arrow

आखिर रहेछन् मेस्सी नै एक

logo
प्रकाशित २०७५ असार १३ बुधबार
messi19.jpg

काठमाडौं । ओहो ! दुई पटकको विश्वकप विजेता तथा साविकको उपविजेता अर्जेन्टिना अन्ततः रुस विश्वकप फुटबलको राउन्ड अफ सिक्सटिनमा पुगेको छ । निकै असहज र कठिन यात्रा पार गर्दै अर्जेन्टिनाले यो दूरी तय गरेको हो । 

सम्भवतः अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीको विश्वकप फुटबल यात्रा यो नै अन्तिम हो । उनी सम्भवतः यो विश्वकपपछि अर्को विश्वकपमा देखिने छैनन् । 

३१ औं जन्मोत्सव हालै मनाएका उनी अर्को विश्वकपसम्म टिममा अट्ने सम्भावना छैन । उनी त्यति धैर्यशाली छन् भन्ने कल्पना गर्न सकिन्न । 

सन् २०१६ मै उनले राष्ट्रिय टिमबाट राजीनामा दिएका थिए । कोपा अमेरिकाको फाइनलमा चिलीसंग पराजित भएपछि मेस्सीले नैतिकताका आधारमा राजीनामा दिएका थिए । 

तर उनलाई पछि टिममा बोलाइयो । त्यसपछि पनि विश्वकप छनोटमा निकै संघर्ष गर्नुपर्यो । अन्तिम खेलमा इक्वेडरसंग ‘डु अर डाइ’ को अवस्थामा मेस्सीले नै ह्याट्रिक गरेर टिमलाई जिताएका थिए । 

रुस विश्वकपमा भने मेस्सीको प्रदर्शन राम्रो रहेन । पहिलो खेलमा नवप्रवेशी आइसल्याण्डसंग १–१ को बराबरी खेल्नुअघि पेनाल्टीसहित १० प्रहारमा कुनै चमत्कार देखाउन नसक्नुले नै मेस्सीलाई तल खसालेको थियो । 

क्रोएसियासंग ३–० को लज्जास्पद हारले मेस्सीलाई थप गिरायो । तर पनि विश्वास थियो कि अन्तिम खेलमा विश्वकपको छनोट जसरी नै मेस्सी फर्किने छन् । 

नभन्दै मेस्सी फर्किए । १४ औं मिनेटमा आकर्षक गोल गरे । त्यो गोल त्यतिबेला फिका जस्तो लाग्न थाल्यो जतिबेला नाइजेरियाले पेनाल्टीमार्फत ५१ औं मिनेटमा गोल गर्यो । 

अर्जेन्टिनालाई राउन्ड अफ सिक्सटिनमा पुग्न जितको विकल्प थिएन । मेस्सी सहित बाँकी खेलाडीको आशाको किरण मरेको थिएन । उनीहरु गोलका लागि जुधेका थिए । 

परिणाम स्वरुप ८६ औं मिनेट मार्कस रोजोले गोल गर्दै अर्जेन्टिनालाई जिताए । कप्तान यसै पनि हिरो ठहरियो । 

मेस्सीले खेलाडीहरु पनि आफैले छानेका थिए । उनको सिंगो जीवन दाउमा थियो । तर त्यो दाउलाई उनले निकै मेहनतका साथ स्वीकारे । अन्ततः अर्जेन्टिनालाई पहिलो चरणबाटै घर फर्किनबाट बचाए । 

सन् १९८६ मा विश्वकप जितेपछि अर्जेन्टिना फाइनलमा पुगेर पनि उपाधि जित्नबाट वञ्चित भएको छ । त्यतिबेलाका नायक डिएगो म्याराडोनापछिको चामत्कारिक राज मेस्सीकै छ । 

मेस्सीले जन्मदिन मनाउने क्रममा भनेका थिए –उपाधिका लागि आतुर छु । कतै यही ढुकढुकीले गर्दा मेस्सीलाई उपाधिका लागि अगाडि बढ्न प्रेरित गरेको त छैन ? 

कुनै अर्काे राष्ट्रको खेलाडी मन पार्नेहरु सिंगो अर्जेन्टिनाले हारेको सपना देख्छन् । उनीहरुलाई मेस्सी दुस्मन लाग्छन् । तर समर्थकका लागि मेस्सी भगवान नै हुन् ।’

त्यसैले भन्नै कर लाग्छ कि आखिर रहेछन् मेस्सी नै एकऽऽऽ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ