arrow

फ्रान्स ‘कुल’ भएर खेल्दै, डेनमार्क ‘लाइट’ तनावमा

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
france-denmark.jpg

काठमाडौं । रुस विश्वकप फुटबलको समूहको अन्तिम चरणको खेलमा मंगलबार समूह सी र डीका खेलहरु हुँदैछन् । बेलुका पौने ८ बजे समूह सी मा अष्ट्रेलिया र पेरु तथा फ्रान्स र डेनमार्कको बीचमा प्रतिस्पर्धा हुनेछ । 

यो समूहमा दुवै खेल जितेको फ्रान्स राउन्ड अफ सिक्सटिनमा पुगिसकेको छ भने दुवै खेल हारेको पेरु प्रतियोगिताबाट बाहिरिसकेको छ । 

डेनमार्कसँग बराबरी र फ्रान्ससँग हारको सामना गरेको अष्ट्रेलियाको राउन्ड अफ सिक्सटिनमा पुग्ने सम्भावना कायम रहेको छ । डेनमार्कले यो विश्वकपमा राम्रो प्रदर्शन गरेको छ । 

यद्यपि उसको लागि मंगलबारको खेल निकै महत्वपूर्ण हुनेछ । यो समूहको सबैभन्दा बलियो मानिएको टोली फ्रान्ससँग उसको समूहको अन्तिम खेल रहेको कारण डेनमार्कको लागि मंगलबारको खेल ‘गर वा मर’ को अवस्थामा रहेको छ । फ्रान्सले समुहका सुरुवाती दुई खेल जितिसकेको कारण अन्तिम खेलमा उसको धेरै आक्रमक योजना भने नहुन सक्छ जसको केही फाइदा डेनमार्कलाई पुग्नसक्छ । 

डेनमार्कका लागि माथिल्लो चरणमा प्रवेश गर्नको लागि मंगलबारको खेलमा कम्तीमा बराबरीको नतिजा हासिल गर्नुपर्ने हुन्छ । फ्रान्सले विश्वकपका दुई खेलमा निकै राम्रो प्रदर्शन गरेको छ । 

निकै उत्कृष्ट युवा खेलाडीहरुको तालमेल पनि बेजोडको देखिएको छ । जसको कारण मंगलबारको खेलमा डेनमार्कलाई फ्रान्स रोक्नु एक चुनौती हुनेछ । फ्रान्सको बलियो रक्षा पंक्ति र अग्रपंक्तिलाई पार लगाउनु डेनमार्कको लागि निकै कठिन हुनेछ । 

हेड टु हेड 
अहिलेसम्म डेनमार्क र फ्रान्सको बीचमा भएको १३ खेलहरुमा फ्रान्सको पल्लाभारी रहेको देखिन्छ । फ्रान्सले डेनमार्कमाथि ८ खेलमा जित हासिल गरेको छ भने डेनमार्कले चार खेलमा जित हासिल गर्दा एक खेल बराबरीमा सकिएको छ । 

प्लेयर्स टु वाच 

पाउल पोग्वा (फ्रान्स)
फ्रान्सको टोलीमा मंगलबारको खेलमा पाउल पोग्वाको भूमिका महत्वपूर्ण हुनेछ । महँगो शुल्कमा म्यानचेस्टर युनाइटेड गएका यी खेलाडीले मिडफिल्डमा अवस्था अनुसार टोलीलाई अघि बढाउन सक्ने क्षमता राख्छन् ।

क्रिस्टियन एरिक्सन (डेनमार्क)
डेनमार्कका यी मिडफिल्डरको भूमिका फ्रान्सविरुद्धको खेलमा निकै महत्वपूर्ण हुनेछ । अष्ट्रेलियाविरुद्धको खेलमा महत्वपूर्ण गोल गरेका यी खेलाडीले फ्रान्सलाई रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छन् । डेनमार्कको लागि एरिक्सन आक्रमक मिडफिल्डरको रुपमा चिनिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ