arrow

'५ वर्षभित्रै प्रचण्ड कार्यकारी राष्ट्रपति बन्नुहुन्छ'

सभामुख र उपसभामुखमध्ये एक जनाले तत्काल राजिनामा दिनुपर्छ : बडु

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
pmprachandadahal.jpeg

काठमाडौं। नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानको व्यवस्था अनुसार नै निकास खोजिने स्पष्ट पारेका छन् ।  शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले सभामुख र उपसभामुख फरक फरक पार्टी र लिङ्गको हुनुपर्ने भनेर आवाज उठिरहेको बताउँदै भने,‘यो विषयमा कानूनविद्हरुसँग छलफल गर्छौं, नयाँ परिस्थिति अनुसार प्रतिपक्षसँगपनि छलफल नयाँ सहमतिका साथ अघि बढ्छौं।’

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आकस्मिक रुपमा पार्टी एकता भएकोले एकीकृत पार्टी बनिसकेपछि अब नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘सभामुख र उपसभामुखको निर्वाचन हामी दुई पार्टीबीच एकता हुनुपर्व नै भएको हो, त्यतिखेर छुट्टाछुट्टै पार्टी भएकोले संविधानको मर्म अनुसार नै हामी अघि बढेका थियौं, अब नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्छौं, यसका लागि सबै पक्षसँग छलफल गरेर उचित निकास निकाल्छौं।’

नेता पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा आफूहरुले संविधान बनाउँदा नै फरक मत राखेको स्मरण गराउँदै भने,‘यो विषय मरिसकेको छैन, संविधान जारी गर्दै गर्दापनि यो विषयमा हाम्रो पार्टीले फरक मत राखेको हो, लोकतन्त्रमा छलफल नै गर्न नहुने भन्ने हुँदैन, अहिले यो विषयबारे चर्चा भएको छ, तर हाम्रो पार्टी नेकपाभित्र यसले कुनै आकार लिएको छैन्।’

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति त प्रचण्ड बन्न तयार हुनुभयो अरे नि त भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘अहिले व्यक्तिगत कुरा नगरौं, व्यक्तिको विषयमा कुरा गर्दा अलिक हतारो पनि हुन्छ, तर प्रचण्ड कार्यकारी राष्ट्रपति बन्न योग्य हुनुहुन्छ, यदि यो प्रणालीमा भोलि कुनै तरिकाले गयौं भने स्वभाविक रुपमा प्रचण्ड नै सशक्त उम्मेद्धवार हो।’ उनले आगामी पाँच वर्षभित्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने ठोकुवा समेत गरे ।

यद्धपी उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आगामी पाँच वर्षसम्मको लागि भएको उल्लेख गर्दै भने,‘एकता हुँदाखेरि नै हामीबीच सरकार आलोपालो चलाउने सहमति भएको हो, ओलीले अढाई वर्ष प्रधानमन्त्री चलाउने र बाँकी प्रचण्डले चलाउने, यही पाँच वर्षको अवधिभित्रै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था लागु भए प्रचण्ड राष्ट्रपति बन्नुहुन्छ।’

नेता पौडेलले अभियोग लाग्दैमा कोही पनि अपराधी नहुने तर्क गर्दै सहमतिका साथ पारित भएको प्रतिनिधिसभा सञ्चालन नियामावलीले राजनीतिक संस्कारको विकास गरेको स्पष्ट पारे । उनले भने,‘अभियोग लाग्दैमा कसैलाई पनि निलम्बन गर्ने व्यवस्था गरियो भने भोलि यो गलत संस्कार बस्न सक्छ, अभियोग लाग्ने बित्तिकै निलम्बन गर्दै जाने हो भने विरोधीहरु यो खेलमा लाग्नसक्छन्, यसले भोलि विकृति निम्त्याउँन सक्छ।’

जनताका प्रतिनिधिले भोलि गलत गरे भने छुट दिने भन्ने कुरा नहुने उनको तर्क छ । उनले भने,‘अपराधी सांसदहरुलाई बचाउनकै लागि यस्तो व्यवस्था गरिएको होईन, नेपालमा अन्तरवस्तु नबुझीकन विरोध गर्ने प्रचलन छ, यहाँ पनि त्यही भएको हो, खबरदारी गर्नु राम्रै हो तर बुझेर गर्दा अति राम्रो हुन्छ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकोले दुईमध्ये एउटाले पदबाट राजिनामा दिनुपर्ने माग गरेका छन् ।  उनले भने,‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नुहुँदैन, एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन हो, त्यसैले तत्काल एकजनाले राजिनामा दिनुपर्छ, सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ ।’

नेता बडुले संविधानको मुलभूत अन्र्तवस्तु चलाउन नहुने जिकिर गरे । उनले भने,‘अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हामी स्विकार गर्दैनौं, यो संविधानको मुलभूत विषयलाई चलाउन थाल्यौं भने अस्थिरता निम्तिन्छ, यो विषय अहिले प्रवेश गर्ने वेला भएको छैन्।’
प्रतिनिधि सभा सञ्चालन नियामावली दलहरुको बीचमा सहमति भएर नै पारित भएको उनले जनाए । नेता बडुले भने,‘सांसदहरु निलम्बन गर्ने विषय नियामावलीमा राख्ने होईन, त्यसको लागि छुट्टै ऐन बनाउने सहमतिका साथ अहिले निकास खोजिएको हो।’ संविधानको अहिले गलत व्याख्या हुन थालेकोमा चिन्ता व्यक्त सरकारले संविधानको कार्यान्वयनको लागि र अपव्याख्या हुन नदिन चाँडो भन्दा चाँडो कानून ल्याउनुपर्ने उनको जिकिर थियो ।

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले प्रत्यक्ष निर्वाचित तानाशाही आफूहरुले नस्विकार्ने स्पष्ट पारेका छन् । उनले भने,‘हामी संसदीय व्यवस्थामा विश्वास गर्छौं, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो, प्रचण्डले आफ्नो विचार राख्दैमा कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जान सकिँदैन, हामी ईजरायलको जस्तो प्रत्यक्ष निर्वाचित तानाशाही भोग्ने पक्षमा छैनौं ।’

नेता कर्णले सांसदलाई निलम्बन नगर्ने नियामावली राजपाका सांसद रेशमलाल चौधरीको लागि नल्याईएको जिकिर गरे । उनले भने,‘कमन ल सिस्टममा कसैलाई पक्राउ गर्दैमा अपराधी हुँदैन, कसुर प्रमाणित नभएसम्म उ अभियुक्तमात्र हुन्छ, त्यसैले हामीले अदालतले दोषी ठहर नगरेसम्म सांसदलाई अपराधीसरह निलम्बन गर्न हुँदैन भनेर आवाज उठाएको हो।’ प्रतिनिधि सभा सञ्चालन नियामावाली दलहरुबीचको सहमतिमै पारित भएको जानकारी दिँदै नेता कर्णले भने,‘नेपालका नेताहरु एकछिन झगडा गर्छन र अन्तिममा मिल्ने गर्छन यो नै हाम्रो विशेषता हो।’

संविधानमै फरक दल र लिङबाट सभामुख र उपसभामुख हुनुपर्ने भनेर प्रष्ट रुपमा नै किटान गरेकोले अब एउटै पार्टीको सभामुख र उपसभामुख हुन नहुने उनले बताए । उनले भने,‘अहिले एउटै दलबाट सभामुख र उपसभामुख छन्, यो संविधानको व्यवस्था र मर्म विपरित हो, अब दुई मध्ये एकले तत्काल राजिनामा दिएर यस सम्बन्धमा निकास दिलाउनुपर्छ।’ फरक प्रसँगमा उनले आफ्नो पार्टीको संसदीय दलको नेताको निर्वाचन छिट्टै हुने जानकारी दिए । उनले भने,‘संसदीय दलको नेता हुन म पनि योग्य छु, मेरै प्रबल सम्भावना छ, म हुन्छु।’

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ