समाचारको विषयलाई लिएर आएको धम्कीप्रति सर्वत्र आलोचना
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
367
Shares
काठमाडौं । हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर भएको घटनाप्रति विभिन्न संघसंस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघ, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज, अनलाइन पत्रकार संघ, नेपाल प्रेस युनियन लगायतका संघसंस्थाले यो घटनाको घोर भर्सना गर्दै पत्रकार सुरक्षामा जोड दिएका छन् ।
अनलाइनको तीनकुनेस्थित कार्यालयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वमा आएको सात जनाको समुहले कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको थियो ।
जेठ २३ गते साँझ ७ः०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष तथा सांसद नविना लामाको निर्देशनमा शाहीको नेतृत्वमा आएको समुहले हुलहुज्जत गर्दै अनलाइनको समाचार कक्षमा कार्यरत कार्यकारी सम्पादक माधव चम्लागाईसहित अन्य पत्रकारलाई प्रकाशित समाचार तुरुन्त हटाउन दबाब दिँदै धम्क्याएका थिए ।
त्यसैगरी सोही दिन दिउँसो अध्यक्ष तथा सांसद लामाले अनलाइनका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई ‘समाचार नहटाए उठाइदिने तथा सत्ता र शक्तिको दम्भ देखाउदै साईबर क्राईमको मुद्दा लगाएर थुनिदिने’ भन्दै फोनबाट धम्की पनि दिएकी थिइन् ।
यो घटनालाई लिएर विभिन्न संचारसंग आवद्ध संघसंस्थाहरुले विरोध गरेका छन् । नेपाल पत्रकार महासंघसहितका विभिन्न संघसंस्थाले यो घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
त्यसैगरी विभिन्न संचारमाध्यमले पनि यो विषयलाई गम्भीर उठान गरेका छन् । साथै सामाजिक संजालमा समेत दोषीलाई कार्वाही गर्न माग गरिएको छ ।
प्रेस विज्ञप्ति
प्रकाशित समाचारको विषयलाई लिएर हाम्राकुराडटकमको तीनकुनेस्थित कार्यालयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वमा गएको सात जनाको समुहले त्यहाँ कार्यरत पत्रकारलाई प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको घटनाप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
जेठ २३ गते साँझ ७ बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष तथा सांसद नविना लामाको निर्देशनमा शाहीको नेतृत्वमा गएको समुहले हुलहुज्जत गर्दै अनलाइनको समाचार कक्षमा कार्यरत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, अनलाइन पत्रकार संघका केन्द्रीय पार्षद तथा कार्यकारी सम्पादक माधव चम्लागाईसहित अन्य पत्रकारलाई प्रकाशित समाचार तुरुन्त हटाउन दबाब दिँदै धम्क्याएका थिए । सोही दिन दिउँसो अध्यक्ष तथा सांसद नविना लामाले अनलाइनका प्रधानसम्पादक, अनलाइन पत्रकार संघका केन्द्रीय पार्षद तथा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलाई ‘समाचार नहटाए उठाइदिने तथा सत्ता र शक्तिको दम्भ देखाउदै साईबर क्राईमको मुद्दा लगाएर थुनिदिने’ भन्दै फोनबाट धम्की पनि दिएकी थिइन् ।
प्रकाशित समाचारको बारे अध्यक्ष तथा सांसद लामाले पठाएको खण्डन प्रकाशित गरेपछि पनि कार्यालयमा समुह पठाएर पत्रकारलाई धम्क्याउनु तथा कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाब दिनु र फोनबाट सम्पादकलाई उठाइदिने भनी धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो । जिम्मेवार संगठनको अध्यक्ष तथा सांसद जस्तो गरिमामय पदमा रहेको व्यक्तिबाट भएको यो गैरजिम्मेवार कार्यको संघ कडा भत्र्सना गर्दछ । साथै, घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरा ल्याउन र यस्ता घटना दोहोरिन नदिन तथा पत्रकारहरूको पूर्ण सुरक्षा गर्न एवं संविधानप्रदत्त प्रेसको अधिकारको निर्वाध उपभोगको वातावरण सृजना गर्न सम्बन्धित निकायसँग अनलाइन पत्रकार संघ जोडदार माग गर्दछ ।