सरकार एक दलीय सर्बसत्ताबादी शैलीबाट अघि बढ्यो : देउवा
टेकराज अवस्थी,
प्रकाशित २०७५ जेठ २६ शनिबार
346
Shares
डडेल्धुरा । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बर्तमान सरकार एक दलीय सर्बसत्ताबादी शैलीबाट अघि बढेको बताएका छन् । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसका सभापति एवं संसदिय दलका नेता देउवाले बाम गठबन्धन र पार्टी एकताका नाममा सत्तासिन पार्टीको सरकार अधिनायकबाद तर्फ उन्मुख भएको बताएका हुन् ।
मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन पछि पहिलो पटक गृह जिल्ला आईपुगेका सभापति देउवाले नेपाली कांग्रेस डडेल्धुराको जिल्ला सम्मेलनको उद्घाटनको क्रममा उक्त कुरा सुनाए। कार्यक्रममा केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले पनि निर्वाचनमा प्राबिधिक रुपमा हार व्यहोर्नु परे पनि जनताबाट संघिय गणतान्त्रिक संबिधान जारी तथा संबिधानको सफल कार्यान्वयन गरेको पार्टीलाई लोकप्रिय मत दिएको जिकिर गरेका थिए ।
अघिल्लो सरकारले गरेको जनहितकारी निर्णय कार्यान्वयन गर्नुको साटो खारेज गरेकोमा असन्तुष्टि व्यक्त गर्दै नेता कार्यकर्ताले पार्टीलाई बलियो बनाउन सबै एक हुनु पर्ने र सबै तहमा सकारात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशन पनि दिएका छन् । तीन वटै तहको निर्वाचनमा पराजित भएको , पार्टीमा आन्तरिक समस्याहरु बल्झिदै गईरहेकोले समाधान गर्न र प्रदेशको राजधानी पहाडमा घोषणा नगरेको भन्दै कार्यकर्ताहरुले दुखेसो , गुनासो र आक्रोस पनि पोखेका थिए । रासस