- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकप पहिलो खेलमा उरुग्वेसँग १–० ले हारेको टोली इजिप्टले आफ्नो दोस्रो खेलमा मंगलबार आयोजक रुसको सामना गर्दैछ । नेपाली समयअनुसार मंगलबार राति पौने १२ बजे सुरु हुनेछ । सन् १९९० यता पहिलोपटक कुनै ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको टोलीका लागि मंगलबार हुने खेल जित्नु निकै महत्वपूर्ण हुनेछ । यो खेल गुमाएको खण्डमा उसको माथिल्लो चरणमा पुग्ने सम्भावना लगभग समाप्त हुनेछ ।
इजिप्टका मोहम्मद सलाहको भरमा यो टोली विश्वकपका लागि छानिएको हो । लिभरपुलका स्ट्राइकर अहिले काँधको चोटबाट भर्खरै मात्र ठीक भएको कारण उनले पहिलो खेलमा बेन्चमै बसेका थिए । इजिप्टको लागि सलाह एक्लै कुनै पनि ठुलो टोलीलाई स्तब्ध बनाउन सक्ने खेलाडी हुन् ।
यद्यपि यो टोली अफ्रिकाबाट युगाण्डा, घाना र कंगोसहितको टोलीबाट पहिलो भएर विश्वकपका लागि छानिएको हो । पछिल्लो छ खेलमा कुनै पनि जित हासिल गर्न नसकेको भए पनि यो टोलीको पोर्चुगलसँगको २–१ गोल अन्तरको जित र कोलम्बियासँगको बराबरीले भने धेरैलाई प्रभावित बनाएको थियो ।
मंगलबार मैदानमा उत्रिँदा रसियासँग केही आत्मविश्वास हुनेछ । यो टोली फिफा र्याकिङमा ७० औं स्थानमा रहेको छ । पछिल्लो छ खेलमा जम्मा केवल दुई खेलमा मात्र बराबरीको नतिजा हासिल गरेको छ । घरेलु टोलीको रुपमा यो विश्वकपमा छानिएको टोलीले सन् २०१७ को अक्टोबरयता कुनै पनि जित हासिल गर्न नसकेकोमा साउदी अरेबियालाई भने ५–० को फराकिलो जित हासिल गरेको थियो ।
रुसले सन् २०१७ को कन्फेडेरेसन कपका साथै सन् २०१६ को युरोपियन च्याम्पियन्समा पनि त्यति राम्रो प्रदर्शन गर्न सकेको थिएन । दुवै प्रतियोगितामा उसले समुहचरण पार गर्न सकेको थिएन । रुसका प्रशिक्षक स्टानिस्लाभ चेस्केसोभ पनि नतिजाको हिसाबमा कमजोर मानिन्छन् । उनको प्रशिक्षणमा रसियाले कमै मात्र खेलहरुमा जित हासिल गरेको छ ।
सन् २०१८ मा एउटा खेल पनि जित्न नसकेको र अघिल्लो वर्षको कन्फेडेरेसन कपमा पनि राम्रो प्रदर्शन गर्न नसकेको टोलीका लागि मंगलबारको खेलमा घरेलु समर्थकको फाइदा पनि रहनेछ ।
हेड टु हेड
इजिप्ट र रसियासँग अहिलेसम्म कुनै पनि प्रतिस्पर्धा भएको छैन । उनीहरुको लागि मंगलबारको खेल पहिलो हुनेछ । अहिलेसम्म रसियाले कुनै पनि अफ्रिकी मुलुकसँग हारेको छैन भने इजिप्टले कुनै पनि युरोपियन प्रतिस्पर्धीसँग जित हासिल गर्न सकेको छैन ।
प्लेयर्स टु वाच
अलेक्जेन्डर गालोभिन (रसिया)
रसियाका २२ वर्षीय खेलाडी गालोभिन मंगलबारको खेलमा इजिप्टको विरुद्ध टोलीको महत्वपूर्ण हतियार बन्न सक्छन् । पछिल्लो केही समययता उनले रसियासँग निकै राम्रो प्रदर्शन गर्दै आएका छन् । निकै क्षमतावान् र नयाँ योजनाहरुको प्रयोग गर्नमा माहिर यी खेलाडीले फ्रि किक पनि राम्रो प्रहार गर्न सक्छन् ।
मोहम्मद सलाह (इजिप्ट)
पहिलो खेलमा बेन्चमा बसेका यी खेलाडीको भरमा इजिप्ट यो अवस्थामा पुगेको हो । लिभरपुलबाट व्यावसायिक फुटबल खेलिरहेका यी खेलाडी गत महिना च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका थिए । उनले यो सिजनमा लिभरपुलबाट ४४ गोल गरेका थिए । इजिप्टको खेल जिताउनका लागि सलाहको भूमिका मंगलबारको खेलमा महत्वपूर्ण हुनेछ ।