arrow

तिवारी–पौडेल हत्या प्रकरण : अदालतमा थुनछेक बहस जारी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
district-court-rupandehi.jpg

बुटवल । देवदहका इंट्टा उद्योगी दुर्गा तिवारी र काष्ठ व्यवसायी बसन्त पौडेलको हत्यामा संलग्न अभियुक्तहरुको जिल्ला अदालत रुपन्देहीमा बिहीबारबाट थुनछेक बहस सुरु भएको छ । ६ नम्बर बेन्चमा जिल्ला न्यायधीश भोलानाथ ढकालको इजालासमा वादी र प्रतिवादीको तर्फबाट थुनछेक बहस सुरु भएको हो ।

दुवैजनाको हत्यामा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले सोमबार बुटवलका हरि प्रसाद श्रेष्ठ, युवा संघका तत्कालीन केन्द्रिय सदस्य सुजु मल्ल, नेता उत्तम आचार्य, रोशन खड्का, देवदहका लेखनाथ न्यौपाने र तुल्सीराम न्यौपाने विरुद्ध मुद्धा दायर गरेको थियो । यस्तै पौडेलको हत्यामा संलग्न सुभाष गुरुङ, राम गुरुङ, उमेश तामाङ र विजु थापा विरुद्ध पनि मुद्धा दायर गरेको थियो । तामाङ र थापा विरुद्ध फरार प्रतिवादी बनाएर मुद्धा दायर गरिएको थियो ।

यस अघि तिवारी हत्यामा संलग्न भएको आरोपमा देवदहका सागर थापा, तुलबहादुर सिंजाली, बसन्त बहादुर चापागाई, ऋषेश्वर कुमाल, रोहिणीका अंगद थारु, तिलोत्तमाका खेमानन्द भट्टराई, बुद्धिसागर यादव, राजेश यादव, काठमाडौका समिरमान सिंह बस्नेत, बारा गढीमाईका श्याम गुरुङलगायत गरी १२ जनाविरुद्ध अदालतमा मुद्धा दायर भभएको थियो । यस्तै यस अघि नै पौडेल हत्यामा संलग्न ६ जनाविरुद्ध पनि अदालतमा मुद्धा दायर भइसकेको थियो ।

तिवारीको हत्यामा संलग्न १८ र पौडेलको हत्यामा संलग्न १६ जनाविरुद्ध मुद्धा दायर भएपछि प्रतिवादीहरुको बयान सकिए लगत्तै थुनछेक बहस सुरु भएको हो । बिहीबार वादीको तर्फबाट बहस गर्दै जिल्ला न्यायधीवक्ता कोषहरि निरौला र सह–न्यायधीवक्ता कृष्णचन्द्र पाण्डेले सबै प्रतिवादीहरुलाई अन्तिम फैसला नहुँदासम्म थुनामा राख्न माग गरेका छन् ।

बहसमा न्यायधीवक्ता निरौलाले अदालती बन्दोबस्त ऐन ११८(२) नम्बर अनुसार र संगठित अपराध ऐनको दफा (४१) अनुसार प्रतिवादीहरुलाई थुनामा राख्न माग गरे । उनले भने– ‘हत्याका योजनाकार मनोज पुनको साथबाट प्राप्त अडियो रेकर्ड र मेमोरीबाट पनि प्रतिवादीहरुले सहयोग गरेको प्रष्ट हुन्छ, त्यसैले उनीहरुलाई थुनामा राख्नुपर्छ ।’ सह न्यायधीवक्ता पाण्डेले प्राप्त आधार मिसिलमा समावेश भएको भन्दै धरौटीमा छाड्न नहुने तर्क गरे ।

प्रतिवादीको तर्फबाट बहस गर्दै बरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे, अधिवक्ता कृष्ण पोखरेल लगायतले प्रतिवादीहरु घटनामा संलग्न भएको प्राप्त आधार नभएको भन्दै अदालती बन्दोबस्त ऐन ४७ बमोजिम साधरण तारेखमा छाड्नु पर्ने माग गरे । उनीहरुले घटनामा संलग्न नहुँदा सम्म फोनमा कुरा गर्दैमा अपराधि नहुने भन्दै तारेखमा छाड्न माग गरेका हुन् । प्रतिवादीको तर्फबाट ७ जना कानून व्यवसायीले बहस गरेका थिए । १८ बढी कानून व्यवसायीले प्रतिवादीको तर्फबाट बहस गर्दैछन् । बहस आउँदो सोमबार सम्म सकिने जनाइएको छ ।

दुवै जनाको हत्याका मुख्य योजनाकार देवदहका मनोज पुन र भैरहवाका सोम आलेको यस अघि नै प्रहरी इन्काउन्टरमा मृत्यु भइसकेको छ । तिवारी र पौडेल हत्यामा संलग्न सबै जनालाई संगठित रुपमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरिएको छ । तिवारीको २०७३ पुस ३ गते र पौडेलको ०७४ पुस २१ गते देवदहमा गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न सुजु, हरिप्रसाद, उत्तम, लेखनाथ र तुल्सीले दिनभरी हत्याको विरुद्ध नाराजुलुस तथा प्रहरीसँगको छलफलमा सहभागी हुने तर साँझ परेपछि मुख्य योजनाकार इन्काउन्टरमा मारिएका मनोज र सोमबहादुरलाई दिनभरीको घटनाक्रम बताउने गरेको प्रहरीले दावी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ