चीनमा रेलकाे चर्चा भित्रभित्रै, ७ वर्षमा काठमाडौंमा रेल गुडेकै देखिने !
रेलकाे सम्झाैता विहिबार
प्रकाशित २०७५ असार ६ बुधबार
475
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको ६ दिने औपचारिक भ्रमणमा छन् । मंगलबार चीन गएका उनी बुधबार विहानबाटै भेटघाटमा व्यस्त भए । भेटघाट पनि उच्चस्तरीय ।
उनले नेपाली दूतावासमा आयोजित कार्यक्रममा विभन्न परियोजना निर्माणका लागि सम्झौता गरेको मात्रै हेरेनन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एक्ला एक्लै र प्रतिनिधिमण्डलस्तरीय भेट गरे । उनले राष्ट्रपति सीसँग एक्ला एक्लै वातमारेका कुरा बाहिर आएका छैनन् । भ्रमण दलमा सहभागि एक सदस्यले भने, ‘एक्ला एक्लै भेटको कुरा कि ओलीले खोल्लान् । कि सी’ले बोल्लान् । बाहिर बसेर अनुमान लगाउनु उपयुक्त हुँदैन । संयुक्त वक्तव्यमा पनि ति कुरा आउन सक्लान् ।’ २० मिनेट भएको एक्ला एक्लै वार्ताको कुरा कुनै न कुनै रुपमा आउला नै ।
तर, ४५–५० मिनेट भएको प्रतिनिधिसहितको वार्तामा धेरै कुराहरु भएका छन् । त्यसमध्येमा पनि रसुवागढी–केरुङ प्रसारण लाइन निर्माणको सम्झौता नयाँ र महत्वपूर्ण भनिएको छ । यस्तै, विभिन्न नीजि क्षेत्रसंग भएका सम्झौताले निजी क्षेत्रसँगको सहकार्यका लागि दीर्घकालीन आधार तयार हुन लागेको रुपमा लिनु पर्ने भ्रमणमा सहभागि ति सदस्यले बताए ।
उनकै अनुसार केरुङ–रसुवागढी–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनको प्रारम्भिक सम्झौता विहिबार हुनेछ । विहिबार प्रधानमन्त्री केपी ओलीको भेट चिनियाँ समकक्षी ली खछ्याङ्सँग हुँदैछ । खछ्याङकै निमन्त्रणामा ओली चीन पुगेका हुन् । भ्रमणमा डाक्ने लीसँग प्रधानमन्त्री ओलीको महत्वपूर्ण छलफल हुनेछ ।
केरुङ–रसुवागढी–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली नेपाल आएर पनि फर्किएको छ । अहिले पनि फिल्डमा अध्ययन भईरहेको छ । अब निर्माणकै सम्भाव्यता अध्ययनका लागि एमओयु हुनेछ । चीन भ्रमणमा यो पनि सुनिएको छ, ‘रेलमार्ग निर्माणका लागि डेढ वर्षभित्रमा विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पार्ने र अबको ६–७ वर्षभित्रमा काठमाडौँमा रेल ल्याईसक्ने ।’
यद्यपि, यो कुरा विहिबारको वार्ता तथा छलफलपछि अझ परिपक्व हुने बताइएको छ । गएको जेठमा लगानी बोर्डको बैठकले रेलमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन चीन सरकारसँग द्वीपक्षीय छलफल गर्ने निर्णय गरेको थियो । अहिले लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी समेत प्रधानमन्त्रीको भ्रमण दलमै छन्