मुल्यबृद्धीको विरोधमा नेविसंघको राँके जुलुस, जुलुसमा प्रहरी हस्तक्षेप, विद्यार्थी नेताहरु घाइते
विरोध कार्यक्रम जारी रहने
प्रकाशित २०७५ जेठ २६ शनिबार
400
Shares
काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्यबृद्धीको विरोधमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको विभिन्न स्थानमा राँके जुलुस निकालेको छ।
राँके जुलुस गर्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएपनि नेविसंघले राँके जुलुस निकालेको हो । राँके जुलुस निकाल्ने क्रममा प्रहरीको हस्तक्षेपबाट नेविसंघका टिका भण्डारी र सञ्जिव ढकाल घाइते भएका छन्।
राँके जुलुसमा प्रहरीले लाठी चार्ज गरेको थियो। लाठी चार्जमा परि घाइते भएकाहरुको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य शैलेन्द्र गौडेलले जानकारी दिए।
केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पछिल्लोपटक नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य ३-३ रुपैयाँ वृद्धि गरेकोे थियो ।
हाल पेट्रोलको मूल्य ११३ रुपैयाँ छ। यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ।
पेट्रोलियम पदार्थको मुल्य वृद्धि नहटाएसम्म चरणबद्ध रुपमा आन्दोलन गर्दै जाने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए । नेविसंघले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरेको काफ्लेले बताए।
उपत्यकाको जमल, बागबजार ,मैतिदेबीबाट राँकेजुलुस निकालिएको नेबिसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। भट्टका अनुसार देशका अन्य भागमा पनि स्वतस्फूर्त राँके जुलुस निस्किएको छ।