arrow

ब्राजिललाई रोकेको स्विट्जरल्याण्ड र कोस्टरिका हराएको सर्विया : कसले मार्ला बाजी ?

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
swizerland-serbia.png

काठमाडौं । शुक्रबार विश्वकपमा समुह ई अन्तर्गतको स्विट्जरल्याण्ड र सर्वियाको बीचमा प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा कोस्टरिका विरुद्ध १-० को जित हासिल गरेको सर्विया स्विट्जरल्याण्डको विरुद्धमा जित हासिल गर्दै माथिल्लो चरण पक्का गर्ने दाउमा रहँदा स्विट्जरल्याण्ड पनि जित हासिल गर्दै माथिल्लो चरणमा पुग्ने आशा कायम राख्ने ध्यानमा हुनेछ ।

पहिलो खेलमा केवल एक अंक पाएको स्विट्जरल्याण्डको लागि माथिल्लो चरणमा पुग्न शुक्रबारको खेल निकै महत्वपूर्ण हुनेछ । स्विट्जरल्याण्डको टोली पनि सन्तुलित अवस्थामा नै रहेको छ । ब्राजिलजस्तो टोलीसँग बराबरीको नतिजा हासिल गर्नु पनि उसको लागि सम्मानको कुरा रहेको कारण आत्मविश्वासको हिसाबमा स्विट्जरल्याण्ड बलियो अवस्थामा देखिन्छ ।

छनोटयता स्विट्जरल्याण्डले अहिलेसम्म तीन खेल जितेको छ भने एक खेल बराबरी खेलेको थियो । यससँगै उसले छ खेलमा अपराजित हुने नतिजा कायम गरेको थियो । यो क्रममा उसले स्पेनसँगको बराबरीमा एक गोल मात्र खाएको थियो । यो टोलीलाई धेरै गोल गर्न नसकेको भन्दै आलोचना पनि हुने गरेको छ । यसले भने उसको लागि खेल जित्नमा समस्या उत्पन्न गर्न सक्छ । शुक्रबारको खेलमा बराबरीको नतिजा मात्र हासिल गरेको खण्डमा पनि स्विट्जरल्याण्ड समुहकको अन्तिम खेलमा दबाबमा देखिनेछ ।

सर्बियाले ८ वर्षपछि यो विश्वकपमा पुनरागमन गरेको हो । सर्बिया युरोपेली छनोट प्रतियोगितामा वेल्स, आयरल्यान्ड, अस्ट्रिया, जर्जिया र मोल्डोभाजस्ता बलिया टोली सम्मिलित समूह ‘डी’ बाट छानिएको हो । यस पटकको विश्वकपमा कोस्टारिकालाई हराउँदै सुखद नतिजा हासिल गरेको टोली राम्रो लयमा देखिन्छ । यसपटकको विश्वकपमा सर्वियाको व्यवस्थापनमा केही समस्या देखिएको थियो । त्यसको बाबजुद पनि उसले राम्रो प्रदर्शन गरिरहेको छ ।

इतिहासको कुरा गर्ने हो भने सर्विया कमजोर टोली भने होइन । सन् १९३० को पहिलो विश्वकपमै सर्बियाले खेलेको थियो । तर त्यतिबेला युगोस्लाभियाको नामबाट खेलेको थियो । सर्बियाको नाममा भने पहिलो पटक २०१० को विश्वकप खेलेको हो । सर्बियाको नाममा पहिलो पटक सहभागिता जनाउँदा समूह चरण खेलेर घर फर्किएको थियो । २००६ मा स्वतन्त्र राष्ट्रको हैसियत बनाएको सर्बियाले विश्वकप खेल्न लागेको यो दोस्रो पटक हो ।

छनोट प्रतियोगितामा सर्बिया सशक्त देखिएको थियो । एलेक्सान्द्रो मित्रोभिचले ६ गोल तथा डुसान टेडिचले ४ गोल गरेका थिए । विश्वकपको पहिलो खेलमा पनि यी खेलाडीले गोल गरेर टिमको यात्रा अगाडि बढाउने विश्वास लिइएको छ ।

हेड टु हेड
सर्विया स्वतन्त्र मुलुक भएयता यी दुई टोलीहरुको बीचमा हुन लागेको यो पहिलो प्रतिस्पर्धा हो । युगोस्लोभाकियाको नाममा भने यी दुई टोलीहरुको बीचमा १३ पटक प्रतिस्पर्धा भएको छ । जसमा स्विट्जरल्याण्डले केवल दुईपटक जितेको थियो । युगोस्लोभाकियाले छ पटक जित हासिल गरेको थियो भने बाँकी पाँच खेल भने बराबरीमा सकिएको थियो ।

प्लेयर्स टु वाच
अलेक्सेन्डर मिट्रोभिक (सर्विया)

विभिन्न चर्चित क्लबहरुबाट फुटबल खेलिसकेका सर्वियाका यी खेलाडीमाथि शुक्रबारको खेलमा धेरैको आँखा हुनेछ । साथै यी खेलाडीको लागि शुक्रबारको खेलमा आफ्नो प्रदर्शन देखाउने मौका पनि हुनेछ । उनले सन् २०१८ मा मात्रै पाँच गोल गरिसकेका छन् ।

स्टेफिन लिच्स्टेइनर (स्विट्जरल्याण्ड)
अर्सनलका यी खेलाडी स्विट्जरल्याण्डको लागि सबैभन्दा बढी विश्वकपमा सहभागिता जनाउने खेलाडी हुन् । ३४ वर्षीय यी रक्षापंक्तिका खेलाडीले आफ्नो पहिलो खेलमा ब्राजिललाई बराबरीमा रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।



नयाँ