arrow

वर्षौंसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको कामले लियो गति

logo
नारायण रिजाल,
प्रकाशित २०७५ जेठ २४ बिहिबार
baglung-buspark.jpg

बागलुङ ।  वर्षौंसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको काम शुरु भएको छ । २०५९ सालमा बसपार्क निर्माणका लागी जग्गा स्वामित्वमा लिने काम भए पनि निर्माणको काम नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेका थियो ।  लामो समयदेखी अलपत्र परेको बागलुङ बजारको व्यवस्थित बसपार्क बनाउने कामको सुरुवात भएको हो ।

बसपार्क निमार्णको लागि बागलुङ नगरपालिका कार्यालय र नगर विकास कोषबीच ऋण सम्झौता भए पछि बसपार्क निर्माणले गति लिएको हो । बागलुङ नगरपालिका—४ उपल्लाचौरमा धौलागिरीकै आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माणको काम सुरु भैसकेको जग्गा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए । साढे १७ रोपनी क्षेत्रफलमा बन्ने बसपार्क आधुनिक र सुविधायुक्त हुनेछ । बसपार्क निर्माणको प्रारम्भीक चरणको काम अहिले सुरु भएको छ, राजभण्डारीले भने, ‘अहिले बसपार्क वन्ने ठाउँको वरिपरिको जग्गा सम्याउने काम थालिएको छ ।’

बसपार्कलाई निःशुल्क जग्गा
बसपार्क निर्माणका लागि आवश्यक पर्ने जग्गा स्थानीयले निःशुल्क रुपमा उपलब्ध गराएका थिए ।  त्यसबाहेक नजिकको जग्गा व्यवस्थित गरेर स्थानीयलाई फिर्ता गर्नेगरी सम्झौता भएकाले सो अनुसार काम सुरु भएको राजभण्डारीको भनाई छ । बासपार्क निर्माणका लागि हामीले साढे १७ रोपनी जग्गा बागलुङ नगरपालिकालाई निःशुल्क दिएका छौं,’ उनले भने, ‘जग्गा दिँदा एउटै व्यक्तिलाई मर्का नपरोस् भनेर बाँकी रहेका जग्गा पनि विकास समितिको अधिनमा लिएर त्यसका विकास गरेर दिने सम्झौता भएको थियो ।

जग्गा सम्याउनका लागि ४० लाख
जग्गा सम्याउनका लागी नगरपालिकाको प्रथम नगरसभाबाट यस आर्थिक वर्षका लागि विनीयोजन गरेको ४० लाख रुपैयाँबाट काम सुरु गरेको राजभण्डारीले बताए । सो रकमले बसपार्क वरीपरिको जग्गा सम्माउने काम भै रहेको छ । जग्गा सम्याउनका लागि मात्रै २५—३० लाख खर्च लाग्छ राजभण्डारीले भने, ‘बाँकी रकमले सडक लगायतको काम गर्नुपर्नेछ ।’ आफुहरुले घडेरी निर्माण गरेर बेच्नका लागि नभई व्यवस्थित बसपार्क बनोस् भनेर उद्देश्यले जग्गा दिएको पुष्टी पारे । बागलुङ बजारको मुटुमै जग्गा छ, अहिले यहाँ आसपासमा ७ देखि ८ लाख रुपैयाँ प्रतिहातका दरले जग्गाको किनबेच भैरहेको छ,’ उनले भने, ‘पैसा सबैथोक हो भन्ने सोचेको भए एक अर्ब भन्दा बढि मुल्य पर्ने जग्गा हामीले बसपार्क बनाउनका लागि सित्तैमा दिने थिएनौं । यहाँको ठाउँको विकास होस् र भन्ने चाहानाले जग्गा दिएका हौं ।’

५९ रोपनी जग्गा समितिको मातहतमा
बसपार्क निर्माणका लागि २९ जना जग्गाधनिहरुले आफ्नो जग्गा उपलब्ध गराएका छन् । बसपार्कका लागि साढे १७ रोपनी जग्गा पर्याप्त भए पनि ५९ रोपनी जग्गा समिति मातहतमा ल्याईएको हो । १० रोपनी सडक र अन्य पुर्वाधार निर्माणमा खचिर्ने समितिले जनाएको छ । ५९ रोपनी मध्ये बाँकी रहेको साढे ४२ रोपनी जग्गा विकसित घडेरीको रुपमा स्थानीयलाई फिर्ता गर्नेगरी नगरपालिका सँग सम्झौता गरेको छ ।
आफुहरुले निःशुल्क जग्गा दिए वापत नगरपालिको सडक, खानेपानी, बिजुली ढल निकास लगायतको व्यवस्था गरेर आधार जग्गा फिर्ता गर्ने सम्झौता गरेकाले त्यही अनुसार जग्गा सम्याउने काम भै रहेको राजभण्डारीले बताए । अहिले कतै कतै जग्गा प्लटिङ भैरहेको छ भन्ने टिप्पणी पनि सुनिन्छ,’ उनले भने, ‘हामीले आफ्नै सम्पत्तीको आधा हिस्सा फिर्ता मागेका हौं ।’

१० करोड ४६ लाखको लागत
बसपार्कको निर्माणका लागी कुल १० करोड ४६ लाख ८७ हजार ५ सय रुपैयाँको लागत लाग्ने बताईएको छ । जसका लागी लागि नगरविकास कोषले ९ करोड ४ लाख ३९ हजार दुई सय ९० रुपैयाँ ऋण सहयोग उपलव्ध गराउने र नेपाल सरकारको तर्फबाट ७५ लाख ३६ हजार छ सय सात रुपैयाँ ऋण तथा नगरपालिकाको समपुरक कोष वापतको रकम २५ लाख १२ हजार २ सय २ रुपैयाँ हुने गरी सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

बसपार्क निर्माणको लागि के.एफ.डब्लुले १० लाख, नेपाल सरकारले १८ लाख ८९ हजार ७ सय ३० रुपैयाँ उपलव्ध गराउनेछ । नगरपालिकाको समपुरक कोष बापतको रकम १३ लाख ९ हजार ६ सय ७० रुपैयाँ हुनेछ । नगरपालिकाले ऋण रकम १० करोड ४ लाख ८८ हजार १ सय रुपैयाँ लिनेछ । अनुदान बापत ४१ लाख ९९ हजार ४ सय रुपैयाँ प्राप्त गर्ने बताईएको छ । निर्माणका लागि बजेटको व्यवस्थापन भएर टेन्डर प्रक्रिया सुरु भैसकेको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए ।  अबको दुई वर्षमा बसपार्क निर्माण कार्य सम्पनन गर्ने लक्ष्य रहेको छ । नगरपालिकाले बसपार्कको विस्तृत आयोजना प्रतिवदेन (डिपिआर) तयार पारी निर्माण कामको लागी ग्लोबल टेन्डर गरिसकेको पौडेलले बताए ।

एक सय २७ वटा घडेरी निर्माण
वसपार्क क्षेत्र भित्र एक सय २७ वटा घडेरी निर्माण गरी जग्गाधनीलाई हस्तान्तरण गरिने बताईएको छ  । बागलुङ नगरपालिका पूर्वाधार विकास समिति संयोजक समेत रहेको वडा नम्बर ४ का अध्यक्ष ध्रुव केसीले बसपार्क निर्माणका लागि भनेर जग्गा लिएको लामो समयपछि अहिले कामको थालनी भएको बताए । नगरपालिकाको मापदण्ड अनुसारको साढ दुई आना देखि साढे चार आनासम्मको एक सय २७ वटा घडेरी बनाएर जग्गाधनीलाई फिर्ता गर्ने हाम्रो सम्झौमा छ,’ केसीले भने ‘हामीले यो पहिले नै स्थानीयसंग गरेको कमिटमेन्ट अनुसार काम गरेका छौं । विशेष कारण र परिस्थीतीका कारण गरिएकाले त्यसका लागि मन्त्रालय र केन्द्र सरकारसम्म पुग्नुपर्ने अवस्था आए पनि हामी जान्छौं ।’ नगरपालिको १५ लाख खर्चेर ५९ रोपनी जग्गाकै डिपीआर तयार गरे अनुसार अहिले काम अगाडी बढेको उनको भनाई छ । ‘अहिले हामी जनप्रतिनिधि भएर आएपछि काम तिब्र गतिमा अगाडी बढेको छ । बसपार्क निर्माणका लागि यस अघि नै नगर विकास कोष टिडिएफ र बागलुङ नगरपालिका बीच ऋण सम्झौता भैसकको छ ।

६० भन्दा बढि बस पार्किङ गर्न सकिने  
आधुनिक बर्षपार्क निर्माण भएपछि कम्तीमा ६० वटा बस पार्किङ गर्न सकिने र साना सवारी साधानको लागि समेत सहज पार्किङको व्यवस्था हुनेछ । पछिल्लो समय सवारी साधनको संख्या बढ्दै गएपछि पार्किङ साँघुरो भएको छ । जीप व्यवसायीले भने बानपा—२ मा भाडामा जग्गा लिएर सवारी पार्क गर्दै आएका छन् । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको समेत केन्द्र रहेको बागलुङमा व्यवस्थित बसपार्कको आवश्यकता खड्किदैं आएको थियो ।

बागलुङ बसपार्क निर्माण सँगै धौलागिरी क्षेत्रकै यातायात व्यवसायीलाई सहज हुने व्यवसायीहरु बताउँछन । उपल्लाचौरमा बसपार्क निर्माण हुँदा बजार बासीलाई केही कोल्टे परे पनि ट्राफिक समस्याको भने अन्त्य हुने बागलुङ भगवती यातायात व्यवसायी समितिका सचिव गोविन्द पौडेलले बताए ।  धौलागिरी क्षेत्रमै नमुना बन्न लागेको बसपार्क निर्माण सँगै व्यवसायीहरुलाई भाडामा जग्गा लिएर गाडि पार्किङ गर्नुपर्ने समस्याको अन्त्य हुनेछ । अहिले बागलुङ नगरपालिका–३ चिप्पलेटीमा अव्यवस्थित रुपमा अस्थायी बसपार्क सञ्चालित रहेको छ ।  

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ