ट्रेड युनियन काँग्रेसको चुनावी महाधिवेशन मंगलबारदेखि, ४४ पदमा भिडन्त
१४०० प्रतिनिधि सहभागी हुँदै, शीर्ष नेताले संवोधन गर्दै
प्रकाशित २०७५ जेठ २८ सोमबार
176
Shares
काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन मंगलबारदेखि काठमाडौँमा हुने भएको छ । चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।
वर्तमान उपाध्यक्ष रमा पौडेलले उम्मेदवार दिए पनि दुई समूहबीच नै कडा प्रतिस्पर्धा हुने देखिएकोे छ । दुवै जनाले आफ्नो समूह घोषणा गरिसकेका छन् । दाहाल समूहबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्ष (खुला) बमबहादुर डिसी, डिपी अर्याल, उपाध्यक्ष (महिला) कल्पना अधिकारी, उपाध्यक्ष (सेवा) शंकर लामिछाने, उपाध्यक्ष (उत्पादन) युवराज लामा, उपाध्यक्ष (अनौपचारिक) नूर महम्मद रैन छन् ।
अध्यक्षका उम्मेदवार दाहालले ट्रेड युनियन काँग्रेसलाई बलियोे बनाउँदै आगामी निर्वाचनमा काँग्रेसको पक्षमा जनमत सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताए ।
अध्यक्षका अर्को उम्मेदवार आचार्यले नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्ने, मजदूरलाई आर्थिकरुपले सबल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि आफ्नो उम्मेदवारी भएको बताए ।
मंगलबारदेखि योगम्बर पार्टी प्यालेसमा शुरु हुने निर्वाचनमा काँग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष दाहालले जानकारी दिए । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।
ट्रेड युनियनको छैटौँ महाधिवेशनमा देशभरका एक हजार ४०० महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन् । रासस