कृष्ण सिटौलाको कडा प्रतिक्रिया – ‘सामन्ती संस्कारले पार्टी चल्दैन’
प्रकाशित २०७५ जेठ २२ मंगलबार
251
Shares
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सामन्ती संस्कारले काँग्रेस अगाडि बढ्न नसक्ने बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले सोमबार यहाँ आयोजना गरेको वर्तमान सन्दर्भमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी तथा उदयपुरमा चुनाव प्रचारका क्रममा घाईते मीरा कटुवाललाई आर्थिक सहयोग कार्यक्रममा उनले पार्टी नयाँ संरचनाका साथ अगाडि बढ्नुपर्ने बताए । “नीति, कार्यक्रम र सांगठनिक संरचना परिवर्तन आवश्यक छ,”–उनले भने ।
नेता सिटौलाले पार्टीभित्र देखिएका गलत संस्कारलाई अन्त्य गरेर अगाडि बढेमात्र सफल हुने बताए । काँग्रेस निधाएर बसे प्रजातन्त्र निधाउने भन्दै उनले प्रजातन्त्रलाई निधाउन नदिन नेविसंघको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
उनले वर्तमान सरकारले दुई तिहाई छ भन्दैमा संविधानको भावना र मर्म विपरीत कार्य गरे काँग्रेस टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारे । नेता सिटौलाले शान्ति प्रक्रियालाई नित्कर्षमा पु¥याएर द्धन्द्धकालिन घटनालाई न्याय दिलाउने काम काँग्रेसले मात्र गर्न सक्ने उल्लेख गरे ।
काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले राज्यले शिक्षालाई निशुल्क गर्नुपर्नेमा नगरी शिक्षामा कम बजेट विनियोजन गरेको भन्दै यसको विरुद्धमा नेविसंघ उत्रिनुपर्ने बताए । “ओली सरकार निर्माण भएपछि चारपटकसम्म पेट्रोलियम पदार्थको मूल्य बढिसकेको छ, यसको विरुद्धमा नेविसंघ लाग्नुपर्छ,”–उनले भने ।
नेता पौडेलले देशमा विधिको शासन स्थापना गर्न सिकाउने काँग्रेसभित्र नै विधिको शासन नभएको उल्लेख गरे । “काँग्रेसलाई जनताले सच्चिने मौका दिएका छन्, संसदमा जिम्मेवार प्रतिपक्षको रुपमा प्रस्तुत हुनुपर्छ,”– उनले भने ।
नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान नेतृत्वका कारण नेविसंघ कमजोर भएको भन्दै नेविसंघ जोगाउन सबै विद्यार्थीहरु एकजुट हुनुपर्ने बताए ।
नेविसंघ पूर्व महामन्त्री उमेशजंग रायमाझी, नेविसंघका उपाध्यक्ष नविन राई, डिल्लीराम सुवेदी, नेविसंघ काठमाडौँ अध्यक्ष मनोज बैद्य, नेविसंघका नेता दिपक भट्टराई, युवराज पाण्डेलगायतले नेविसंघको वर्तमान नेतृत्व निर्वाचन नगराउने खेलमा लागेको भन्दै निर्वाचन नगरे कडा आन्दोलन गर्ने बताए ।
नेविसंघ प्रदेश नं ३ का संयोजक रामप्रसाद अधिकारीले कोठामा बसेर जथाभावी जिम्मेवार दिएर नेविसंघ बलियो नहुने भन्दै नेविसंघलाई बलियो बनाउने अभियानअनुसार उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उनले राणा, पञ्चायत र राजतन्त्र ढालेको नेविसंघले कम्युनिष्ट अधिनायकवादको विरुद्धमा समेत लड्ने स्पष्ट पारे । नेता अधिकारीले नेविसंघलाई शशक्त बनाउनका लागि प्रदेश नं ३ ले विभिन्न समयमा विभिन्न रचनात्मक कार्य गर्दै आएको स्पष्ट पारे ।
कार्यक्रममा विसं २०७५ मंसीर १३ मा उदयपुरमा निर्वाचन प्रचारप्रसारका क्रममा एम्बुसमा परेर गम्भीर घाइते भएकी मीरा कटुवाललाई नेविसंघ अमेरिका शाखाका अध्यक्ष प्रभातराज कटुवाल र उनका साथीहरुबाट संकलन गरी पठाएको रु तीन लाख नगद हस्तान्तरण गरिएको थियो ।
सो एम्बुसमा उदयपुर प्रतिनिधी सभाका उम्मेद्वार नारायणबहादुर कार्की सवारी चालक राजन कार्कीलगायत गम्भीर घाईते भएका थिए ।