- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इजिप्टका स्ट्राइकर मोहम्मद सलाह मंगलबार राति हुने रसियासँगको खेलमा खेल्ने भएका छन् । समुह 'ए' मा रहेको टोलीका प्रमुख स्ट्राइकरले पहिलो खेलमा भने उरुग्वेसँग खेलेका थिएनन् ।
पहिलो खेलका लागि नै सलाह फिट रहेको बताइएको भए पनि उनलाई पहिलो खेलमा उतारिएको थिएन । जसको कारण इजिप्ट उरुग्वेसँग १–० ले पराजित हुन पुगेको थियो ।
अघिल्लो महिनामा भएको च्याम्पियन्स लिगको फाइनलमा काँधको चोटको सामना गरेसँगै उनको यो विश्वकपको यात्रा अन्योल बनेको थियो । २६ औं वर्षमा प्रवेश गरेका सलाह अहिले टोलीका अन्य टोलीहरुसँग प्रशिक्षण लिइरहेका छन् । शनिबार पनि उनले केही अभ्यास गरेका थिए । पहिलो खेलमा साउदी अरेबियालाई ५–० ले पराजित गरेको रसियालाई पार लगाउनु इजिप्टको लागि चुनौतीका साथै माथिल्लो चरणमा पुग्नका लागि निकै महत्वपूर्ण पनि रहनेछ ।
इजिप्टका अधिकारीहरुले अब सलाह पूर्णरुपमा फिट भएको र खेलको लागि तयार रहेको जानकारी दिएका हुन् । अधिकारीहरुले उरुग्वेको खेलमा सलाहले खेल्ने रुचि नदेखाएको कारण उनलाई बेन्चमै राखिएको बताएका छन् । रसियासँगको खेल भने टोलीका लागि निकै महत्वपूर्ण रहेको कारण उनले यो खेल खेल्ने उनीहरुले बताएका हुन् ।
इजिप्टलाई रसियासँगको खेलमा माथिल्लो चरणमा पुग्ने आशा कायम राख्नका लागि कम्तीमा एक अंक हासिल गर्नु जरुरी हुनेछ । (एजेन्सी)