arrow

यसकारण खराब इतिहासबाट बच्न सकेन जर्मनी

logo
प्रकाशित २०७५ असार ४ सोमबार
germany3.jpg

काठमाडौं । आइतबार राति भएको खेलमा पूर्व विश्वविजेता जर्मनीले मेक्सिकोसँग १–० गोल अन्तरको हारको सामना गरेको छ । मेक्सिकोको लागि आइतबारको खेल ऐतिहासिक हो ।

इतिहास तथा पछिल्लो प्रदर्शनको आधारमा जर्मनीले सहजै जित्ने अनुमान गरिएको भए पनि मेक्सिकोले जर्मनीको चुनौतीलाई पार लगाएको हो । समुह एफको पहिलो खेलमा आइतबार जर्मनीले केही राम्रो प्रदर्शन गरेको भए पनि हारबाट बच्न भने सकेन ।

खेलको पहिलो हाफमा मेक्सिकोले गरेको राम्रो प्रदर्शन नै खेलको निर्णायक बन्न पुग्यो । सुरुवातदेखि नै जर्मनी खेलमा हावी हुने अनुमान गरिएको भए पनि पहिलो हाफमा मेक्सिकोले जर्मनीलाई दबाबमा राखेको थियो ।

पहिलो हाफमा दुवै टोली निकै आक्रामकरुपमा प्रस्तुत भएका थिए । खेलको ३५ औं मिनेटमा मेक्सिकोका हार्भिङ लोजानोले गरेको गोल नै खेलको टर्निङ प्वाइन्ट बन्न पुग्यो । मेक्सिकोले पहिलो हाफमा केही अन्य राम्रा अवसरहरु पनि बुनेको थियो ।

जर्मनीले पनि गोल गर्ने केही सुनौला अवसरहरुको सदुपयोग गर्न सकेन । खेलको पहिलो हाफमा जर्मनीका खेलाडीहरुको बीचमा तालमेलको पनि केही अभाव देखिएको थियो । खेलको दोस्रो हाफमा जर्मनी आक्रामक रुपमा प्रस्तुत भए पनि मेक्सिकोको डिफेन्सको अगाडि जर्मनीको केही लागेन ।

मेक्सिकोका गोलरक्षकले केही उत्कृष्ट बचाउ गरेका थिए । दोस्रो हाफमा जर्मनीले मेक्सिकोमाथि दबाब बनाएको थियो तर गोल भने गर्न सकेन । जर्मनीले नौ पटक पोस्टमा आक्रमण गरेको थियो । त्यसमा दुई पटक जर्मनीको प्रहार पोस्टको बारमा लागेर बाहिरिएको थियो ।

जर्मनीले खेलमा ६७ प्रतिशत समय आफ्नो पक्षमा राखेको थियो तर त्यसले हार्न टार्न भने सकेन । सन् २००६ को विश्वविजेता इटालीले २०१० को विश्वकपको पहिलो खेल हारेको थियो, त्यसैगरी २०१० को विश्वविजेता स्पेनले २०१४ को पहिलो खेल हारेको थियो । यो इतिहासबाट जर्मनी पनि अछुतो रहन सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ