arrow

विश्वकप फुटबलको उद्घाटनः रुस र साउदी अरेबिया, यस्तो छ समीकरण 

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
russia-saudi-arabia.JPG

काठमाडौं । विहिबारदेखि रुस विश्वकप सुरु हुँदैछ । विश्वकपको सुरुवात आयोजक रुस र साउदी अरेबियाको खेलबाट हुँदैछ राति पौने ९ बजे यी दुई टोलीहरु आमने सामने हुँदैछन् ।

फिफा र्‍याङकिङमा दुवै टिम कमजोर रहेका मुलुकहरु हुन् । फिफा र्‍याङकिङमा रुस ७० औं स्थानमा रहेको छ भने साउदी अरेबिया ६७ औं स्थानमा रहेको छ । 

समूह चरणबाटै बाहिरिने टोलीमा यी दुई टोलीहरु पनि हुन सक्छन् । यो समुहमा उरुग्वे र इजिप्टजस्ता टोलीहरु पनि रहेको कारण यी दुई टोलीले माथिल्लो चरणमा प्रवेश गर्नका लागि चुनौती छ । 

यो खेलको लागि भने रुस र साउदी अरेबियाको बीचमा निकै ठुलो प्रतिस्पर्धा हुनसक्ने देखिन्छ । 

पछिल्लो छ खेलमा जम्मा केवल दुई खेलमा मात्र बराबरीको नतिजा हासिल गरेको छ । घरेलु टोलीको रुपमा यो विश्वकपमा छानिएको टोलीले सन् २०१७ को अक्टोबरयता कुनै पनि जित हासिल गर्न सकेको छैन । 

यद्यपि मैत्रीपूर्ण खेलले मात्र टोलीको समग्र क्षमताको आँकलन भने गर्न सकिँदैन । रुसले सन् २०१७ को कन्फेडेरेसन कपका साथै सन् २०१६ को युरोपियन च्याम्पियन्समा पनि त्यति राम्रो प्रदर्शन गर्न सकेको थिएन । दुवै प्रतियोगितामा उसले समुहचरण पार गर्न सकेको थिएन । 

रुसका प्रशिक्षक स्टानिस्लाभ चेस्केसोभ पनि नतिजाको हिसाबमा कमजोर मानिन्छन् । उनको प्रशिक्षणमा रसियाले कमै मात्र खेलहरुमा जित हासिल गरेको छ । 

सन् २०१८ मा एउटा खेल पनि जित्न नसकेको र अघिल्लो वर्षको कन्फेडेरेसन कपमा पनि राम्रो प्रदर्शन गर्न नसकेको टोलीका लागि विहीबारको खेल जित्नको लागि केही दबाब पनि हुनसक्छ । उद्घाटन खेलमा रुसले ४–२–३–१ को संरचनामा आफ्ना खेलाडीहरु मैदान उतार्न सक्छ । 

साउदी अरेबियाको टोली पनि रुसको तुलनामा धेरै बलियो टोली भने होइन । साउदी अरेबियाको व्यवस्थापनमा पनि केही समयअघि किचलो देखिएको थियो । 

पछिल्लो छ खेलको नतिजा हेर्ने हो भने साउदी अरेबियाको नतिजा रुसभन्दा केही राम्रो छ । उसले चार खेलमा हारको सामना गरेको थियो भने दुई खेल जितेको थियो । उसले जर्मनीसँगको मैत्रीपूर्ण खेलमा पनि २–१ को साँघुरो हारको सामना गरेको थियो । 

साउदी अरेबियाले यो खेलमा ४–१–४–१ को संरचनामा आफ्ना खेलाडीहरु मैदानमा उतार्न सक्छ । 

रुस र साउदी अरेबिया अहिलेसम्म सन् १९९३ मा एकपटक मात्र भिडेका छन् । उक्त मैत्रीपूर्ण खेलमा रुस ४–२ गोलले विजयी भएको थियो । आफ्नै घरमा खेलिरहँदा रुसलाई आफ्नो घरेलु मैदानको केही फाइदा हुनसक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ