले बताए। उनले भने '२०१५ सालको विपीको बजेटले अर्थतन्त्र आधुनिकीकरण गर्ने मार्ग दर्शन गरेको थियो भने  २०४८ सालमा जिपि कोइरालाको सरकारको बजेटले अर्थतन्त्रको विस्तार गरेको थियो। साथै २०४८ को बजेटले तत्कालीक समस्याहरूलाई सम्बोधन गरेको थियो। यो बजेट मार्ग दर्शन सन्दर्भमा चुकेको छ। तत्कालीक अवस्थामा पनि चुकेको छ । अर्थमन्त्रीले सबैभन्दा जोड दिनु भएको विषय पूर्वाधार छ। पूर्वाधारमा जति स्रोत र साधान छरिएको छ, जसरी बाँडिएको छ। त्यसले परिणाममा कुनै पूर्वाधार दिन सक्दैन।’

उनले दक्षिण कोरियाको उदाहरण दिदै भने ' १९६२ सालमा दक्षिण कोरियाका राष्ट्पतिले सोल देखि भुसानसम्म फास्ट एक्सप्रेस वे बनाउने संकल्प गर्नुभयो । न अमेरिकाले सहयोग गर्‍यो, न कुनै दाताले सहयोग गरे । तर आफ्नो बजेटको १० भागको एक भाग सिङगो एउटा हाइवेमा लगाएर ९० लाख कामदारलाई काम गराएर, साढे २ बर्षमा त्यो हाइवे तयार गरियो । जसले हाइवे तयार गरेको ७ बर्षमा कोरियाको अर्थतन्त्रलाई अर्को ठाँउमा लिएर गयो । हामिले यस्तो स्पस्टताको केहि अपेक्षा गरेका थियौ '।  

विदेशी लगानी गर्ने मुख्य देशहरु अमेरिका, इजरायल, आयरल्याण्ड, नेदरल्याण्डले लगानीका लागि केहि मानक हेर्ने बताए  । उनले भने 'विदेशीले लगानी गर्न  विश्व बैकको रिपोर्ट, इन्डेक्स अफ इकोनोमिक्स फ्रिडम, करप्सन परसेप्सन इन्डेकश हेर्छ । यी तथ्याङकमा हामी कहाँ उभिएका छौ कुन चाहि मानिस यहाँ लगानी गर्न तयार छ '।                             
उनले पूर्वाधारको हिसाबले बजेट कमजोर रहेको बताए। उनले लगानीको वातावरणका सन्दर्भमा समेत अस्पष्टता रहेको बताए। थापाले अर्थमन्त्री साहस गर्नबाट चुकेको आरोप लगाए। ‘अर्थमन्त्री साहस गर्न सक्नु भएन। निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको नाम फेरेर आएको छ। संसदीय व्यवस्था र संघीयताको मर्म विपरीत छ । सांसदसँग साहस गर्न सक्नु भएन। मन्त्रालयले दिएको कुनै पनि कार्यक्रम काट्न सक्नु भएको छैन। थोरै बजेट दिनु भएको होला। ऋण लिएर परियोजना गर्छु भन्न सक्नु भएको छैन।’ उनले भने ॥

उनले बजेटमा श्रृजनात्मकता नरहेको बताए। राजस्वको लक्ष्य ठुलो छ । राजस्वको लक्ष्य ठुलो भएपछि करको दायरा बढाउने वा करको दर बढाउने ?  बढी कमाउनेसँग धेरै कर लिन्छु भन्नु कुनै श्रृजनात्मकता नभएको थापाको भनाइ थियो। उनले करको दायरा नबढाइएको र करको दायरा बढाउन विभिन्न मुलुकमा जस्तो छिटो छरितो काम गर्ने परिपाटी नगरिएको बताए। थापाले भने ‘धेरै कमाउनेसँग कर लगाएर ढुकुटी भर्छु भन्नका लागि हामीले धेरै पढेको अर्थमन्त्री चाहिँदैन । यसका निम्ति कुनै श्रृजनात्मकता चाहिँदैन।'

मेक्सिकोको उदाहरण दिदै उनले भने - सारि भन्ने एक कार्यक्रम जसमा नगरपालिका भित्र एउटा व्यवसाय दर्ता गर्नका निमित ३० दिन लाग्ने समयलाई घटाएर एक दिन बनाउदा २६ प्रतिशत बढी व्यवसायीहरु दर्ता भए ।   जो पहिला दर्ता भएका थिएनन् ।  उनिहरु दर्तामा आए ।  करको दायरामा आए '। सार्वजनिक खरिद ऐन संशोधन र अन्तर मन्त्रालय समन्वय यो नयाँ कुरा होइन’, उनले भने, ‘वर्षौदेखि हामीले सुन्दै आएको कुरा हो । बजेट संगतिपूर्ण बनाउने कुरामा पनि बजेट चुकेको छ'।

उनले भने 'राष्ट्रियसभामा अर्थमन्त्रीले भन्नु भएको रहेछ मलाई  विपक्षिका साथिहरुले धेरै उचाल्नुभयो । म नेपालमा बृद्धाभत्ताको आर्किटेक्ट हुँ । यस बिषयमा मलाई नउचाल्नु । तपाईकै पार्टीका पुर्व माननीय भरतमोहन अधिकारीले  नयाँ पत्रिकामा लेख लेखेर भन्नु भएको छ । २०५१ सालको बजेट बनाउने सन्दर्भमा हालको अर्थमन्त्री कहि हुनुहुदैन थियो। अर्थमन्त्रीले गफ दिनुभयो भन्नु भएको छ । तपाईलाई गफाडी भन्नु भएको छ ' । 

‘खाडीबाट युवकले कमाएर ल्याएको पैसाबाट ६५ वर्षलाई बाँड्छु। ५ हजार बाँड्छु भन्ने प्रतिष्पर्धामा मलाई भाग लिनु छैन’, उनले भने, ‘यो बेलामा इतिहासमा दिएको अनुकूल समय छ। उत्कृष्ट पार्टी सरकारमा हुनुहुन्छ। उत्कृष्ट व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ। नेपालको कम्युनिष्टहरूसँग भएकामध्ये उत्कृष्ट व्यक्ति अर्थमन्त्री हुनुहुन्छ। तपाईंलाई हाम्रो पूर्ण रूपमा सहयोग रहन्छ। राम राम भन्न सक्छौं। काँध थाप्न सक्दैनौं। त्यसैले यति भन्छु एक वर्षपछि भेटौंला। एक वर्षपछि तपाईं पास हो कि फेल हो? भन्ने कुरा तपाईं आफूले भन्ने होइन। यो पटक परीक्षा जनताले लिने हो। रिपोर्ट कार्ड हामीले पेश गर्ने हो। रिपोर्ट कार्डको प्रतिक्षा गर्नुहोला। ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ