प्राध्यापक ओम गुरूङले केपी ओलीलाई किन भने महाराज ?
एक घण्टा विमानभित्रै अपहरणमा परेको बन्धकजस्तै
प्रकाशित २०७५ असार १२ मंगलबार
733
Shares
काठमाडौं । प्राध्यापक ओम गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘महाराज’ भनेर सम्वोधन गरेका छन् । उनले गत आइतबार प्रधानमन्त्री ओली चीनबाट फर्किएका बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूले भोगेको पीडालाई भिडियोसहित उनले सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन् ।
उनले आफूमात्र नभई त्यो समयमा पीडा भोग्न वाध्य अरुका विषयमा पनि लेखेका छन् । प्राध्यापक गुरुङले आफूहरु विमानमा अपहरणकारीले बन्धक बनाएको जस्तै हल न चल भएर बन्नुपरेको पीडा पनि ओकलेका छन् ।
यस्तो छ उनको आइतबार (असार १० गते) पोष्ट गरेको फेसबुक सन्देश– आजै म भैरहवाबाट काठमाण्डौ फर्कनु, आजै महाराज केपी ओलीको चीनबाट नेपाल फिर्ति सवारी हुनु । महाराजको फिर्ति सवारीले त्रिभुवन अन्तराष्ट्रीय बिमान स्थलमा अवतरण गरीसकेको यति एयरलाईन्सको बिमान भित्र हामी सबै जहाजमा सवार गर्ने ७२ जना यात्रूहरू र जहाजका ४ जना कर्मचारीहरू झण्डै १ घण्टाजति जहाज अपहरणकारीहरूले बन्धक बनाएको बन्धकजस्तै हल न चल हुँदै गुम्सिएर जहाजभित्रै बस्नु पर्यो । तर आज हामी कुनै अपहरणकारीको बन्धक थिएनौंं, हामी त महाराज केपी ओलीको बन्धक । यसबाट कुनै यात्रूले आजै १ बजेको उडानबाट दक्षिण कोरियामा काम गर्न जान लागेका आफ्ना छोरा र कुनैले छोरी लाई भेट्न नपाउने संभावना भएकोले र कुनै यात्रूले आजै बिदेस जाने उडान छुटाउन सक्ने संभावना भएको हुदा ती यात्रूहरू भक्कानिन थाले । आफु भने आजै ३ बजे एउटा महत्वपूर्ण मिटिंगमा भाग लिन भैरहवाको ४० डिग्रीको गर्मिबाट छुट्टी लिएर काठमाण्डौको चिसो ठाउमाण्डौमा आएको हो । करीब १ घण्टासम्म जहाजभित्र उकुसमुकुस हुनेगरी भएको गर्मीलाई मत्थर पार्न जहाज कम्पनिले बाहिरबाट छुट्टै एसी जडान गरी यात्रूहरूलाई हल्का शितल दिने प्रयास गरे । तर एयरपोर्टका सुरक्षा कर्मचारीहरूले महाराज ओलीलाई एसीको आवाजले हल्ला हुन्छ भनेर जहाजका कर्मचारीहरूलाई बाहिरबाट जडान गरिएको एसी पनि चलाउन दिएनन् । महाराज ओलीको सवारी एयरपोर्ट भएदेखि महाराज एयरपोर्टबाट नबाहिरिएसम्म १ घण्टाजति एयरपोर्टमा कुनै जहाज उड्नेरबस्ने, गाडी गुडने जस्ता केही काम भएन । सबै चिज थप्प रह्यो । जहाजबाट बाहिर हेर्दा पूरै एयरपोर्ट बिलकुल शुनसान र जहाजभित्र हेर्दा कुनै कुनै यात्रूहरू भक्कानिएको देख्दा लाग्यो एयरपोर्टमा आज नेपालमा वा नेपालको एयरपोर्टमा कुनै एउटा ठूलै दुःखद घट्ना घटेको छ । तर त्यो बास्तबमा कुनै दुखद घट्ना नभएर सुखद घट्ना नै थियो र त्यो सुखद घट्ना हाम्रे देशको जन निर्बाचित सरकार प्रमुख केपी ओलीको चीनबाट फिर्ति सवारी । तर जहाज भित्र बन्धक बनाईएका कुनै पनि यात्रूहरूको चेहरामा आफ्नो देशको जननिर्बाचित प्रधानमन्त्री बिदेशबाट स्वदेश फर्केको उपलक्षमा खुसीको कुनै संकेट थएन । सबैको अनुहारमा महाराजको कारण आफुहरू १ घण्टासम्म बन्धक बस्नु परेकोले उनीप्रति आक्रोशको प्रतिबिम्ब देखिन्थ्यो र सबैका मुखमा महाराजलाई गाली बेइजति सुनिन्थ्यो । महाराज जनतालाई यसरी कहिले सम्म शास्ती दिनुहुन्छ र जनताको यो गाली बेईजति कहिलेसम्म सहनु हुन्छ ? यसबरे कहिले बिचार पुर्याउने होला ?