ओलीले संसदबाटै दिए चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तत्काल नहुने संकेत
'मोदीले मुक्तिनाथको फोटो ट्वीट गर्नु र ओलीले सीको भ्रमणबारे नबोल्नु संयोग’
प्रकाशित २०७५ असार ४ सोमबार
283
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले मंगलबारबाट गर्ने उत्तरी छिमेकी चीन भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले तिब्बत हुँदादेखि नयाँ चीन स्थापनाबाट सुरु भएको सम्बन्धबारे मात्रै जानकारी गराएनन् । आफुले चिनियाँ समकक्षी ली खछ्याङ र राष्ट्रपति सीसँगको भेटमा राख्ने एजेण्डाहरु सारमा सुनाए।
तर, उनले चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे भने केही बोलेनन् । परराष्ट्रविद्हरु चिनियाँ राष्ट्रपतिको भ्रमण मूल एजेण्डा हुनु पर्दथ्यो भनिरहेका छन् । तर, प्रधानमन्त्री ओलीले केही दिन अघि सार्वजनिक गरेका २७ बुँदामा पनि त्यो परेन । संसदलाई जानकारी गराउँदा पनि उनले त्यसबारे केही उल्लेख गरेनन् । प्रधानमन्त्री ओलीले भ्रमणका दौरान पर्यटन क्षेत्रमा हुने सहयोगमा बढी जोड दिने भन्नै धेरै पटक पर्यटन शब्द उच्चारण गरे ।
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको भ्रमणकाे विषय सम्बाेधनका क्रमममा जोडे । र, उनले ठूलो जनसंख्या भएका र ठूलो क्रयशक्ति भएका दुई मूलुकहरु उत्तर र दक्षिणमा छन्, त्यसबाट पारस्परिक फाइदा लिनसक्नु पर्छ, भने । उनको यो कुटनीतिक भाषाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र चीनबाट लुम्बिनीसम्म रेल पुग्ने कुरा पेन्डिङ भएको ठहर्छ । कुरा अर्को पनि छ, उनले चीन भ्रमणबारे बाहिर भन्न चाहेका पनि हुन सक्छन्।
तर, चिनियाँ राष्ट्रपतिको भ्रमण सजिलो छैन भन्नेमा भने प्रधानमन्त्री ओली पूर्ण जानकार छन् । उनले वक्तव्यको अन्तिम खण्डमा ‘हामीले चीनका संवेनदनशीलता बुझेका छौँ । एक चीन नीतिमा दृढ छौँ । चीनविरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि हुन दिँदैनौँ ।’ अन्तर्राष्ट्रिय अरु चासोहरु पनि छन्, घुमाउरो भाषामा उनले भने, ‘ति चासो मध्येका जायज चासोहरुप्रति हामी संवेदनशील छौँ ।’
अन्तिममा उनले चीन भ्रमणमा हुने सबै सम्झौता मुलुकको वृहत्तर हित, नेपालको स्वाभीमानलाई ध्यानमा राखेर आजको आवश्यकता अनुसार हुन्छ भने । उनले त्यति मात्रै भनेनन्, ‘सर्वोपरी कुरा राष्ट्रिय हित र स्वाभीमान हो । यसलाई अक्षुण्ण राख्ने काम हुन्छ ।’ चीन नेपाली भूमिबाट हुने चीनविरोधी गतिविधिको स्थायी समाधान चाहन्छ । त्यसका लागि सरकारी सयन्त्र बनेपछिमात्रै विश्वस्त हुन्छ र सीकाे नेपाल भ्रमणबारे सकारात्मक हुन्छ भन्ने कुरामा ओली अहिले आएर मात्रै स्पष्ट भएका छन् ।
अघिल्लो सरकारका पालामा चिनियाँ राष्ट्रपतिको भ्रमणको कुरा निकै बेचेका ओली अहिले निकै गम्भीर देखिएका छन् । पहिले भाषणमा पनि कुरा निकालिहाल्ने ओली भारतीय प्रधानमन्त्रीको जनकपुर र मुक्तिनाथ भ्रमणपछि निकै सावधान भएका छन् । अर्कोतिर, उनको चीन भ्रमणको पूर्व सन्ध्यामा भारतीय प्रधानमन्त्रीले ट्वीटरमा मुक्तिनाथको फोटो राखेर घुमाउरो ढंगले उनलाई सम्झाएका छन् । मोदीले ट्वीटरमा मुक्तिनाथको फोटो राख्नु र ओलीले संसदमा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे उल्लेख नगर्नु संयोग परेको छ ।
दक्षिणतिरको दबाबका कारण लुम्बिनीसम्म चिनियाँ रेल नआउने कुरा चल्नु र प्रधानमन्त्रीले राष्ट्रपति सीको भ्रमणबारे कुरा नगर्नुले शंका उब्जिएको जानकारहरुले बताएका छन् । केही दिन पहिले परराष्ट्रविद् डा. जयराज आचार्यले चीनले आफ्नो एउटै स्वार्थमा मात्रै लुम्बिनीसम्म रेल ल्याउँछ, भनेका थिए ।
आचार्यका अनुसार चीनले ल्याएको प्रस्ताव जस्ताको त्यस्तै स्वीकारे मात्रै लुम्बिनीसम्म रेल ल्याईदिन्छ । नभए हामीले ब्रिक्स अर्थात् उसले भनेका बैंकबाट ऋण लिएर बनाउनु पर्ने हुन्छ, उनले अगाडि भनेका थिए, ‘त्यो चर्को ऋणमा हामीले रेल ल्याउनु त्यति सहज छैन । धेरै ऋण लिए मुलुक टाट पल्टिन्छ ।’ स्वभाबैले चीनबाट रेल ल्याउनु चुनौती पूर्ण छ । उनी भन्छन्, ‘९० प्रतिशत पुल वा टनेल बनाएर ल्याउनु पर्ने छ ।
संसदमा ओली सम्हालिएर बोलेको देख्दा सांसदहरु एकोहोरो हेरिरहे । उनी अन्य समयको भन्दा त्यति धेरे उछालिएनन् । रेलको कुरा गर्दा लुम्बिनीको नाम लिएनन् । अनि केरुङ–काठमाडौं पनि उच्चारण गरेनन्। चलाखिपूर्वक सिलसिलेवार सार संक्षेपमा उनले भ्रमणबारेको जानकारी सदनलाई दिए ।