arrow

'गर वा मर' को अवस्थामा अर्जेन्टिना, नाइजेरिया विरुद्ध मेस्सीको परीक्षा

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
messi-musa.png

काठमाडौं । विश्वकपको समुह डी अन्तर्गत मंगलबार अर्जेन्टिना र नाइजेरियाको बीच प्रतिस्पर्धा हुँदैछ । यो खेल धेरैको चासो परेको खेल हो । यो समुहबाट अहिलेसम्मको अवस्थामा कुनै पनि टोली बाहिरिनसकेको अवस्थामा मंगलबारको खेल महत्वपूर्ण हुनेछ ।

यो समुहको अन्तिम स्थानमा रहेको अर्जेन्टिनाको लागि नाइजेरियालाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने दबाब रहेको छ । पहिलो खेलमा आइसल्याण्डसँग बराबरी खेलेको र दोस्रो खेलमा क्रोएसियासँग पराजित भएको टोलीसँग १ अंकमात्र रहेको छ । यस्तोमा माथिल्लो चरणमा पुग्नको लागि नाइजेरियालाई फराकिलो अन्तरले पराजित गर्दै आइसल्याण्ड र क्रोएसियाको खेलको नतिजामा आफ्नो भाग्य खोज्नुपर्ने हुन्छ ।

अर्को खेलमा आइसल्याण्डले बराबरी वा हारको सामना गरेको र नाइजेरियालाई हराएको खण्डमा अर्जेन्टिना माथिल्लो चरणमा पुग्नेछ । आइसल्याण्डले जितेको खण्डमा भने उसको भन्दा २ गोलअन्तर बढीको जित हासिल गर्नु अर्जेन्टिनाका लागि जरुरी हुन्छ । नाइजेरिया र अर्जेन्टिनाको खेल पनि बराबरीमा रोकिएको खण्डमा भने नाइजेरिया माथिल्लो चरणमा पुग्नेछ । जसको कारण अर्जेन्टिनाका लागि यो खेल ‘गर वा मर’ को अवस्थामा छ । आइसल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको नाइजेरियासँग बराबरीमा पनि माथिल्लो चरणमा पुग्ने सम्भावना बलियो हुने भएकोले मंगलबार उसले रक्षात्मक खेल खेल्नसक्छ भने अर्जेन्टिना यो खेलमा कुनै पनि अवस्थामा जित हासिल गर्ने योजनामा साथमा मैदान उत्रिनेछ ।

समुहका दुई खेलमा राम्रो प्रदर्शन गर्न नसकेको भए पनि अर्जेन्टिनाका खेलाडीहरु आफैंले टोलीको छनोट गर्दै नाइजेरियासँग खेल्नका लागि मैदानमा उत्रिँदैछन् । यद्यपि आइसल्याण्डसँगको जस्तो खेल देखाउन सकेको खण्डमा भने नाइजेरिया हराउनु हर्जेन्टिनाको लागि ठुलो चुनौती बन्नसक्छ । नाइजेरियाका प्रशिक्षक गर्नोट रोहरले अर्जेन्टिनासँगको खेल दुवै टोलीका लागि बराबरीको मौका रहेको र आफ्नो टोलीले आक्रामक प्रदर्शन गर्ने र आफ्नो वास्तविक खेल देखाउने बताइसकेका छन् ।

हेड टु हेड
अहिलेसम्म विश्वकपमा यी दुई टोलीहरुको बीचमा चारपटक भेट भएको छ । यसअघि भएको चारै भेटमा अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरेको छ ।

प्लेयर्स टु वाच
अहमद मुसा (नाइजेरिया)

नाइजेरियाका लागि अहमद मुसा निकै अनुभवी खेलाडी हुन् । उनले आइसल्याण्डसँगको खेलमा दुई गोल गर्दै टोलीलाई जित दिलाएका थिए । मंगलबार हुने अर्जेन्टिनासँगको खेलमा पनि उनको भूमिका महत्वपूर्ण हुनसक्छ ।

लियोनेल मेस्सी (अर्जेन्टिना)
नाइजेरियाको खेलमा अर्जेन्टिनामा स्टार खेलाडी लियोनेल मेस्सीमाथि दबाब र अवसर दुवै हुनेछ । विश्वकपका सुरुवाती दुई खेलमा उनले कुनै गोल गर्न सकेका छैनन् भने उनको टोलीले जित पनि हासिल गर्न सकेको छैन । यस्तोमा मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई माथिल्लो चरणमा पुर्‍याउने जिम्मेवारी उनीमाथि हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ