काठमाडौं । संघीय समाजवादी फोरम नेपालले आफ्नो नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकीकरण हुने समाचारको खण्डन गरेको छ । विहीबार विज्ञप्ति जारी गर्दै फोरमले विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरुमा पार्टी एकीकरण हुन लागेको भनि प्रचारित समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
फोरमले वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा नीति, सिद्धान्त र विचार मिल्ने दल-पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको बताएको छ यद्यपि फोरम र नेकपाबीच एकीकरण तत्काल सम्भव नरहेको उल्लेख गरिएको छ ।
पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार गरिएको आरोप फोरमले लगाएको छ । फोरमले तथ्यहीन ढंगले आइरहेका गलत समाचारहरुको भ्रम फैलाउन र जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।