arrow

खुट्टा गुमाएका कार्कीले अब के गुमाउनु पर्ने ?

logo
गोपालप्रसाद पोखरेल,
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
narayan-karki-udayapur-congress-leader1.jpg

उदयपुर । गएको मंसिर १३ गतेको दिन थियो । निर्वाचन नजिकिएकाले सबै राजनैतिक दल आफ्ना उम्मेद्वार बिजयी गराउन व्यापक प्रचारप्रसारमा लागेका थिए । नेपाली कांग्रेसले पनि उदयपुरको निर्वाचन क्षेत्र नं २ को  नेपालटारमा आमसभाको कार्यक्रम राखेको थियो । करीव १० बजेतिर कटारी बजारबाट आमसभालाई संवोधन गर्न आउँदै गर्दा नेपाली कांग्रेसका उम्मेद्वार नारायणबहादुर कार्की दनुवारबेसीमा एम्बुसमा परेको र गम्भिर घाइते भएको खबर सदरमुकाम गाईघाटमा फैलियो ।

सदरमुकामबाट पुग्न करीव २ घन्टा लाग्ने भएकाले साधन हुने कांग्रेसी कार्यकर्ता दनुवारबेसीतर्फ हुइकिए । साधन नहुनेहरु खिन्नताका साथ कार्कीको उद्धार भए नभएको बिषयमा त्यहाँ रहेका आफन्तसँग बुझ्न थाले । घटना भए लगत्तै स्थानीयले सम्बन्धित ठाउँमा जानकारी गराएर उद्धार र उपचारका लागि तत्काल हेलिकोप्टर पठाउन आग्रह गरे । घटना भएको करीव अढाई घन्टापछि हेलिकोप्टर आइपुग्यो र कार्कीसँगै घटनामा परेकी मिरा कटुवाल र अन्यलाई उपचारका लागि काठमाडौं लगियो ।

नारायणबहादुर कार्कीलाई उदयपुरबासीले एक सालिन नेताका रुपमा हेर्छन् । उनी सरल स्वभावका छन् । कसैलाई नमिठो बचन लगाउँदैनन् । निष्ठाको राजनीति गर्ने, कसैको कामका लागि भनसुन गरिदिनु पर्दा आफै गइदिने, दवाव र प्रभावमा काम गराउन नरुचाउने स्वभावका भएकाले बिपक्षी पार्टीका नेता तथा कार्यकर्ताले पनि कार्कीले श्रद्धाले हेर्ने गर्छन् । लामो समय शिक्षण पेसामा संलग्न भएका कार्की कार्यकर्तालाई अनुशासित बनाउन चिया पसलमा समेत नैतिक आचरण सुधार्ने खालका ज्ञानगुनका कुरा बाँड्ने गर्थे र उनका कुरा सुन्न चिया पसलमा समेत कार्यकर्ता जम्मा हुन्थे ।

पदमा रहदा होस् या नरहदा, कार्कीले कसैबाट एक रुपैयाँ घुस खाएनन् । कतिपय अबस्थामा भोकै पनि हिँडे । जे जति सके गरे । नसक्ने र नहुने कुराको आश्वासन कसैलाई बाँडेनन् । कार्कीले राजनीतिक आन्तरिक प्रतिस्पर्धामा बाहेक अन्य कुरामा धेरैको सपारे, कसैको बिगारेनन् ।
गिरिजाप्रसाद कोइरालासंग मनमुटाव भएपछि शेरबहादुर देउबाले नेपाली कांग्रेस छोडेर कांग्रेस प्रजातान्त्रिक पार्टी गठन गर्दा ७५ ओटा जिल्ला मध्ये उदयपुर त्यस्तो जिल्ला थियो, जहाँ कांग्रेस प्रजातान्त्रिक पार्टी गठन भएको हप्ता दिन नबित्दै तदर्थ जिल्ला कार्य समिति बनेको थियो, जसको नेतृत्व गर्ने उनै नारायणबहादुर कार्की थिए ।

त्यो बेला उदयपुरमा एउटा हल्ला चलेको थियो कि त्यति छिटो तदर्थ समिति गठन भएको जानकारी पाउँदा स्वयम शेरबहादुर देउवा नै छक्क परेका थिए रे । यो कहानी सुनेपछि नारायणबहादुर कार्की र शेरबहादुर देउवाबिचमा निकट सामिप्यता रहेछ भन्ने बुझेका आम उदयपुरबासी हिँजो अस्ती सम्म पनि बिश्वास गर्थे । तर, पछिल्लो समय कार्कीको उपचारमा भएको हेलचेक्राई र उनको खुट्टै काट्नु परेपछि भने त्यो विश्वास बिस्तार घट्दै  गएको छ ।

देउवाका विश्वासपात्र कहलिएर कतिपय अबस्थामा कार्यकर्ताबाट समेत अपमानित भएका कार्की दुर्घटनामा पर्दा देउवा नै प्रधानमन्त्री थिए । त्यति हुँदा हुँदै पनि उनको उपचारमा सरकारले किन कन्जुस्याई गर्यो ? राजनीतिक पीडितका नाममा करोडौ रुपैयाँ बितरण हुँदा कार्कीले किन पाएनन् ? के उनी राजनीति पीडित होइनन् ? कार्कीलाई देउवाकै सिफारिसमा कांग्रेसले प्रतिनिधिसभाको उम्मेद्वार बनाएको होइन ? यस्ता प्रश्न अहिले उदयपुरका कांग्रेसीले देउवालाई गरिरहेछन् । त्यो समय देशको सत्ता देउवाकै हातमा भएकाले पनि उनीहरुलाई प्रश्न गर्न सजिलो भएको छ ।

कार्कीले कांग्रेसका लागि पहिले पसिना बगाए । रगत बगाए । सम्पत्ती गुमाए । खुट्टाका औला गुमाए र अन्त्यमा खुट्टै गुमाए । अब उनले के गुमाउनु पर्ने ? यस्तै प्रश्न आइरहेका छन् । कार्की यतिबेला एउटा प्रतिनिधि पात्र बनिरहेछन् । पार्टी सभापतिका निकट मानिएका व्यक्तिको त राजनीतिमा लाग्दा यस्तो हालत भयो भने मेरो भोलि के होला ? हरेक कांग्रेसीले आफुले आफैलाई यस्तै प्रश्न गरिरहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ