arrow

क्रोएसिया विरुद्ध अर्जेन्टिना जिताउन मेस्सीलाई दबाब, यस्तो छ तयारी

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
messi-andrej.png

काठमाडौं । विहीबार समुह 'डी' का दुई टोलीहरु अर्जेन्टिना र क्रोएसियाको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार विहीबार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । आजको खेलमा पहिलो खेलमा आइसल्याण्डसँग बराबरी खेलेको अर्जेन्टिना केही दबाबमा रहँदा नाइजेरियालाई २–० गोलले पराजित गरेको क्रोएसिया उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ ।

समुह 'डी' को लागि अर्जेन्टिना बलियो टोली हो । यो समुहबाट यो टोली पहिलो हुने आँकलन गरिएको छ । अर्जेन्टिना सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको टोली हो । यद्यपि यो विश्वकप छनोटमा भने अर्जे्न्टिनाले राम्रो प्रदर्शन गर्न सकेको थिएन । अर्जेन्टिनाको लागि यो विश्वकपमा छनोट नहुने खतरा पनि बढेको थियो ।

लियोनल मेस्सीमा धेरै हदसम्म निर्भर रहेको यो टोलीले पछिल्लो १८ खेलमा केवल १९ गोलमात्र गरेको थियो । पूर्व विश्वविजेता टोली यसपटक पनि विश्वकपको उपाधि हात पार्ने दाउका साथमा रुस आएको हो । यो टोलीका लागि समुह चरणमा राम्रो खेल्नुपर्ने चुनौती रहनेछ । जसको कारण अर्जेन्टिनाको लागि दबाब बढेको हो । समुहमा तीन अंकसहित शीर्षस्थानमा रहेको टोलीलाई हराउनु विहीबारको अर्जेन्टिनाको चुनौती हुनेछ ।

क्रोएसिया पनि यो समुहको बलियो टोली हो । युरोपियन टोली नाइजेरियासँगको २–० को जितले बलियो आत्मविश्वासका साथमा मैदानमा उत्रिनेछ । यसपटक यो टोली निकै बलियो अवस्थामा पनि रहेको छ । सुरुवाती खेलमा तीन अंक हासिल गरेको टोली सन् १९९८ पछि पहिलोपटक नकआउट चरणमा प्रवेश गर्ने संघारमा रहेको छ ।

२० वर्षअघि सेमिफाइनलसम्म पुगेको यो टोलीले सन् २००२ मा इटालीलाई पराजित गरेको थियो । त्यसैले क्रोएसियालाई हराउनु कुनै पनि टोलीका लागि त्यति सजिलो भने हुनेछैन ।

हेड टु हेड
अहिलेसम्म क्रोएसिया र अर्जेन्टिनाको बीचमा चारपटक भेट भएको छ । जसमा अर्जेन्टिनाले दुईपटक जित हासिल गरेको छ भने क्रोएसिया एकपटक विजयी भएको छ । सन् २०१४ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई २–१ले पराजित गरेको थियो ।

प्लेयर्स टु वाच
एडुअर्डो साल्भिओ (अर्जेन्टिना)

आइसल्याण्डको खेलमा अर्जेन्टिनाका साल्भिओले जति बल आफ्नो पक्षमा कुनै पनि खेलाडीले राख्न सकेनन् । अर्जेन्टिनाका रक्षापंक्तिका यी खेलाडी विहीबारको खेलमा क्रोएसियाविरुद्ध महत्वपूर्ण हतियार बन्न सक्छन् ।

अन्द्रेज क्रामारिक (क्रोएसिया)
नाइजेरियाविरुद्ध १० नम्बरमा खेलेका खेलाडीले विहीबार पनि सोही संरचनामा खेल खेलाएको अवस्थामा उनको भूमिका महत्वपूर्ण हुन सक्छ । युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका यी खेलाडीको आक्रमण गर्ने शैली निकै चाखलाग्दो रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ