arrow

मेस्सीलाई ह्याट्रिक गर्न पो पर्यो दबाब, अर्जेन्टिना भिड्दै आइसल्याण्डसंग 

logo
प्रकाशित २०७५ असार २ शनिबार
argentina-iceland.jpg

काठमाडौं । विश्वकप फुटबलमा प्रतिस्पर्धी खेलाडी क्रिष्टियानो रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेपछि अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीलाई पनि दबाब बढेको छ । अर्जेन्टिनाले समूह डी को पहिलो खेलमा आइसल्याण्डसंग खेल्दैछ । खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । 

समुह डी को लागि अर्जेन्टिना बलियो टोली हो । यो समुहबाट यो टोली पहिलो हुने आँकलन गरिएको छ । अर्जेन्टिना सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको टोली हो । यद्यपि यो विश्वकप छनोटमा भने अर्जेन्टिनाले राम्रो प्रदर्शन गर्न सकेको थिएन । अर्जेन्टिनाको लागि यो विश्वकपमा छनोट नहुने खतरा पनि बढेको थियो । 

लियोनल मेस्सीमा धेरै हदसम्म निर्भर रहेको यो टोलीले पछिल्लो १८ खेलमा केवल १९ गोलमात्र गरेको थियो । पूर्व विश्वविजेता टोली यसपटक पनि विश्वकपको उपाधि हात पार्ने दाउका साथमा रुस आएको हो । 

यो टोलीका लागि समुह चरणमा राम्रो खेल्नुपर्ने चुनौती रहनेछ । यो समुहका अन्य टोलीहरु पनि त्यति धेरै नराम्रा छैनन् । जसको कारण अर्जेन्टिनाको लागि दबाब बढेको हो । 

आइसल्याण्डले यो विश्वकपमा सबैलाई चकित पार्ने प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ । यो टोलीले पहिलोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो । 

यो मुलुक विश्वकपमा पुग्ने सबैभन्दा कम जनसंख्या भएको मुलुक हो । सन् २०१६ मा फ्रान्समा भएको युरो प्रतियोगितामा आइसल्याण्डले चाखलाग्दो प्रदर्शन गरेको थियो । 

सबैभन्दा चुनौतीपूर्ण रहेको समुहमा परेर पनि यो टोलीले रुसउ विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो । जसमा पनि यो टोली समुहको सबैभन्दा माथि रहेको थियो । आइसल्याण्डले पछिल्लो १० खेलमा सात जित हासिल गरेको थियो । 

आइसल्याण्डको विश्वकपमा छनोट भएयताको प्रदर्शन भने राम्रो रहनसकेको छैन । यस वर्षमात्र आइसल्याण्ड मेक्सिको, पेरु र नर्वेसँग पराजित भएको थियो । घानासँग पनि उसले २–२ को बराबरी भएको थियो । आइसल्याण्डको लागि माथिल्लो चरणमा प्रवेश गर्नको लागि आजको खेलमा अर्जेन्टिनालाई रोक्नु निकै महत्वपूर्ण हुनेछ ।

हेड टु हेड 
यो खेलमा आइसल्याण्ड र अर्जेन्टिनाको बीचमा पहिलोपटक भेट हुन लागेको हो । यसअघि यी दुई टोलीहरु अन्तर्राष्ट्रिय खेलमा भिडेका छैनन् । 

प्लेयर्स टु वाच 

म्यक्सिमिलियानो मेजा (अर्जेन्टिना) 
अजेन्टिनाको लागि शनिबार मिडफिल्डमा म्यक्सिमिलियानो मेजाको भूमिका निकै महत्वपूर्ण हुन सक्छ । अजेन्टिनाका २५ वर्षीय यी खेलाडीमा विपक्षीलाई दबाबमा राख्नसक्ने क्षमता छ । उनले अर्जेन्टिनाको लागि पछिल्लो समय राम्रो प्रदर्शन पनि गर्दै आएका छन् । 

जोन वर्ग गुमण्डसन (आइसल्याण्ड)
यो खेलमा आइसल्याण्डका रक्षापंक्तिका खेलाडी जोन वर्ग गुमण्डसनको भूमिका निकै महत्वपूर्ण हुने देखिन्छ । पछिल्लो खेलहरुमा उनीहरुको भूमिका निकै महत्वपूर्ण रहेको देखिन्छ । अर्जेन्टिनालाई रोक्न उनको भूमिका आजको खेलमा महत्वपूर्ण हुनसक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ