- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चीन । अर्जेन्टिना, यो नाम विशेषत फुटबलको चर्चासँगै आउने गरेको छ। हुन त अर्जेन्टिनाको समानार्थक परिचय नै फुटबल हो। तर अर्जेन्टिनामात्र भन्दा अन्याय पनि होला, जर्मनी, ईटाली, ब्राजिल, ईंगल्याण्डसहित अरू केही यूरोपेली देशको नाम पनि आउला। तर अन्य यूरोपेली देशले विश्वमा फुटबलबाहेक अरू पक्षले पनि उभ्याएका छन् भने अर्जेन्टिना, ब्राजिल लगायतका दक्षिण अमेरिकी देशको पहिचान नै फुटबलबाट हुने गरेको छ।
फुटबल विश्वकप अर्थात् फिफा विश्वकपले नै यी दक्षिण अमेरिकी मुलुकहरूको कौशल, अनि झण्डाको रङ्ग र अनुहार संसारभर विस्तार भएको हो। विश्वमा यी दक्षिण अमेरिकी देशहरू फुटबलको कारणले नै चर्चित छ। विश्व फुटबल जगत्मा सबैभन्दा श्रद्धाले नाम लिने पेले र म्याराडोना यही दक्षिण अमरिकी मुलुक क्रमशः ब्रजिल र अर्जेन्टिनाका हुन्। यी दुईबाहेक अरू पनि धेरै प्रतिभाशाली खेलाडीहरू यूरोप र अमेरिकामा जन्मे र जन्मिरहेका छन् तापनि सर्वाधिक चर्चाको शिखरमा यी दुई नै रहने गरेका छन्।
फुटबलको कालो हीरा नामले परिचित पेलेले सन् १९६० देखि ७० को दशकमा आफ्नो बर्चश्व कायम राखेका थिए भने म्याराडोनाले १९८० को दशकलाई आफ्नो बनाएका थिए र हालसम्म पनि फुटबलको चर्चासँगै यी दुई लेजेण्डलाई सम्झिने गरिन्छ।
हाल उनीहरूको समिप पुग्न प्रयासरत सर्वाधिक चर्चित मध्येका एक र प्रतिभाशाली खेलाडी लियोनेल मेस्सी पनि फुटबल लेजेण्ड म्याराडोनाको देश अर्जेन्टिनाकै हुन्। यी विश्व प्रख्यात खेलाडी बाहेक समय(समयमा अर्जेन्टिनाले अरू प्रतिभाशाली खेलाडी पनि नजन्माएका भने होइनन्। तर मेस्सीलाई लेजेण्ड म्याराडोना र अर्का लेजेण्ड ब्रजिलका खेलाडी पेलेसँगै तुलना गर्ने गरिन्छ। तापनि उनले विश्वकपमा खासै आफ्नो जादु देखाउन सकेका छैन, जुन उनले उनी आबद्ध स्पेनको बार्सिलोना क्लबका लागि गर्दै आइरहेका छन्।
सन् २०१४ को विश्वकपको फाइनलमा पराजित भएपछि हतासिएर सन्याससम्म लिएका उनै मेस्सीले लाखौं फुटबल प्रशंसक र आफ्नो जन्मभूमि अर्जेन्टिनाका लागि पुनः खेलमा फर्केर अर्जेन्टिनालाई आफ्नै काँधमा बोकी विश्वकपसम्म पनि पुर्याए। तर फुटबल एक जनाले खेल्ने खेल होइन।
बार्सिलोनाबाटै खेल्ने क्रोएसियाका स्टार खेलाडी राकिटिकको भनाइ सापट लिने हो भने उनले टेनिस खेलेको भए किर्तिमानी पचासभन्दा बढी ग्राण्डस्लाम जितिसक्थे। साथै बार्सिलोनाका अरू सहखेलाडीले पनि मेस्सीले अभ्यासमा देखाउने हरकत खेलमा अझै देखाउन नसकेको भन्ने गरेको पाइन्छ। तापनि हालसम्म उनले क्लब या फुटबलका लागि जे जे गरिसकेका छन् त्यो अतूलनीय रहेको फुटबल विश्लेषकहरूले बताउँदै आएका छन्। साथै उनले जितेका पुरस्कार तथा उपाधि र उचालेका कपहरूको संख्याले पनि प्रष्ट गर्छ नै। उनले व्यक्तिगत रूपमा पाउनुपर्ने उपाधि सबैमा कब्जा जमाइसकेका छन् नै। फुटबल खेलाडीका लागि अति महत्वपूर्ण मानिने सबैभन्दा उच्चतहको उपाधि बालोन डिओर नै पाँच पटक जितिसकेका छन्। अब उनले गर्नुपर्ने भनेको एउटै मात्र छ, त्यो हो विश्वकप उचाल्ने।
विश्वकप उचाल्न सम्भव भएमा उनको नाम पेले र म्याराडोनासँगै फुटबल इतिहासको अजम्बरी नाम हुनेछ। हुन त कतिपय विश्लेषक र प्रशंसकका लागि मेस्सीले विश्वकप उचाल्नै पर्छ भन्ने नभएको पनि जिकिर राखेका छन् तर सबैको मुख थुन्ने हो भने विश्वकप उचाल्नै पर्ने छ। सारा विश्वलाई साक्षी बनाइ आफू सर्वश्रेष्ठ भएको प्रमाण दिन पनि विश्वकप उचाल्नु आवश्यक छ।
हालै २४ जुनमा ३१ औं जन्मदिन मनाउँदै उनले बाचा पनि खाएका छन् कि अब विश्वकपको भोक मात्र बाँकी छ र विश्वकप नउचालेसम्म फुटबलबाट सन्यास लिन्न् भन्ने पनि घोषणा गरेका छन्। तर बिडम्बना फुटबल एक्लैले खेल्ने खेल होइन, एक्लैले एकाध जित देला तर विश्वकप नै उचाल्न टिम नै चाहिन्छ। टिममात्र भएर पुग्दैन राम्रा, सशक्त, बलिया, निपुण खेलाडीको टिम चाहिन्छ र ती खेलाडीहरूबीच सुमधुर समन्वय पनि चाहिन्छ साथै प्रशिक्षक र कमिटी तथा सम्बन्धित संघको पनि राम्रो साथ चाहिन्छ। हाल त्यसैको अभाव खट्किएको छ, अर्जेन्टिनाको फुटबल टिममा।
जारी विश्वकपमा क्रोएसियासँगको खेलमा समन्वयको अभाव देखियो पनि र त्यसैको नतिजा लज्जास्पद पराजयमात्र भोगेन नकआउट चरणमा प्रवेशको सम्भावना पचास-पचास भएको छ। यसबाट फुटबलप्रेमीले एक होनहार प्रतिभाशाली खेलाडीको खेल हेर्नबाट वञ्चित हुने नै छ त्यसबाहेक सन् १९८६ पछि विश्वकप जित्न नसकेको अर्जेन्टिनाको अन्तर्राष्ट्रिय छवि पनि धूमिल बन्दै जाने अर्को सम्भावना छ।
अर्जेन्टिनामा न त प्रतिभाशाली फुटबल खेलाडीको अभाव छ न त उनीहरूको खेल कौशलमा नै कुनै समस्या छ। यसै सिजनमा स्पेन, ईंगल्याण्ड, ईटाली र फ्रान्सका क्लबबाट खेल्दै आएका अर्जेन्टाइन खेलाडीले आफ्नो दह्रो उपस्थिति देखाएका थिए। मेस्सीले यूरोपेली लिगहरूमै सबैभन्दा धेरै बार्सिलोनाको तर्फबाट ४४ गोल गरेका थिए, त्यसै गरी अग्युरोले म्यानचेस्टर सिटीका लागि खेल्दै ३०, ईटालीको जुभेन्टसबाट खेल्ने डाइबाला (ईटालियन सिरीमा सर्वाधिक गोलकर्ता) र हिग्वइनले क्रमशः २४, २३ र पेरिस सेन्ट जर्मनबाट खेल्ने डिमारियाले १९ गोल गरेका थिए।
यसै सिजनको यी आकँडाले पनि अर्जेन्टिना प्रतिस्पर्धी टिमका लागि कति भयानक छ भन्ने देखाउँछ तर क्लबस्तरको जादु कतिपय खेलाडीले विश्वकपमा देखाउन नसकेको उदाहरण पहिले पनि थिए, र यस पटक पनि देखिएको छ। यस बीचमा पनि अर्जेन्टिनाको एउटै खेलाडीले पनि आफ्नो प्रभाव जमाउन नसक्नु खेद लाग्दो छ। त्यस माथि विश्वकपको अन्तिम चरणमा नै पहिलो पटक नपुग्ने अवस्थालाई आफ्नो काँधमा बोकी पुर्याउने मेस्सीको जारी विश्वकपमा जादु मात्रै होइन एक किसिमले हारेको अनुहार नै लिएर मैदान उत्रनु कुनै पनि खेलाडीलाई शोभनीय देखिँदैन। त्यसले सारा दर्शक, प्रशंसकलाई मात्रै दुःखी बनाएन, झनै पीडा थपिएको छ र आक्रोशित बनाएको छ।
यी सबैको पछाडि र दुई पटकको फिफा विश्वकप विजेता अर्जेन्टिना पछाडि पर्नुको कारण भने अर्जेन्टिनामा व्याप्त गरिबी, भ्रष्टाचार र राजनीतिको बेथिति देखिएको छ।
समयसमयमा यस्ता हल्लाह ? बाहिर नआएका होइनन्। क्रोएसियासँगको खेल पछि पुनः यस्ता हल्ला चर्केको छ। एक त एक सय एक प्रतिभावान् खेलाडीमा पनि मनमुटाव हुने सम्भावना त छँदैछ त्यसमाथि अर्जेन्टाइन फुटबलभित्रको भ्रष्टाचारको जालो भयङ्कर रूपमा अल्झेको छ। जसकारण खेलाडीलाई खेलप्रति वितृष्णा जगाएको हो कि ?
अर्जेन्टाइन टोलीले विश्वकप क्वालिफाईका खेल चरणमा साधारण यात्?बाहक विमानमा यात्रा गरेका समाचार पनि त्यस समय बाहिरिएका थिए। साथै वर्तमान प्रशिक्षक साम्पाउली यस विश्वकपमा सर्वाधिक रकममा अनुबन्ध हुने प्रशिक्षक मध्येका एक हुन्। अर्जेन्टाइन फुटबल संघसँग पैसा अभाव रहेको र भ्रष्टाचारका कुराहरू बेलाबखत आउने गरेका छन्। अर्जेन्टाइन टोलीबाट बाहिरिएको पछिल्लो समाचार भनेको अब मेस्सी, मास्कारानोलगायत शीर्षस्थ खेलाडीले टोली चयन गर्ने छन्। यस्ता हल्ला या समाचारले अर्जेन्टाइन टोली समर्थक र प्रशंसकमाथि झनै अन्योल र पीडा थपिएको छ। त्यस बाहेक टोलीभित्रको असर त झनै विकराल हुने भइ नै हाल्यो जुन जारी विश्वकपमा देखिसकेका पनि छौं।
भ्रष्टाचार र राजनीतिको बेथितिबाट विश्वका अन्य देश जस्तै अर्जेन्टिना पनि गुज्रिरहेको छ। त्यसमाथि विश्व क्रिकेटमा धेरै पटक घटेको म्याच फिक्सिङ विश्वकप फुटबलमा हुँदैन कसले भन्नसक्छ र ?
दुई पटकको फिफा विश्वकप विजेता अर्जेन्टिना र सदा विश्वलाई उम्दा खेलाडी जन्माउँदै आएको अर्जेन्टिना, मेस्सी र म्याराडोनाको देश अर्जेन्टिना विश्व फुटबलबाट गुमनाम हुन पनि सक्छ। तर जीवनमा आशावादी हुनुपर्छ। फुटबलको समानार्थक परिचय अर्जेन्टिना भने झैं जीवन आशा हो। खेलप्रेमी तथा खेलाडीले आशाको हत्या गर्नु हुँदैन। मेस्सीको चमत्कार नदेखेका सबैले यसै विश्वकपमा चमत्कार देखुन्। उनले जन्मदिनमा गरेको बाचा यसै विश्वकपमा पूरा गरून्। फुटबल प्रेमी, प्रशंसक तथा अर्जेन्टाइन फुटबलका प्रशंसक र मेस्सीकै डाईहार्ड प्रशंसकका तर्फबाट जीतको शुभकामना।