सांसदहरुको प्रश्न किन सामना गरेनन् प्रधानमन्त्री ओलीले ?
सभामुखले कुरा मिलाए : मिनेन्द्र रिजालले आपत्ति जनाए
प्रकाशित २०७५ असार १२ मंगलबार
381
Shares
काठमाडौं । चीन भ्रमणबारे जानकारी दिन एकदिन भाखा टारेर मंगलबार प्रतिनिधिसभा बैठकमा हाजिर भएका प्रधानमन्त्री ओलीले सांसदहरुबाट उठ्नसक्ने संभावित प्रश्नहरु छलेका छन् । प्रधानमन्त्रीलाई सांसदहरुको केरकारबाट जोगाउने मुख्य भूमिका सभामुख कृष्ण बहादुर महराले मिलाए ।
आफ्नो चीन भ्रमणको उपलब्धीबारे मंगलबार प्रधानमन्त्रीले संसदमा लामै पाठ सुनाए । सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्रीले आफ्नो भनाइ राखिएसकेपछि, संसद नियमावली अनुसार सांसदहरुले प्रश्न राख्न पाउँछन् । तर सभामुख महराले, “ प्रधानमन्त्री ज्यूको समय र कामको चापलाई मध्यनजर गर्दै एकजना सदस्य विषयबस्तुमा केन्द्रित रहेर १ मिनेटमा प्रश्न गर्न सक्नुहुन्च” भने र काँग्रेस सांसद दिलेन्द्र बडुलाई १ मिनेटमा आफ्नो प्रश्न राख्न समय दिए । उनले चिनसँगको व्यापार सम्झौताको विषयमा प्रश्न उठाए पछि लिपुलेकबारे प्रश्न उठाउँदै गर्दा १ मिनेट सकियो । महराले समय सकियो भन्दै प्रधानमन्त्रीलाई बोल्न दिए । प्रधानमन्त्री ओलीले करीब ८ मिनेटमा चीनसँग भएका २२ वटा सहमतिको कुरा उठाए, आउँदो जुलाइसम्म चीनसँग व्यापार लगायताको विषयमा सम्झौता हुन्छ भने । अनि हामी आफ्नो सीमानाको रक्षा गर्छौं पनि भने । अनि बाहिरिए ।
केही समयपछि बोल्ने पालो पाएका काँग्रेसका अर्का सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई प्रश्न सोध्न कतिजनालाई दिने भन्ने समेत नतोकिकन र थाहा समेत नदिएको भन्दै आपत्ति जनाए । साथै उनले प्रधानमन्त्रीलाई सन्चो नभएको उहाँकै मुखबाट सुनेको भन्दै स्वास्थ्य लाभको कामना पनि गरे ।
के साँच्चै सांसदको प्रश्न सुन्ने फुर्सद नभएको हो प्रधानमन्त्रीलाई ?
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे सोमबार नै संसदलाई जानकारी गराउने तयारी थियो । तर तयारी नपुुगेको भन्दै मंगलबारका लागि सारियो । आज पनि उनले सांसदहरुलाई चित्त बुझाउने गरी समय दिएनन् । आफ्ना कुरा मात्रै राखे । सभामुख महराले संसदलाई जानकारी गराए जस्तो प्रधानमन्त्री ज्यूको समय र कामको चाप आज खास नभएको उनका सहयोगीले जानकारी दिएका छन् ।
खासमा प्रधानमन्त्रीको आज बेफुर्सदी हुने गरी कुनै कार्यक्रम नभएको र स्वास्थ्यमा पनि खास समस्या नभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यद्यपी चीन भ्रमणले उहाँलाई धपेडी भएको हुनसक्ने उनले बताए ।