arrow

रंगिदै वीर : टलक्क टल्काइँदै भीआइपी क्याविन

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ जेठ २३ बुधबार
VIP.JPG

काठमाडौं । मुलुककै सबै भन्दा पुरानो, वीर अस्पतालले काँचुली फेरिरहेको छ । अहिले जताततै भित्तो चम्काउने काम भईरहेको छ । त्यसमा पनि बेला–बेलामा चर्चामा आईरहने वीर अस्पतालको पीआईपी क्याविन पनि टलक्क टल्काईँदै छ । 

पेन्ट गर्नेहरुलाई सास फेर्ने फुर्सद समेत छैन । धमाधम रङ पोतिरहेका छन् । वीर सरसफाइको विषयलाई लिएर वीर अस्पताल बारम्बार समाचार बन्ने गरेको थियो । अहिले काँचुली फेर्न लागेको भनि समाचार बनिरहेको छ । 

तर, त्यही वीरको भीआइपी कक्ष कहिल्यै प्रयोगमा नआएको कुरा समेत कयौँ पटक समाचार बन्यो । प्रयोगमा नआएको भीआइपी क्याविन फोहर भएर त पक्कै होइन होला भीआइपीहरुले नपत्याएको ! तर, अहिले प्रयोगविहिन त्यो क्याविन पनि टल्काईँदै छ । निकै समय लगाएर ‘भव्य’चम्किाइँदै छ, भित्ता । भुँई, भित्ता, सबैतिर सफाचट् हुन लागेसँगै कर्मचारीहरु पनि उत्साही भएका छन् । 

पेन्ट पोतिरहेको फोटो खिच्न खोज्दा क्याविनबाट बाहिरिएका एक कर्मचारी मुसुक्क मुस्कुराए । उनले भने, ‘अब त भीआईपीले पत्याउलान् नि !’ 

गएको वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल आफैले वीर अस्पताल पुगिन् । उनले सरकारका सरसफाइ दूत धुर्मुस–सुन्तलीलाई समेत आमन्त्रण गरेकी थिईन् । नभन्दै धुर्मस–सुन्तली अभियानमा खटिए । पछि अन्य संस्थाहरु पनि थपिए । धुर्मुस सुन्तलीले आफै खटिएर सरसफाइको नेतृत्व गरे । 

उनले अस्पताललाई टल्काउन रंगरोगन तथा अन्य भौतिक व्यवस्थापन पनि आवश्यक रहेको भन्दै मन्त्री अर्याल र अस्पताल व्यवस्थापनसँग प्रस्ताव राखे । उनको प्रस्ताव तत्काल स्वीकृत भयो । तर, अहिले खर्चको विषयलाई विषयान्तर गर्न खोजिएपछि उनी खिन्न भएका छन् । 

विक्रम संवत १९४६ साउन (सन् १८८९ जुलाई) मा वीर शम्शेरले स्थापना गरेको वीरमा अहिले चामत्कारिक सुधार आएको भनिन्छ । 

सन् २००३ पछि यो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मार्फत सञ्चालित छ । न्याम्सका उपकुलपति डा गणेश गुरुङ पछिल्लो समय वीरमा चामत्कारिक सुधार भएको बताउँछन् । 

उनले भनेका छन्, ‘अस्पतालमा सिटी स्क्यान थिएन, रेडियोथेरापी मेसिन क्र्यास भइसकेको थियो । हामीले मन्त्रीसँग पैसा होइन, उपकरण दिनुहोस् भन्यौं । त्यही अनुसार क्रमशः काम अगाडि बढ्दै गयौँ । तर, छोटो समयमा धेरै मन्त्री परिवर्तन हुँदा सोचे जस्तो काम भने हुन सकेन ।’

अहिले १२८ स्लाइसको सिटी स्क्यान आएको छ । १.५ टेस्लाको एमआरआई छ । न्युरो, युरो, हेपाटोली, क्यान्सर, नाक, कान घाँटी, छाला सबै विभागमा आधुनिक उपकरण आएको छ । 
काउन्टरको संख्या पनि बढेको छ । चल्नै नसकेको ट्रमा सेन्टर चल्यो । त्यहाँ पनि आधुनिक उपकरण आएका छन् । अब अलिक सफा भएन भन्ने गुनासो पनि हट्दै छ, उनले भनेका छन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ