सोसलिष्ट इन्टरनेशनलको समानान्तर संस्था प्रोग्रेसिभ एलाइन्सको कार्यक्रम काँग्रेसले गर्दै
प्रकाशित २०७५ असार १३ बुधबार
720
Shares
काठमाडौं। नेपाली काँग्रेस स्थापना भएपछि समाजवादीहरुको अन्तराष्ट्रिय संस्था सोसलिष्ट इन्टरनेशनसँग जोडेको नेपाली काँग्रेसको नातालाई सभापति शेर बहादुर देउवाले तोडेको गम्भिर आरोप लागेको छ। नेपाली काँग्रेसका संस्थापक विपी कोइरालाले सोसलिष्ट इन्टरनेशनलसँग जोडेको सो सम्बन्धलाई सभापति शेर बहादुर देउवाको पालामा तोडिएको आरोप काँग्रेसकै नेताहरुले लगाएका छन्।
बीपीले काँग्रेसलाई सोसलिष्ट इन्टरनेशनलसँग संलग्न गराए यता नेपाली काँग्रेस सोसलिष्ट इन्टरनेशनलमा सक्रिय रहँदै आएको छ।
हालै सभापति देउवाले सोसलिष्ट इन्टरनेशनलको समानान्तर अभ्यास गर्नेगरि खोलिएको प्रोग्रेसिभ एलाइन्समा सहभागिता जनाउने निर्णय गरेको जानकारी पाएपछि काँग्रेसका नेताहरु सभापतिसँग रुष्ट देखिएका हुन्।
नेपाली काँग्रेसको इतिहाससँगै जोडिएको सोसलिष्ट इन्टरनेशनलको सदस्य भएकै बेला अर्को एलाइन्सको सदस्य बनेर नेपालमा कार्यक्रम गर्न आमन्त्रण गरिएको बिषयले काँग्रेसका शिर्ष नेताहरुबीचमा व्यापक असन्तुष्टी जन्माएको हो।
सन् १९५१ मा गठन भएको सोसलिष्ट इन्टरनेशनलको समानान्तर हुनेगरि सन् २०१३ मा बेलायत, जर्मन लगायतका केहि देशका सोसलिष्ट पार्टीहरुले मिलेर प्रोग्रेसिभ एलाइन्स गठन गरेका थिए। सोहि एलाइन्सले काठमाडौंमा नेपाली काँग्रेसलाई संयोजन गर्न लगाएर असार १५ र १६ मा दुई दिने कार्यक्रम गर्न लागेको हो।
तर सोसलिष्ट इन्टरनेशनलको सदस्यता भएकै बेला त्यसो समानान्तर खोलिएको संस्थालाई नेपाल भित्र्याएर कसरी कार्यक्रम गर्न मिल्छ भन्दै सभापति देउवासँग निकट रहेका संस्थापन इतरका नेताहरुले मंगलवार भेला भइ सो कार्यक्रममा सहभागि नहुने निर्णय गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमानसिंह र कृष्ण सिटौला, सहमहामन्त्री अर्जुनरसिंह केसीले भेट गरि पार्टी केन्द्रीय समितिलाई कुनै जानकारी समेत नदिइ पार्टीको अन्तराष्ट्रिय आवद्धता विरुद्ध सभापति देउवा लागेकोमा आपत्ति जनाए।
पार्टीमा कुनै छलफल नगरि नयाँ संस्थामा संलग्न हुनु र नेपालमा काँग्रेस पार्टीको तर्फबाट कार्यक्रम संयोजन गर्ने कुराले पार्टीभित्र सभापति देउवाले स्वेच्छाचारी चरित्र देखाएकोमा नेताहरुले आपत्ति जनाएका छन्। उनीहरुले पार्टी सभापतिलाई आफूहरु सो कार्यक्रममा नजाने जनाउ समेत दिएका छन्। विपीले आवद्धता दिलाएको संस्था विरुद्ध खडा भएको अर्को संस्थामा पार्टीलाई जानकारी नदिइ संलग्न हुने कार्यका विरुद्ध आफूहरु रहेको नेता केसीले बताए। पार्टीको इतिहास र गौरवलाई पनि बिर्साउने काममा साक्षी बन्न सकिन्न केसीले बताए।
नेपाली काँग्रेसले करिब छ दशकदेखि समाजवादप्रति आस्था राख्ने विश्वभरिका राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय संस्था सोशलिस्ट इन्टरनेशनलमा आवद्द छ। तर सोहि संस्थाको विकल्पमा ५ वर्षअघि स्थापित ‘प्रोग्रेसिभ एलाइन्स’ मा सरिक हुन थालेको र यही जुन २९–३० का दिन काठमाडौँमा एक कार्यक्रमको समेत आयोजना गर्नलागेको समाचारले आफूहरुलाई आश्चर्यमा पारेको नेता प्रकाशमान सिंहले बताए ।
२०१७ सालदेखि नेपाली काँग्रेस आवद्ध भएको सोशलिस्ट इन्टरनेशनलको समानान्तर विकल्पको रुपमा स्थापित प्रोग्रेसिभ एलाइन्समा संलग्न हुने बारेमा पार्टीमा कहिल्यै विचार विमर्श तथा जानकारी समेत नदिइ नेपालमै पार्टीले नै संयोजन गरेर कार्यक्रम हुनु दुखद भएको नेता कृष्ण सिटौलाले बताए।
संस्थापन इतरका नेताहरुले अनायास सोशलिस्ट इन्टरनेशनलको समानान्तर संस्थासँग गाँसिनुको औचित्य के हो भन्ने प्रश्न उठाउँदै काँग्रेसको केन्द्रीय कार्यसमितिमा बिनाकुनै निर्णय हठात यस्तो गम्भीर निर्णय लिनु औचित्यहिन मात्र नभइ घोर अलोकतान्त्रिक र स्वेच्छाचारी प्रवृत्ति भएको बताएका छन्।
उनीहरुले स्वेच्छाचारी तरिकाले लिइएको निर्णयप्रति आपत्ती प्रकट गर्दै प्रोग्रेसिभ एलाइन्सका नामबाट हुनलागेको सभामा सहभागी नहुने घोषणा समेत गरेका छन्। सोशलिस्ट इन्टरनेशनलमा नेपाली काँग्रेसको सदस्यता र सक्रियता यथावत राख्न पनि उनीहरुले आग्रह गरेका छन्।
काँग्रेसका ४ नेताहरुले अन्य नेताहरुलाई पनि यस बारेमा पार्टीका अन्य नेताहरुलाई जानकारी गराउने बताएका छन्। महामन्त्री डा शशांक कोइराला निकट स्रोतका अनुसार उनी पनि कार्यक्रममा सहभागिता जनाउने छैनन। संस्थापन इतर पक्षका नेताहरु सहभागि नहुने भएपछि सभापति देउवालाई पनि कार्यक्रममा सहभागि नहुन संस्थापन पक्षकै नेताहरुले दवाव दिएका छन्।
नेपाली काँग्रेस सन् १९६० देखि नै सोशलिस्ट इन्टरनेशनलसँग आबद्ध रहँदैआएको छ । उक्त संस्थामा रहेर काँग्रेसले उल्लेखनीय योगदान पनि पुर्याएकै छ । बिसं २०१४ मा नेपाली काँग्रेसको आयोजनामा एशियाली समाजवादी सम्मेलन काठमाडौँमा सम्पन्न भएको थियो । २०१२ सालमा काँग्रेसले लामो प्रस्थापनाका साथ महाधिवेशनद्वारा समाजवादलाई अंगिकार गरेको थियो। बिस २०१० देखि नै बीपी कोइरालाको नेतृत्वमा बर्माको याङ्गुन, मुम्बै, टोकियो आदि एशियाली शहरमा र सोशलिस्ट इन्टरनेशनलका हरेक विश्व सम्मेलनमा प्रतिबद्धताका साथ सहभागिता राख्दै आएको छ।
२०१७ सालपछिका कठीन लोकतान्त्रिक आन्दोलनका दिनमा लोकतन्त्रका पक्षमा विश्व जनमत तयार गर्न नेपाली कांग्रेसलाई सोशलिस्ट इन्टरनेशनलले योगदान दिएको थियो।