विश्वकपका समूह ‘ए’ का सोमबारका खेलहरुमा प्रतिष्ठाको लडाइँ
प्रकाशित २०७५ असार ११ सोमबार
374
Shares
काठमाडौं । रुस विश्वकप फुटबलको समूह ए को अन्तिम चरणका खेलहरु सोमबार हुन गइरहेका छन् । राति पौने ८ बजे समुह एका दुई खेलहरु हुन गइरहेका हुन् । यो समुहबाट माथिल्लो चरणमा पुग्ने टोलीहरुको टुङ्गो लागिसकेको अवस्थामा शनिबार हुने खेल चारै टोलीहरुका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।
समूह ए बाट साउदी अरेबिया र इजिप्ट बाहिरिइसकेका छन्। दुवै टोलीले घरेलु टोली रसिया र उरुग्वेसँग हारको सामना गरेसँगै यो प्रतियोगिताबाट बाहिरिएका हुन् । साउदी अरेबियाले रुससँग ५–० को हारको सामना गरेको थियो भने उरुग्वेसँग १–० को हारको सामना गरेको थियो । इजिप्टले पनि उरुग्वेसँग १–० को हारको सामना गर्दा रुसले उसलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
इजिप्टलाई माथिल्लो चरणमा पुग्ने सम्भावना बोकेको टोलीको रुपमा हेरिए पनि यो टोली समुह चरणबाट बाहिरिने पक्का भइसकेको छ । यस्तोमा साउदीविरुद्ध राम्रो प्रदर्शन गरेर आफूलाई साबित गर्ने मौका इजिप्टसँग रहेको छ । सोही समयमा रुस र उरुग्वेको बीचमा पनि प्रतिस्पर्धा हुनेछ ।
यो खेलले समुह विजेताको टुङ्गो लगाउनेछ । जसको कारण यो खेल उनीहरुको लागि महत्वपूर्ण हुनेछ । यो खेलमा जित हासिल गरेको खण्डमा माथिल्लो चरणको खेल तुलनात्मक हिसाबमा केही सहज टोलीसँग पर्नेछ भने यो खेल बराबरीमा सकिएको खण्डमा रुस समुह विजेता बन्नेछ।
यद्यपि प्राविधिक हिसाबमा सोमबारको खेलमा उरुग्वे केही बलियो अवस्थामा देखिन्छ । यद्यपि दोस्रो चरणमा पुग्ने निश्चित भइसकेको कारण यो खेलमा दुवै टोलीले आक्रामक सोचका साथमा मैदानमा नउत्रिन पनि सक्छन् । यो समुहबाट माथिल्लो चरणमा पुग्ने टोलीले सम्भवतः स्पेन वा पोर्चुगलको सामना गर्नुपर्ने हुन्छ । त्यसैले यो खेलको नतिजाले माथिल्लो चरणमा धेरै ठुलो असर भने नपार्ने देखिन्छ । सोमबारको खेल जितेको खण्डमा भने टोलीमा केही आत्मविश्वास बढाउनका लागि भने सहयोग पुग्नसक्छ ।