पहिरोले घरै बगायो, परिवारका तीन जनाको मृत्यु, दुई छोरी पढ्न बाहिर रहेकाले बाँचे
प्रकाशित २०७५ असार १२ मंगलबार
380
Shares
बागलुङ । भिषण वर्षापछि सोमबार राति गएको पहिरोले घर बगाउँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए ।
इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानीयवासी बिहानैदेखि उद्धारमा खटिएका थिए ।
घरसँगै गोठ पनि पहिरोले बगाएको जनाइएको छ । मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा बाहिर रहेको बुझिएको छ ।
रातभर परेको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि ठूलो भौतिक क्षति पुर्याएको छ । बरेङ गाउँपालिकाका–२ हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त बनेको जनाइएको छ ।
यस्तै, हुग्दीखोलामा आएको बाढीले कैयौँ रोपनी खेत बगरमा परिणत भएको स्थानीयवासी प्रकाश छन्त्यालले बताए । जिल्लाभर भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध
यसैगरी, भिषण वर्षापछि सोमबार राति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ ।
गलकोट नगरपालिका–७ को बाँस्खोला, आँगाखेत र वडा नं ३ हटियामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो ।
जिल्लाको पश्चिम भेगबाट छोटो तथा लामो दूरीमा चल्ने यातायात रोकिएको जनाइएको छ । गलकोट क्षेत्रका अधिकांश ग्रामीण सडक पनि पहिराले अवरुद्ध बनाएको वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले बताए ।
“ठाउँठाउँमा गएको पहिराले मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्घ छ,” अध्यक्ष भण्डारीले भने, “पहिराले अन्यत्र पनि भौतिक क्षति पुर्याएको खबर आइरहेका छन् ।”
पहिरो हटाई लोकमार्ग सुचारु गर्न प्रयास भइरहेको हटिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टेकबहादुर खाडामगरले बताए । रातभर परेको अविरल वर्षापछि जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।