बागलुङ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले वर्तमान सरकार हावादारी गफमा भुलेको आरोप लगाएका छन् । नेपाल भूतपूर्व सैनिक संघ बागलुङको १० औं वार्षिक साधारणसभालाई उदघाट्न गर्न बागलुङ आएका रिजालले जनताको आवश्यकता समस्या समाधान गर्नुको साटो सरकार गफ दिएर सपना बाँड्दै हिडेको बताए।
‘जनता विभीन्न समस्याबाट पिडित छन्,’ उनले भने, ‘हाम्रो प्रधानमन्त्री भने उखान र टुक्का हाल्दै खिसी टिउरी गरेर हिड्नुभएको छ ।’ पूर्व संचारमन्त्री समेत रहेका रिजालले अहिले सरकारले ल्याएको बजेट संघियताको मर्म विपरित भएको बताए । हामीले देशको समानुपातिक विकासका लागि संघियता ल्यायौं,’ उनी भन्छन् तर सरकारले त्यस अनुसारको बजेट ल्याएको छैन । संघियता कार्यान्वयनमा अहिलेको सरकार उदार देखिदैन ।’
काठमाडौंमा रेल र तराईमा पानी जहाज भन्दा पनि दुर्गममा सडकको आवश्यकता बढि रहेको उनको भनाई छ । ‘अहिलेको समस्या दुर्गममा मोटरबाटो पुर्याउने रहेको छ,’ रिजालले भने, ‘काठमाडौंमा रेल पानीजहाज तत्कालको आवश्यकता होईन ।’
फरक प्रसङ्गमा रिजालले काँग्रेस भित्रैको गुटबन्दीका कारण पार्टी चुनावमा पराजित भएको बताए । अब काँग्रेसलाई नयाँ जीवन दिनका लागि गुटबन्दीको अन्त्य गर्नु जरुरी छ,’ उनले भने,यसैका कारण हामी चुनावमा पराजित भयौं । अब हरेकले आफुलाई करेक्सन गर्नुको विकल्प छैन ।’