इस्लाम धर्मावलम्बीहरुको महान् पर्व 'इदुल फित्र' शनिवार
प्रकाशित २०७५ असार १ शुक्रबार
203
Shares
विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र मुस्लिमहरुले भोलि मनाउने भएका छन् । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरुले जेठ ३ गतेदेखि रोजा (व्रत) शुरु गरेका थिए । यसलाई रमजान पनि भनिन्छ ।
पर्व धुमधामसँग मनाउन इस्लाम धर्मावलम्बीहरुले सम्पूर्ण तयारी गरिसकेका छन् । रमजान महिनामा मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने गरिन्छ । पर्वको मुख्य दिन भोलि मुसलमानहरुले इदगाहमा गएर सामूहिकरुपमा नमाज पढ्नुका साथै प्रार्थना गरेर एकापसमा शुभकामना एवं सटासाट गर्दछन् ।
सो अबसरमा मुसलमानहरुले फित्तरा, जकातका साथै सिधका र हदिया पनि निकाल्ने गर्छन् । फित्तरा जनही एक किलो ७५० ग्राम गहुँको मूल्य बराबर निकाल्नु पर्छ भने जकात सम्पत्ति शुद्धीकरणका लागि सयकडा अढाइ प्रतिशत निकाल्नु पर्छ । यो संकलित रकम यो समुदायले विपन्न परिवार तथा मदर्शा (पाठशाला) मा वितरण प्रदान गरिन्छ ।
रोजा, नमाज, जकात, हज र फित्तरा यी पाँच पाँच आधारभूत कुरा मुसलमानहरुका लागि महत्वपूर्ण भएकाले हजबाहेकका अन्य सबै यस महिनामा प्राप्त हुने गर्छन् । रोजा पर्व एक कठिन व्रत भए पनि ११ वर्षदेखि माथिका सबैलाई अनिवार्य गरिए पनि बिरामी, गर्भवती महिला र अशक्त नागरिकलाई अनिवार्य गरिएको छैन ।
रमजान महिनामा रोजा बस्नु आफू गौरवान्वित भएको सुनसरी चाँदबेला निवासी १४ वर्षीय मोहम्मद अर्ज अली बताउछन् । जस्तोसुकै कठिन अबस्थामा पनि धर्मले अह्राएकाले यो हाम्रो लागि सरल छ र यही कारणले अल्लाहबाट दया प्राप्त हुने विश्वास उनको छ ।
विराटनगर रानी निवासी हाजी डा अविद हुसेनले आफू मुटुको रोगी भए पनि रोजालाई नकार्न नसकेर यस्तो प्रचण्ड गर्मीमा पनि रोजा बसेको छु भने। रोजा बस्नु हाम्रो लागि ठूलो धर्म हो हाजी हुसेनको प्रतिक्रिया छ ।
अल्लाहले सिर्जना गरेको सबै प्रकृतिको स्वाद लिन मुसलमानहरुको रमजान तथा अन्य पर्व पनि प्रत्येक वर्ष १० दिन सर्ने गरेको छ । गएको वर्षमा असार १४ गते इदुलफित्र पर्व परेको थियो भने यस वर्ष तिथि घटबढले गर्दा भोलि शनिबार परेको हो । उक्त पर्वका लागि मुस्लिम समुदाय हर्षोल्लासका साथ बजारमा खानेकुरा खरिद गर्न व्यस्त देखिएका छन् । यो पर्वमा सेवई, बिरयानी, पुलाउजस्ता परिकार खाने चलन छ ।
इदमा सबै रिसराग बिर्सेर एक अर्कालाई अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यो पर्व आपसी सद्भाव र सहिष्णुताको प्रतीक रहेको इस्लाम धर्म परम्पराका ज्ञाता भङ्गाहा–४ रामनगरका ७५ वर्षीय हाजी बिहारी अन्सारीको भनाइ छ ।