arrow

माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा नाकाबन्दी !

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
sagarmatha-zone.jpg

ओखलढुंगा । माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा पेट्रोलियम पदार्थ, तथा खाद्यान्नको अभाव सुरु भएको छ । माथिल्लो सगरमाथाका तीन जिल्लालाई सडकमार्ग मार्फत जोड्ने दुईवटा बाटो मध्ये कटारीबाट सोलु, ओखलढुंगा र खोटाङ जोड्ने सिद्धिचरण राजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि समस्या सुरु भएको हो । 

सिद्धिचरण राजमार्ग अन्तरगत उदयपुरको ठाँटीमा ठुलो पहिरो गएपछि बाटो मर्मत भन्दै महिनादेखि सो राजमार्ग बन्द गरिएको छ । यी तीन जिल्लामा यही राजमार्ग हुँदै ठुला सवारी साधन आउने गर्दथे । तर सो राजमार्ग बन्द भएपछि मालबाहक सवारी तीन जिल्लामा पुग्न छोडेका छन् । 

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरी खतिवडाले ओखलढुंगामा पेट्रोलियम पदार्थको अभाव सुरु भएको र कालोवजारी थालिएको बताए । 

उनले सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई राजधानीसंग जोड्ने वीपी राजमार्ग भएपनि वीपी राजमार्गबाट मालबहाक सवारी संचालनमा रोक लगाएपछि तीन जिल्ला समस्यामा परेको बताए । 

उनले सिन्धुलीको बर्दिवासबाट वीपी राजमार्ग हुँदै अधिकांश मालबहाक सवारी माथिल्लो सगरमाथा पुग्ने गरेपनि अहिले सर्वोच्चको आदेश अनुसार रोकिएकाले समस्या भएको बताए । 

 नेपाली कांग्रेस सोलुका सभापति विनोद बस्नेतले बाटो बन्द भएका कारण सोलुमा खाद्यान्न अभाव सुरु भएको भन्दै तत्काल उपाय खोज्न सरकारसंग माग गरे । 

बस्नेतले भने–‘पहिरोका कारण बाटो बन्द हुन्छ भन्ने अनुमान कसैले नगरेका कारण खाद्य सामाग्री स्टक राखिएको थिएन् । अहिले समस्या सुरु भएको छ । सिद्धिचरण राजमार्ग पहिरो कारण बन्द हुने र वीपी राजमार्गमा मालबहाक सवारी चल्न रोकेपछि समस्या सृजना भएको छ । तत्काल सरकारले उपाय खोज्नुपर्छ ।’

उदयपुरको कटारीबाट ओखलढुंगा हुँदै सोलु  र खोटाङमा सडक यातायातले तराईलाई जोडेको छ भने राजधानीसंग वीपी राजमार्गले यी तीन जिल्लालाई जोडेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ