arrow

मोरोक्को भर्सेस इरान, हाकिम जियेच चल्लान् कि मोडी टरेमी

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
morocco-iran.jpg

काठमाडौं । विश्वकप फुटबलको समहु बी को पहिलो खेलमा मोरोक्को र इरान भिड्दैछन् । उनीहरुको बीचमा नेपाली समयअनुसार राति ८ः४५ बजे यी दुई टोलीहरुको बीचमा रुसको सेन्ट पिटर्सवर्गमा प्रतिस्पर्धा हुनेछ । यो समुहमा स्पेन र पोर्चुगलजस्ता बलिया दुई टोलीहरु पनि रहेको कारण यो खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ । 

विश्वकपमा २० वर्षपछि आएको मोरोक्कोले आजको खेलमा सकारात्मक नतिजाको लागि पूर्ण योगदान दिनेछ । मोरोक्कोले यसअघि सन् १९९८ को विश्वकपमा भाग लिएको थियो । उक्त विश्वकपको समुहचरणबाटै यो टोली बाहिरिएको थियो । 

यद्यपि अहिले भने यो टोली पूर्ण आत्मविश्वासको साथमा विश्वकपमा आइपुगेको छ । मोरोक्कोले १८ खेलमा अपराजित रहँदै यो यात्रा तय गरेको हो । 

मोरोक्कोले विश्वकप छनोटको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरिसकेको छ । यो उपस्थिति मोरोक्कोको लागि विश्वकपमा छैटौं उपस्थिति हो । मोरोक्कोले एकपटक मात्र समुह चरण पार गरेको छ । उसले सन् १९८६ मा समुहचरण पार गरेको थियो तर अन्तिम १६ मा जर्मनीसँग पराजित भएको थियो । 

विश्वकपमा छनोट भएको आधारमा भन्ने हो भने मोरोक्कोको रक्षापंक्ति सशक्त छ । उसको रक्षापंक्तिलाई पार गर्नु विपक्षी टोलीको लागि एक चुनौती हुनसक्छ । 

युभेन्टसका सेन्टरब्याक मेडी बेनाटिया आजको खेलमा इरानको लागि टाउको दुखाइ बन्नसक्छन् । विश्वकपका खेलहरुमा भने मोरोक्कोले अहिलेसम्म १३ खेल खेलेको छ जसमा उसले दुई खेलमा जित हासिल गर्दा चार खेल बराबरी गरेको छ । साथै सात खेलमा हारको सामना गरेको छ । यद्यपि पछिल्लोसमय मोरोक्कोको टोली राम्रो लयमा देखिएको छ । 

एसियन राष्ट्र इरानको लागि पनि यी खेल महत्वपूर्ण हुनेछ । इरान इतिहासमा पहिलोपटक लगातार दुई विश्वकपका लागि छानिएको टोली हो । इरानको पनि विश्वकप छनोटको खेल हेर्ने हो भने यसले मोरोक्कोलाई राम्रै चुनौती दिनसक्छ । 

एसिया छनोटको क्रममा एक खेल पनि नहारिकन यो टोलीले विश्वकपको लागि स्थान बनाएको हो । छनोटमा कुनै पनि खेल नहारेको इरानले छनोटमा १२ खेलमा जित हासिल गरेको थियो भने छ खेल बराबरीमा सकेको थियो । 

इरानको आक्रामक खेल्ने शैलीलाई रोक्नु मोरोक्कोको अर्को चुनौती हो । म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका क्वेरोजका साथै अलिरेजा जहानबाख्सजस्ता खेलाडीहरुमा इरानको टोली निर्भर हुनेछ । यी खेलाडीहरुले इरानको लागि निकै राम्रो प्रदर्शन गरिरहेका छन् । मोरोक्कोसँगको खेलमा इरानको लागि विश्वकपको इतिहासमा दोस्रो जितको खोजीमा रहनेछ । 

२० वर्षअघि इरानले विश्वकपमा अमेरिकालाई पराजित गरेको थियो । चार वर्षअघि भएको अर्जेन्टिनासँगको खेलमा पनि इरानले निकै राम्रो प्रदर्शन गरेको थियो । अर्जेन्टिनाका लियोनेल मेस्सीले इन्जुरी समयमा गोल गर्दै अर्जेन्टिनालाई कठिन जित दिलाएका थिए । 

हेड टु हेड
उनीहरुको बीचमा अहिलेसम्म भएको खेलमा मोरोक्कोले २८ दशमलव ७ प्रतिशत खेलहरु जितेको छ भने इरानले ३९ दशमलव ९ प्रतिशत खेलहरु आफ्नो पक्षमा पारेको छ । बाँकी ३१ दशमलव ४ प्रतिशत खेलहरु भने बराबरीमा सकिएका छन् । विश्वकपको कुरा गर्ने हो भने अहिलेसम्मको उपस्थितिमा इरानले एक खेल जितेको छ भने मोरोक्कोले दुई खेल जितेको छ । अहिलेसम्म इरानले समुहचरण पार गर्न भने सकेको छैन । 

प्लेयर्स टु वाच 
हाकिम जियेच (मोरोक्को)

मोरोक्कोको आक्रामक मिडफिल्डर हाकिम जियेचको प्रदर्शन आज महत्वपूर्ण हुनसक्छ । उमेरसमुहमा नेदरल्याण्डबाट खेलेका यी खेलाडी अहिले मोरोक्कोबाट राष्ट्रिय टोलीमा अटाएका हुन् । यी खेलाडी विभिन्न योजनाहरु बनाउने र फ्रि किक हान्ने मामिलामा अगाडि छन् । उनलाई रोक्नु इरानको लागि एक चुनौती बन्नसक्छ । 

मोडी टरेमी (इरान)
मोरोक्कोको लागि टाउको दुखाइ बन्नसक्ने खेलाडी हुन्–मोडी टरेमी । इरानका फरवार्डको प्रदर्शन पछिल्लो समय निकै राम्रो रहँदै आएको छ । यी खेलाडीले इरानको लिगमा सबैभन्दा बढी गोल गरेका थिए । उनी कुनै पनि पस्थितिमा पनि टोलीलाई आत्मविश्वास जगाउनसक्ने खेलाडीको रुपमा चिनिन्छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ