arrow

सिद्धबाबाको पहिरोमा के गर्दैछन् मन्त्री महासेठ ? बन्ला त सुरुङमार्ग ?

सडक विभाग भन्छ - पुरानै अध्ययनबाट काम हुँदैन

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ २४ बिहिबार
Mantri_mahaset.jpg

पाल्पा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहितको टोलीले सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको पहिरोग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सरकारले प्रस्तुत गरेको बजेट भाषणमा पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको विस्तृत अध्यन गरी काम शुरु गर्ने उल्लेख गरेसँगै मन्त्रीले यो क्षेत्रको अवलोकन गरेका हुन् ।

विगत चार बर्षदेखि सिद्धबाबा क्षेत्रमा रकनेट, रकसेट देखी सुरुङ मार्गको नाममा बजेट विनियोजन भएपनि काम हुन सकेको थिएन । यसपटक भने आर्थिक बर्ष शुरु हुनु अगाडि नै विभागीय मन्त्री रघुविर महासेठ, पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डे, सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ सहितको टोलीले बुधबार सिद्धबाबा क्षेत्रको ३ किलोमिटर पहिरोग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । आर्थिक बर्ष २०७३/०७४ मा तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले सिद्धबाबा क्षेत्रमा सुरुङ्ग मार्ग निर्माणको डिपिआर अध्यनको बजेट विनियोज गरे पनि काम हुन सकेको थिएन । आगामी बर्षपनि काम सुरुङ मार्ग निर्माणको बजेट विनियोजन भएपनि काम नहुने होकि भनी जनताले आशंका गरिरहेको समयमा विभागीय मन्त्रीको स्थल अवलोकनले पाल्पाली जनतामा केही उत्साह थपिएको छ ।

बजेट कार्यान्वय अगाडि नै स्थलगत अवलोकनमा आएका  भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले राजमार्गको सिद्धबाबा क्षेत्रलाई सूरक्षित बनाउन  आगामी श्रावण देखी  काम सुरु गर्ने बताएका छन् । सिद्धवावा भनेको प्राकृतिक एम्वुस सरह भएकोले जसरी भएपनि प्राकृतिक एम्बुस हटाउनको लागि सरकारले बजेट र जनशक्ती परिचालन गर्ने मन्त्री महासेठले प्रतिवद्धता जनाए । विगतका जस्तो ९ महिना हट्ने सरकार नभई ५ बर्ष स्थायी रुपमा टिक्ने सरकार भएकोले मन्त्री महासेठले सरकारले सुरक्षित राजमार्ग बनाउने विषयमा संवेदनशील भएर काम अगाडि बढाउने बताए ।

सिद्धबाबा क्षेत्रलाई सूरक्षित बनाउनको लागि वैकल्पिक राजमार्ग निर्माण गर्ने, पहाडलाई स्टेप मिलाएर कटान गर्ने, सुरुङ्ग मार्ग निर्माण गर्ने, सेमि टनेल बनाउने, तिनाउ नदी माथी ३ किलोमिटर बेलिब्रिज बनाउने र मुख्य पहिरो खस्ने क्षेत्र तिनाउ वारी र पारी गरेर बाटो निर्माण गर्ने विकल्पको चर्चामा रहेका छन् । मन्त्री महासेठले आगामी आर्थिक बर्षदेखी काम अगाडि बढाउने जनता समक्ष प्रतिवद्धता जनाएपनि सडक विभाग भने के कसरी काम गर्न सकिन्छ भन्ने अझै प्रष्ट भएको छैन । विभागीय मन्त्री महासेठले पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा काम गर्ने प्रतिबद्धता जनाई रहँदा सडक विभागले भने विगतका  अध्यन अनुसन्धान अपुरो भएकोले सिद्धबाबा क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी  अध्यन डिपिआर तयार गर्नुपर्ने जनाएको छ ।

 सुरुङ्गमार्ग सम्बन्धी अध्यन गर्ने प्राविधिक जनशक्ति सडक विभागसँग नभएको, सिद्धबाबा क्षेत्रमा विदेशी जनशक्ति ल्याएर मात्र अध्ययन अवलोकन गर्नुपर्ने सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले बताए  । सिद्धाबाबा क्षेत्रको  भूवनोट चलाएमान रहेको छ ,जमिनमा देखिएका रुखहरु ढल्किएका छन, विगतमा गरिएका अध्यन अनुसन्धानबाट काम गर्नु मूर्खता हुने विभागका महानिर्देशक श्रेष्ठले बताए । आत्तिएर हचुवाको भरमा बजेट खर्चमात्रै गरेर भन्दा  दिर्घकालीन समस्या समाधान नहुने भएकोले  विदेशबाट सक्षम जनशक्ति ल्याई काम सुरु गर्नुपर्ने महानिर्देशक श्रेष्ठले बताए ।

सिद्धार्थ राजमार्गको करिब ३ किलोमिटर क्षेत्रमा १२ महिना पहिरो र ढुङ्गा खसेर धेरैको अकालमा ज्यान गएको छ । २०७३ सालमा रक नेट प्रविधि प्रयोग गरी पहिरो रोक्न सकिने ५२ लाख रुपैँया   खर्च भएपनि त्यो प्रविधि असफल भएको हो । हालैमात्र केहि दिन अघि मात्र सिद्धबाबा क्षेत्रमा पहिरोले बगाएर १ जनाको ज्यान गएको छ । विगत २० बर्षदेखि पाल्पाको सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले यस क्षेत्रका जनताको प्रमुख समस्या बन्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ