ओलीको स्वास्थ्य र माकुनेको स्वार्थले प्रचण्ड बलियो
प्रकाशित २०७५ जेठ २३ बुधबार
313
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अन्डरलाइनभित्र दुई अध्यक्ष भए पनि एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बलिया देखिएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हाल्दै गर्दा उनको स्वास्थ्यले समेत साथ नदिँदै गर्दा प्रचण्ड बलियो बनेका हुन् ।
प्रचण्डलाई बलियो बनाउन माधवकुमार नेपाल माकुने फ्याक्टर पनि महत्वपूर्ण रहेको छ । उच्च स्रोत भन्छ नेकपा अण्डरलाइनको जग कमलो छ र बाहिरबाट पोलिस लगाएर चम्काइएकोमात्र छ । स्रोत भन्छ ‘जुन पार्टीको अध्यक्ष नै खतरामा छ त्यो पार्टी कसरी बलियो ?’ यहाँ नेकपाका दुई अध्यक्ष मध्ये प्रमुख अध्यक्ष केपी शर्मा ओली कमजोर अवस्थामा पुगेका छन् ।
हुनत उनको स्वास्थ्य पनि खस्किँदो छ । स्वास्थ्यका विषयमा जानु उपयुक्त हैन । किनकि जुनसुकै व्यक्तिको स्वास्थ्यमा किचलो गर्नु राम्रो हैन । भनेर हुने भए उनको स्वास्थ्यमा चामत्कारिक सुधार आओस् ।
तर पार्टीको रुपमा उनी कमजोर बन्दै गएका छन् । उनको हैसियत गिर्दो छ । ओलीको स्वास्थ्य बिग्रदै जाँदा त्यसको प्रत्यक्ष फाइदा प्रचण्डलाई भएको छ । हुनत यो पार्टी मिलनको ‘ग्राइण्ड डिजाइन’मा ओलीका सदावहार प्रतिद्धन्द्धी माकुनेले राम्रो भूमिका खेले ।
उच्च स्रोतका अनुसार ओलीसंग माकुनेको मिलन केवल देखावटी थियो । ओलीलाई साइजमा ल्याउन पहिलेदेखि नै माकुने लाग्दै आएका थिए ।
ओली हुन्जेल माकुने पनि एमालेभित्रै अगाडि बढ्न सक्दैनथे । उनको बानी पनि त्यस्तै अवसरवादी । त्यसैले जसरी पनि पार्टी एकता गरेर ओलीलाई झार्ने षड्यन्त्रमा माकुने पनि रहे ।
स्थानीय तहको निर्वाचन सकिएदेखि पार्टी एकता हुने बेलासम्म दर्जनौं पटक माकुने र प्रचण्डबीच गोप्य वार्ता भएको छ । माकुनेको योजनामा प्रचण्डले निकै ठूलो साथ दिए ।
प्रचण्ड यतिसम्म कि आफ्नो लागि प्रचार प्रसार गर्न छोडेर चुनावमा माकुनेको क्षेत्रमा आएर माकुनेलाई भोट मागेका थिए । प्रचण्डलाई लागेछ – आखिर मलाई चाहिने मान्छे त यही नै हो ।
अहिलेसम्मको केन्द्रीय समिति र स्थायी कमिटिमा प्रचण्डको प्रभाव बढ्दै गर्दा माकुनेका मान्छेहरु पनि बढ्दै गएका छन् ।
माकुनेको प्रचण्ड र केपी ओलीसंग बढेको हिमचिमले झलनाथ खनाललाई समस्यामा पारेको छ । झलनाथले आफ्नो एमालेको वरिष्ठ नेताको पद फेरि चाहियो भन्दै कराइरहेका छन् ।
उनी नेकपा बन्दा माकुने भन्दा तल परेका छन् । माकुनेले पहिलो सफलता हासिल गरेका छन् । झलनाथ कराए पनि उनका पछाडि न्यूनमात्र नेताहरु साथमा रहेको बताइन्छ ।
जब अध्यक्ष ओलीनै अल्पमतमा पर्दैै गएका छन् भने झलनाथको के कुरा । उच्च स्रोत भन्छ ओली पार्टीभित्र अल्पमतमा छन् । पार्टी एकीकरणका लागि सबैभन्दा बढी भूमिका खेल्ने बामदेव गौतमलाई समेत प्रतिनिधिसभाको निर्वाचनमा हराउन महत्वपूर्ण भूमिका खेलेका ओलीलाई ठेगान लगाउन बामदेवसमेत तयार रहको स्रोत बताउँछ ।
बामदेवले निरन्तर २० वर्षदेखि प्रचण्डसंग एकीकरण गर्न चाहेका थिए । कहिले माले हुँदा त कहिले एमाले हुँदा । प्रचण्डले आफू बलियो भएको अनुभूति दिइसकेका छन् ।
प्रचण्डले आफू पाँच वर्षभित्रै राष्ट्रपति वा प्रधानमन्त्री जे चाह्यो त्यही हुन सक्ने बताइसकेका छन् । यसको मतलव हो हावा नलागी पात हल्लिन्न । अब ओलीका दिन ढल्दा छन् । उनी मच्चिनु मच्चिए । उच्च स्रोत भन्छ ‘भनिहाल्नु त नहुने हो तर हाम्रा ओली कमरेडका अबका दिन राम्रा छैनन् ।’
सरकारको हिसाबले अध्यक्षको नेतृत्वको नेकपाको दुई तिहाईको दम्भयुक्त सरकार छ । विपक्षीले दायाँ बायाँ कतै नहेरे पनि फरक नपर्ने । चियाएर चियाउन पनि नपाउने ।
तर जसरी ०४८ सालको बहुमतप्राप्त नेपाली काँग्रेसले आन्तरिक दम्भले गर्दा तालमेल बिगार्दा पाँच वर्ष सरकार चलाउन पाएन त्यसरी नै नेकपाको स्थिति टुट्न के बेर भन्नेहरु पनि छन् ।
०५१ सालमा उपनिर्वाचन गर्दा तत्कालीन एमालेले सरकार बनाएको यथार्थ लुकेको छैन । काँग्रेसलाई त्यतिबेलै झड्का लागेको थियो । अहिले पनि नेकपालाई झड्का लाग्न बेर छैन । तर त्यसको फल प्रतिपक्षको हिसाबले काँग्रेसले नचाखे पनि आन्तरिक कलहले ओलीको बोलीको प्रभाव भने गुम्न बेर लाग्दैन ।
अहिले नेपाली राजनीतिको इतिहासमा पहिलो पटक कम्युनिष्टको दुई तिहाई प्राप्त सरकार छ । यो यस्तो सरकार हो जसले संविधानसमेत परिवर्तन गर्न सक्छ । अर्थात् कम्युनिष्ट सरकारले सबै परिवर्तनको क्षमता राख्न सक्छ ।
तर आफै नै परिवर्तन भइने हो कि भन्ने शंका र आशंका भने चलिरहने गरेको छ । धुम्बाराही र पेरिसडाँडाँ गरी दुई ठाउँमा पार्टी कार्यालय हुनु नै पनि विश्वासमा कमी र भोलिका दिनमा हुन सक्ने तलमाथिको बन्दोवस्ती हुन सक्छ ।
प्रचण्डले पाँच वर्षभित्र आफू कुनै पनि बेला प्रधानमन्त्री वा राष्ट्रपति बन्ने बताइसकेका छन् । उनले कार्यकारी राष्ट्रपति बन्ने संकेत समेत गरेका छन् ।
आफू निकटका संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर प्रचण्डले अब पार्टी एकता गर्ने समेत बताइरहेका छन् ।
दुई तिहाइपछि संविधान समेत संशोधन गर्न खोजिएको छ । अब कम्युनिष्टले पहिलेदेखि नै खोजेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा जोड दिएपछि सम्भवतः संशोधन गर्नेछन् । अनि प्रचण्ड प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुर्सीमा पुग्न न्वारनको बल लगाउने छन् ।