काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विषयमा आएको अभिव्यक्तिमा आपत्ति जनाएको छ । चीन भ्रमणपछि ‘नियन्त्रित र अनुकूल समाजको उदार नीति’ को बारेमा सिकेको तथा त्यसले नेपाललाई पनि फाइदा पुग्ने आशयको अभिव्यक्ति दिएकोमा विवेकशील साझाले आपत्ति प्रकट गरेको हो । लोकतन्त्रविरोधी त्यस्ता अभिव्यक्ति तथा कदमको हामी कडा प्रतिवाद गर्ने चेतावनी पनि विवेकशील साझाले दिएको छ ।
प्रेस विप्ति जारी गर्दै विवेकशील साझाले लोकतन्त्र र नागरिकको लागि खुलापन कैयौं नेपालीको बलिदानले प्राप्त भएको उपलब्धि रहेको र वर्तमान सरकारको गठन भएपछि यसमाथि निरन्तर प्रहार भइरहेको अवस्थामा त्यही सन्दर्भमा प्रधानमन्त्रीको अभिव्यक्ति आएको बताएको छ ।
विज्ञप्तिमा विवेकशील साझाले मित्रराष्ट्र चीनको भ्रमणलाई विवेकशील साझा पार्टीले दुई देशका बीचमा विश्वास बढाउने तथा आपसी लाभ हासिल गर्ने दिशामा सकारात्मक कदम भए पनि भौगोलिक अखण्डताको सवालमा एक जल्दोबल्दो मुद्दाको रुपमा रहेको भनी विज्ञहरुले सुझाएको लिपुलेकको सन्दर्भ तथा निराकरणको बारेमा संयुक्त वक्तव्यमा समावेश नभएकोमा खेद व्यक्त गरेको छ ।
२०७२ सालमा नै तत्कालीन प्रधानमन्त्रीको हैसियतमा चीनको भ्रमणमा जाँदा पारवहन सन्धीमा हस्ताक्षर गरेका वर्तमान प्रधानमन्त्रीले तयारीको कमीले गर्दा पारवहनको विषयको प्रोटोकलमा हस्ताक्षर नगरेको भन्ने समाचारहरु आउनु राष्ट्रिय लज्जाको विषय हो र जसले पारवहनको सवालमा प्रधानमन्त्रीको प्राथमिकता कति छ ? भन्ने प्रष्ट देखिएको विज्ञप्तिमा उल्लेख छ ।