arrow

कुखुराको सुलीबाट विद्युत उत्पादन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ २८ सोमबार
Bayogass-2.jpg

स्याङ्जा ।  कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौतीका रुपमा रहेकामा अब त्यसबाट जैविक मलसँगै ग्यास र विद्युत उत्पादन गरेर स्याङ्जाका एक व्यवसायीले नेपालमै पहिलो उदाहरण प्रस्तुत गरेका छन् ।

पुतलीबजार नगरपालिका–४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले सञ्चालन गरेको तीन हजार ५ सय १० घनमिटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्टबाट ४ सय किलोवाट विद्युत उत्पादनसँगै दैनिक १५ टन जैविक मल उत्पादन हुने गरेको छ । उत्पादित बिजुली पावर प्लान्टमा प्रयोग गरिएकाले प्राधिकरणबाट लिनुपर्ने बाध्यता छैन । कृषि मन्त्रालयले तोकेको मापदण्डअन्तर्गत रहेर मल उत्पादन गरिएको कम्पनीले जानकारी दिएको छ । एग्रो फर्मबाट निस्केको सुलीको व्यस्थापन गर्न र प्लान्टका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न पावर प्लान्ट सञ्चालनमा ल्याएको प्लान्टका प्रबन्ध निर्देशक शोभाकान्त ढकालले बताए । एउटै प्लान्टबाट बायोग्यास, विद्युत र मल उत्पादन गर्ने अत्याधुनिक यो मुलुककै पहिलो प्लान्ट भएको ढकालको दावी छ ।

करीब ३५ रोपनी क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा फिडिङ, ग्यास डाइजेस्टर, फटिलोरी टयाङ्क, बी क्यान्टर निर्माण गरिएको छ । जसबाट मल फिट्ने, ग्यास बनाउने, बिजुली निर्माण, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम सहज भएको छ । झण्डै रु २५ करोडको लगानीमा स्थापना भएको यस प्लान्टबाट दैनिक एक हजार २ सय किलो बायोग्यास, ४ सय किलोवाट विद्युत र १५ टन जैविक मल उत्पादन हुने गरेको छ ।

भीरकोट नगरपालिका–७ मा रहेको खिलुङकालिका कुखुरा फर्मबाट ल्याइएको कुखुराको सुली नै यस बायोग्यासको मुख्य कच्चा पदार्थ हो । यसबाहेक गाईभैँसीको मल र खेर गएका तरकारी र अन्य जैविक पदार्थलाई पनि राख्ने गरिएको बताइएको छ । दुई लाखभन्दा बढी कुखुरा रहेको एग्रो फर्मबाट दैनिक निस्कने १२ टन कुखुराको सुली कच्चा पदार्थको मुख्य स्रोत रहेको प्लान्टलाई चार टन गाईभैँसीको मल र दैनिक करीब दुई टन जैविक पदार्थको मिश्रणपछि तीनथरिका वस्तु उत्पादन भएको ढकालले बताए ।

उद्योगबाट उत्पादन हुने बायोग्यास जर्मनी र जैविक मल चिनियाँ प्रविधिमा तयार गरिएको कम्पनीले जनाएको छ । इन्धनका लागि बाहिरी देशको भर पर्नुपर्ने देशलाई इन्धन व्यवस्थापन गर्न यस्ता कम्पनी सहयोगी बनेको ढकालको भनाइ छ । यस प्लान्टको सफल सञ्चालनपछि तनहुँको डुम्रेमा पाँच लाख कुखुराको फर्म स्थापना गरी त्यसको सुलीबाट योभन्दा पनि निकै ठूलो बायोग्यास प्लान्ट निर्माण गर्ने तयारी गरेको छ ।

कुखुराका सुलीको व्यस्थापनसँगै फर्मका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न प्लान्ट सञ्चालनमा ल्याएको ढकालले बताए । “बढ्दो मलको अभाव र विस्तारै जैविक मलप्रतिको आकर्षण बढ्न थालेकाले बायोग्यासबाट निस्क्ने लेदोलाई ठोस र तरलरुपमा अलग गरी छिट्टै बजारमा बिक्रि वितरणमा ल्याउने छौं” उनले भने  ‘कृषक अर्गानिक मल’को ब्राण्डमा एक, दुई, पाँच र २५ केजीको प्याकेटमा मल बजारमा आउनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ